क्रान्तिकारी र वामपन्थी प्रगतिशील शक्तिबीच एकताका लागि प्रधानमन्त्रीको अपील – Nepal Press

क्रान्तिकारी र वामपन्थी प्रगतिशील शक्तिबीच एकताका लागि प्रधानमन्त्रीको अपील

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको शुभकामना दिएका छन् ।

उनले मुलुक विकास, समृद्धि, स्थिरता र सुशासनको अभ्यासको चरणमा प्रवेश गरेको भन्दै जनतालाई सामाजिक न्यायसहितको समृद्धिको नयाँ युगमा पुर्‍याउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

कम्युनिस्ट क्रान्तिकारी र वामपन्थी प्रगतिशील शक्तिबीच एकता र ध्रुवीकरणसहित समाजवादको आधार निर्माण अभियानमा सहभागी हुन उनले अपील पनि गरेका छन् ।

शान्ति, समृद्धि र स्थायित्वको जिम्मेवारी पूरा गर्ने दायित्व आफूहरूको काँधमा भएको भन्दै प्रधानमन्त्री प्रचण्डले वामपन्थी, देशभक्त र लोकतान्त्रिक शक्तिहरूको साझा संघर्षको परिणामस्वरूप चुनावबाट गठबन्धनको पक्षमा जनमत प्राप्त भएको जिकिर गरेका छन् ।

‘प्रतिगमनविरोधी वामपन्थी तथा लोकतान्त्रिक शक्तिको वर्तमान गठबन्धन प्राप्त उपलब्धिहरू, लोकतान्त्रिक प्रणाली र संविधानको रक्षा गर्न दृढ छ’, प्रधानमन्त्रीले शुभकामना सन्देशमा भनेका छन्, ‘लेनिन जयन्ती तथा पार्टी स्थापना दिवसको यस ऐतिहासिक अवसरमा म देशका सम्पूर्ण कम्युनिस्ट क्रान्तिकारी र वामपन्थी प्रगतिशील शक्तिबीच एकता र ध्रुवीकरणको अभियानमा लामवद्ध हुन तथा समाजवादको आधार निर्माणको ऐतिहासिक अभियानमा सहभागी हुन अपील गर्दछु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर