शान्ति प्रक्रियालाई टुंगोमा पुग्न नदिने प्रयत्न भइरहेको उपप्रधानमन्त्री श्रेष्ठको जिकिर (भिडिओ) – Nepal Press

शान्ति प्रक्रियालाई टुंगोमा पुग्न नदिने प्रयत्न भइरहेको उपप्रधानमन्त्री श्रेष्ठको जिकिर (भिडिओ)

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले शान्ति प्रक्रियाको बाँकी कामलाई जसरी पनि पूरा गर्नुपर्ने बताएका छन् ।

नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्षसमेत रहेका उनले संक्रमणकालीन न्यायको कामलाई पूरा गर्दै शान्ति प्रक्रियाको बाँकी कामलाई अहिले कुनै पनि हालतमा पूरा गर्नुपर्ने बताएका हुन् । शनिबार काठमाडौंमा आयोजित प्रेस सेन्टर नेपाल, उपत्यका प्रदेश समितिको वार्षिक साधारणसभामा बोल्दै उपप्रधानमन्त्री श्रेष्ठले शान्ति प्रक्रियालाई टुंगोमा पुग्न नदिन विभिन्न प्रयत्नहरू भइरहेको जिकिर गरे ।

श्रेष्ठले भने, ‘संक्रमणकालसँग सम्बन्धित शान्ति प्रक्रियाका बाँकी काम छन् । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको कामलाई पूरा गरेरमात्रै हामीले संक्रमणकालीन न्यायको कामलाई पूरा गर्न सक्छौं, शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सक्छौं । यो हामीले हरहालतमा पूरा गर्नुछ । संविधान जारी गरेकोमात्रै कुरा गर्ने हो भने पनि ७ वर्ष वितिसक्यो । तर, हामीले यो काम पूरा गरेका छैनौं । र, यो कामलाई पूरा हुन नदिन एउटा वा अर्को रुपमा विभिन्न प्रयत्नहरु भइराखेका छन । त्यो प्रयत्नलाई असफल पार्नुपर्छ ।’

उपप्रधानमन्त्री श्रेष्ठले मुलुकको अर्थतन्त्रमा केही समस्या देखिएको उल्लेख गर्दै ती समस्यालाई छिट्टै सम्बोधन गर्ने आश्वस्त पारे ।

प्रधानमन्त्रीले मन्त्रीहरूलाई गल्ती गर्ने छुट नभएको निर्देशन दिएको स्मरण गर्दै उनले सोही अनुसार काम गर्न आफूहरु प्रतिबद्ध रहेको बताए । सुशासन र जनमुखी कार्ययोजना बनाउँदै जनताको पक्षमा काम गर्नुपर्ने भएकाले त्यसमा सञ्चार क्षेत्रले सहयोग गर्नुपर्नेमा श्रेष्ठको जोड थियो ।

‘अहिले हामीले प्रारम्भिक काम गर्न थालेका छौं । यस पटक हाम्रो श्रद्धेय अध्यक्ष प्रचण्ड, जो अहिले सम्माननीय प्रधानमन्त्री हुनुहुन्छ । उहाँले पार्टी स्थायी समितिको बैठकमा, क्याविनेटमा र हाम्रो छुट्टै हाम्रो मन्त्रीहरुलाई विशेष निर्देशन दिनु भएको छ । यस पटक गल्ती गर्ने छुट हुन सक्दैन । यस पटक सुशासनमा कमजोरी गर्ने छुट हुन सक्दैन । यस पटक हामीले जनमुखी कार्ययोजना बनाउने कुरामा हेलचेक्रयाइँ गर्ने छुट हुन सक्दैन । त्यसकारण सबै मिलेर नयाँ ढंगले काम गरौं भन्ने छ ।’

त्यसमा केही सीमा भने भएको भन्दै उपप्रधानमन्त्री श्रेष्ठले थपे, ‘केही सीमाहरु छन् । जो तपाईहरुलाई थाहा छँदैछ । हाम्रो नेतृत्वको सरकार हो । तर, हाम्रो पार्टीको मात्रै सरकार होइन । यो प्रकारको समीकरण पनि तपाईँहरुलाई थाहा नै छ । त्यसकारण त्यसको सीमा बुझ्दै, अहिले राज्यको साधन, स्रोतको सीमा पनि बुझ्दै अहिले भूराजनीतिक परिस्थिति निर्माण गरेको सीमा पनि बुझ्दै हामीलाई सही दिशातर्फ काम गर्न तपाईहरुले सही कामको प्रचारप्रसार गर्न र सही कुरा के हुन सक्छ भनेर सुझाव दिन, जनतालाई जागृत गर्न र गल्ती भए सच्याउनका लागि दबाब दिन पनि भूमिका खेल्नु पर्दछ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर