मेयर बालेनद्वारा छात्रवृत्ति उपलब्ध गराउन निजी विद्यालयको ध्यानाकर्षण, अटेर गरे कारबाही गर्ने – Nepal Press

मेयर बालेनद्वारा छात्रवृत्ति उपलब्ध गराउन निजी विद्यालयको ध्यानाकर्षण, अटेर गरे कारबाही गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाका निजी विद्यालयलाई छात्रवृत्ति उपलब्ध गराउन मेयर बालेन साहले ध्यानाकर्षण गराएका छन् ।

नयाँ शैक्षिक सत्रका लागि भर्ना अभियान चलिरहेको बेला मेयर साहले कुल विद्यार्थी संख्याको १० प्रतिशत नघटाइ छात्रवृत्ति उपलब्ध गराउन भनेका हुन् ।

‘काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ५८ र ५९ मा छात्रवृत्तिसम्बन्धी व्यवस्था छ । यो नियमअनुसार निजी तथा संस्थागत विद्यालयहरुले प्रत्येक कक्षामा प्रथम र द्वितीय हुने विद्यार्थीहरूलाई क्रमशः शतप्रतिशत र पचास प्रतिशत शुल्क मिनाहा गर्नुपर्छ ’, बालेन भन्छन्, ‘विद्यालयहरूले कुल विद्यार्थी संख्याको कम्तीमा १० प्रतिशतमा नघटाई जेहेन्दार, विपन्न, असहाय तथा गरिव, अपाङ्गता भएका, महिला, दलित, जनजाति, द्वन्द्वपीडित र सहिद परिवारका विद्यार्थीलाई समावेशी आधारमा छात्रवृत्ति उपलब्ध गराउनुपर्छ ।’

यसरी उपलब्ध गराइएको छात्रवृत्तिसम्बन्धी विवरण विद्यालयको वेबसाइट तथा सूचना पाटीमा टाँस गरेर अभिभावक र विद्यार्थीहरूलाई सूचित गराउन पनि उनले आग्रह गरेका छन् ।

नियमको पालना गर्ने विद्यालयको दायित्व भएको भन्दै उनले अभिभावक र सरोकारवालालाई निगरानी गर्न भनेका छन् । प्रमुख साहले छात्रवृत्तिको यो व्यवस्था अटेर गरे कानूनबमोजिम कारबाही गर्न बाध्य हुने चेतावनी दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर