कांग्रेसको धाँधली रोक्न भन्दै स्वर्णिमले भेटे सर्बेन्द्र,एमालेले दिदैँछ रास्वपालाई ‘बुथ एजेन्ट’ ? – Nepal Press

कांग्रेसको धाँधली रोक्न भन्दै स्वर्णिमले भेटे सर्बेन्द्र,एमालेले दिदैँछ रास्वपालाई ‘बुथ एजेन्ट’ ?

पोखरा । तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनमा सत्ता गठबन्धनले बुथ कब्जा र धाँधलीको तयारी गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले नेकपा एमालेसँग छलफल गरेको छ ।

कांग्रेसबाट कब्जा हुन सक्ने सम्भावित बुथमा संयुक्त प्रतिकार गर्नेबारे छलफल भएको रास्वपाका जिल्ला सहसंयोजक सुर्यमणी पौडेलले नेपाल प्रेसलाई बताए । उनले कतिपय बुथमा रास्वपाका कार्यकर्ता नभएको तर भोट हाल्न तयार भएका कांग्रेस कार्यकर्ता खुलेर बुथ प्रतिनिधि बन्न नसकेपछि एमालेसँग सहयोग मागिएको उनले बताए ।

पौडेलले भने–म जिल्ला सहसंयोजक पनि भएको र विगतमा एमालेनिकट भएका कारण एमालेका साथीहरुसँग छलफल गरेको हो । विशेषगरी एक दुईवटा बुथमा हाम्रा साथीहरुलाई धम्क्याएर गठबन्धनले घेराबन्दी पारेपछि एमालेसँग एजेन्ट सहकार्य गरौं भनेको हो ।

स्रोतका अनुसार शनिवार रास्वपा उम्मेदवार स्वर्णिम वाग्लेले दमौलीस्थित एमाले कार्यलयमा एमालेका उम्मेदवार सर्बेन्द्र खनालसहित नेताहरुसँग बुथ सुरक्षामा सहकार्य र आफ्ना कार्यकर्ता नभएका ठाउँमा एमालेबाट बुथ एजेन्ट दिन सल्लाह गरेका छन् । केही बुथमा एमालेकै कार्यकर्ता रास्वपाको प्रतिनिधि बन्नेछन् ।

पौडेलले भने–दमौलीकै एउटा बुथको लागि त्यो कुरा भएको हो । कांग्रेसका जिल्लास्तरीय नेताहरु नै हामीसँग छन् तर खुलेर एजेन्ट बस्न सक्ने अवस्था छैन । त्यसैले मत र बुथ जोगाउँन एमालेसँग छलफल भएको हो । एमालेका सबै वडा र टोलमा कार्यकर्ता छन्,हाम्रा मतदाता मात्र छन् ।

एमाले नेताहरुले भने रास्वपाका एजेन्टहरु कांग्रेसको घेराबन्दीमा परेपछि एमालेले केही ठाउँमा एजेन्ट पैंचो दिने सहमति भएको बताएका छन् । उनीहरुले एमाले चुनाव जित्ने अवस्थामा रहेको भन्दै बुथ सुरक्षाका लागि रास्वपाको आग्रहलाई अन्यथा नलिइएको बताए ।

यता रास्वपाका नेता पौडेलले कांग्रेसले शनिवार साँझसम्म पनि ठाउँ ठाउँमा प्रहरीकै संरक्षणमा सारी र पैसा बाँडेको आरोप लगाएका छन् ।


प्रतिक्रिया

One thought on “कांग्रेसको धाँधली रोक्न भन्दै स्वर्णिमले भेटे सर्बेन्द्र,एमालेले दिदैँछ रास्वपालाई ‘बुथ एजेन्ट’ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर