खगराज अधिकारीको दाबी- मुख्यमन्त्री पुनः म नै हुन्छु, भोलि जाँच हुन्छ – Nepal Press

खगराज अधिकारीको दाबी- मुख्यमन्त्री पुनः म नै हुन्छु, भोलि जाँच हुन्छ

‘शिलालेखमा होइन, इतिहासमै नाम लेखाउने मेरो इच्छा हो'

पोखरा । अल्पमतमा परेका गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले शनिबार विश्वास मत लिन प्रदेश सभा बोलाएका छन् । शनिबार दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने कार्यसूची छ ।

अधिकारी मुख्यमन्त्री नियुक्त हुने बेलाको सत्ता साझेदार माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै अधिकारीले विश्वासको मत नपाउने निश्चित देखिन्छ । विश्वासको मत लिनुभन्दा १ दिनअघि पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री खगराज अधिकारीले गण्डकीको मुख्यमन्त्री आफूनै हुने दाबी गरे । ‘प्रदेशको मुख्यमन्त्री त म हुन्छु, भोली जाँच हुन्छ,’ मुख्यमन्त्री अधिकारीले भने ।

आफू डराएर नभाग्ने र संविधानअनुसारनै सामना गर्ने मुख्यमन्त्री अधिकारीले बताए । उनले भने, ‘संविधानका संरक्षणकै लागि २९ औं दिनको दिन मैले विश्वासको मत प्रस्ताव गरेको हुँ । म भाग्दिनँ, संविधानअनुसारनै सामना गर्छु भनेकै छु ।’
मुख्यमन्त्री अधिकारीले ५ दिनको अन्तरालमा २ दिन लगाएर कास्कीकै १० वटा मोटरेबल पुल उद्घाटन गरेका थिए । अधिकारीलाई कैँची र रिबन मोह निकै जागेको भन्दै निकै आलोचना भएको थियो ।

मुख्यमन्त्री अधिकारीले भने उद्घाटन गरेर शिलाखेलमा नाम लेखाउने मोह नभएको प्रतिक्रिया दिए । ‘३ वर्ष पहिलेदेखि सम्पन्न हुन बाँकी थिए, कोही सम्पन्न भएका थिए, तिनमा शिलालेख लेखिन्छ भन्ने थाहा भएर होइन, लेखियो धन्यवाद् प्रदेश सरकारको औचित्य पुष्टि गर्ने ती ज्वलन्त उदाहरण हुन् । ती प्रमाणप्रति मेरो सकारात्मक भाव हो,’ उनले भने, ‘शिलालेखमा होइन, इतिहासमै नाम लेखाउने मेरो इच्छा हो । शिलाखेलमा त एकछिनमा मेटिन्छ त्यसमा मेरो मोह छैन ।’

चालु आर्थिक वर्षको लागि प्रदेशसभाले पारित गरेको बजेटमा आफ्ना योजना थप्न अधिकारी नेतृत्वको सरकारले ऐन नै संशोधनको प्रस्ताव ल्यायो । योजना थपघट, रकमान्तरको लागि विनियोजन ऐन बाधक थियो । प्रतिपक्षमा रहेका दललाई समेत केही योजना दिने शर्तमा विनियोजन ऐन संशोधन गरियो र योजना थपघट गरियो ।

अधिकारी नेतृत्वको सरकारले कार्यालय, बजेटनै नभएको दुग्ध विकास बोर्ड बनाएर कार्यकर्ता भर्ना गरे । उनले बोर्डको उपाध्यक्षमा नवलपुर २ बाट प्रतिनिधिसभामा पराजित एमाले नेता तिलक महतलाई सहायक मन्त्री सरहको सुविधा दिने गरी नियुक्त ग¥यो । गत फागुन ११ गतेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । बोर्डलाई काम गर्ने गरी कार्यविधि बनाउने तयारीमा रहेको मुख्यमन्त्री अधिकारीले बताए । ‘काम गर्ने गरीनै कार्यविधि बनाउने काम सरकारको हो, हामी त्यसको तयारीमा छौं,’ उनले भने ।

प्रदेश सरकारप्रति जनतामा देखिएको चरम निराशालाई कम गर्ने भन्दै खगराज अधिकारी नेतृत्वको सरकारले सुरुमै प्रदेशमा मन्त्रालयको संख्या १२ बाट ७ मा झारेको थियो । यसअघि कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले मन्त्रालयको संख्या ७ बाट बढाएर १२ वटा पुर्याएको थिए । अधिकारीले मन्त्रालय संख्या घटाएका थिए । यहिनै खगराज अधिकारी नेतृत्वको सफलता हो ।

मुख्यमन्त्री अधिकारीले विश्वास मत लिनुअघि गरेको पत्रकार सम्मेलनमा सरकारले गरेका उपलब्धीमा २ सय ४१ योजनाहरुको ठेक्का सम्झौतादेखि ५१.८ किलोमिटर सडक पिच गरेको समेटेका छन् ।

मुख्यमन्त्री अधिकारीले क्रिकेट खेलाडीलाई सम्मान, एक स्थानीय तह एक खेलमैदान कार्यक्रम अन्तर्गत १५ वटा खेल मैदान बनाउन सम्झौता गरेको, लिफ्टिङ प्रविधिको खानेपानीमा लाग्ने बिजुलीको महसुल अनुदान दिने, स्थानीय तहमा ७७ जना प्राविधिक खटाएको, प्रदेश समन्वय परिषद् बैठक बसेको, भारतको अयोध्यामा म्याग्दीबाट २ वटा शिला पठाएको उपलब्धीमा समेटेका छन् ।

उपलब्धिमा प्रदेश निजामती सेवा ऐन, स्थानीय सेवा गठन तथा संचालन ऐन, नियमावली जारी गर्नु र ३४ वटा ऐन संशोधन गरेको विषय पनि समावेश गरेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर