आवेदन दिने समय सकियो, ३ वटा स्टकमार्फत व्यापारिक घरानाको प्रतिस्पर्धा – Nepal Press

आवेदन दिने समय सकियो, ३ वटा स्टकमार्फत व्यापारिक घरानाको प्रतिस्पर्धा

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा आवेदन दिने समय सकिएको छ । अन्तिम समयमा अन्नपूर्ण स्टक एक्सचेन्जले आवेदन दर्ता गराएको नेपाल धितोपत्र बोर्डले जनाएको छ ।

यसअघि शुक्रबार हिमालयन स्टक एक्सचेन्जले आवेदन दिएको थियो । यस्तै आजैमात्र नेशनल स्टक एक्सचेन्जले आवेदन दिएको थियो । अन्तिम समयमा अन्नपूर्णको पनि आवेदन परेको बोर्डले जनाएको छ ।

शुक्रबार दीपक भट्टको नेतृत्वमा हिमालयन स्टकको आवेदन दर्ता भएको थियो । आज दीपक तिमल्सिनाको नेतृत्वमा नेशनल स्टक एक्सचेञ्ज र सुरेन्द्रराज वाग्लेको नेतृत्वमा अन्नपूर्ण दर्ता भएको छ ।

यो कम्पनीमा गणेशकुमार श्रेष्ठ, मुक्तिबोध न्यौपाने, अनिल सापकोटा, प्रकाशकुमार श्रेष्ठ, शेखर सुवेदी, बलराम उप्रेती र सुरेन्द्रराज वाग्लेसहित सात जना सञ्चालक रहेका छन् ।

हिमालयन स्टक एक्सचेन्जमा शंकरलाल अग्रवालसँगै नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष तथा गोल्छा अर्गनाइजेसनका शेखर गोल्छाको लगानी छ । महासंघका पूर्वअध्यक्षहरु पशुपति मुरारका, भवानी राणाको पनि लगानी रहेको स्रोतको दाबी छ ।

यस्तै खेतान ग्रुपका राजेन्द्र खेतान, लक्की ग्रुपका सतिशलाल मोर, दुगड ग्रुपका विवेक दुगड, ज्योति समूहका शौरभ ज्योतिलगायतका ठूला व्यापारी र व्यवसायिक घरानाको लगानी रहेको छ । यसमा रोहित गुप्ता, आशिष श्रेष्ठ, जुनी गुरुङ र दीपक भट्टको पनि लगानी रहेको बताइएको छ ।

यता नेसनल स्टक एक्सचेन्जमा सिद्धार्थ ग्रुप, अग्नि ग्रुप, रिलायन्स ग्रुपको मुख्य लगानी रहेको छ । यसमा दीपक तिमिल्सिना, गैरआवासीय नेपालीको पनि यसमा लगानी रहेको छ । गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्वअध्यक्ष जीवा लामिछाने, संघका वर्तमान अध्यक्ष बद्री केसी, कुल आचार्य र महासचिव गौरी जोशीको पनि लगानी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर