सलमान खानको फिल्मले पाएन राम्रो प्रतिक्रिया, भारतीय समीक्षकले लेखे- बकवास – Nepal Press

सलमान खानको फिल्मले पाएन राम्रो प्रतिक्रिया, भारतीय समीक्षकले लेखे- बकवास

नेपालमा सलमानको फिल्ममाथि ‘जारी’ पर्‍याे भारी

काठमाडौं । बलिउडका ठूला सुपरस्टारहरुको फिल्म आउँदा त्यसको तरंग नेपालमा पनि तत्काल आइपुग्छ । अझ, खान हिरोहरुको फिल्म भनेपछि त दर्शकहरु पोस्टरसमेत नहेरी हलमा टिकट बुक गर्न थाल्छन् ।

तर, सलमान खानको आज रिलिज भएको फिल्म ‘किसीका भाइ किसीका जान’ ले भने त्यो खालको माहोल सिर्जना गर्न सकेन । नेपालका दर्शक स्वदेशी फिल्ममै रमाइरहेका छन् । भारतका सलमानभन्दा नेपालकै दयाहाङले घरेलु दर्शक बटुलिरहेका छन् ।
सलमानको फिल्मसँग डराएर नेपालका मेकर्सहरुले आज कुनै पनि नेपाली फिल्म रिलिज गरेका थिएनन् ।

वैशाख १ गते तीनवटा फिल्म जुधाएकोमा आज भारतीय फिल्मको लागि मैदान खाली गरिएको थियो । तर, यसको फाइदा भने ‘जारी’ लाई भएको छ ।

त्यसो त भारतमै पनि सलमानको फिल्मले राम्रो प्रतिक्रिया पाउन सकेको छैन । सलमान खानको क्रेज र स्टारडमका कारणले ‘किसी का भाइ किसी का जान’ ले रिलिज भएलगत्तै बक्स अफिसमा सुनामी ल्याउने धेरैको अनुमान थियो । तर, चलचित्रले पहिलो दिन निर्माण टीमलाई उत्साहित गर्न सकेन ।

भारतीय सञ्चारमाध्यमका अनुसार कोभिडपछि प्रदर्शित फिल्महरुको पहिलो दिनको व्यापार तुलना गर्दा यो फिल्म चौंथो नम्बरमा परेको छ । शाहरुख खानको पठानमात्र होइन, रणवीर कपुरको ब्रम्हास्त्र र अक्षयकुमारको सूर्यवंशीभन्दा पनि पछाडि पर्‍यो सलमानको फिल्म । अब इदमा फिल्मले कस्तो गर्ला भन्ने चासो छ ।

यस फिल्मलाई भारतीय सञ्चारमाध्यमहरुले राम्रो समीक्षा दिएका छैनन् । धेरैले यसलाई गतिलो साउथ इन्डियन फिल्मको अगतिलो हिन्दी संस्करणको संज्ञा दिएका छन् । एउटा प्रतिनिधि समीक्षाका रुपमा यहाँ एडीटीभीमा प्रकाशित समीक्षालाई नेपालीमा अनुवाद गरिएको छः

बलिउडले साउथ फिल्मको रिमेक गरेर चलचित्र बनाउनु कुनै नौलो कुरा होइन । यो काफी पुरानो ट्रेन्ड हो । पहिला पहिला साउथ फिल्म रिमेक गरी बलिउड चलचित्र बनाउँदा दर्शकलाई कुन साउथ चलचित्रको रिमेक हो भनेर ठम्याउन गाह्रो पर्थ्यो । त्यो समयमा साउथ चलचित्रको हिन्दी भर्जन उपलब्ध नभएर पनि होला, दर्शकले साउथको कपी हो या होइन भनेर छुट्याउन सक्दैनथे ।

कोरोनापछि भने दर्शक धेरै सचेत भए । दर्शकले लकडाउनको समयमा घरमा बसेर ओटीटी र युट्युबमार्फत साउथ र साउथको हिन्दी भर्जन हेर्ने मौका पाए । जसले गर्दा आजको दिनमा दर्शकहरु ट्रेलर हेरेरै कुन साउथ मुभीको रिमेक हो भनेर पत्ता लगाउन सक्छन् ।

ईदको अवसर पारी रिलिज भएको सलमान खान निर्मित चलचित्र ‘किसीका भाइ किसीका जान’ सन् २०१४ मा रिलिज भएको तमिल सुपरस्टार अजित कुमार स्टारर चलचित्र ‘वीरम’ को रिमेक हो । ‘किसीका भाइ किसीका जान’ मा सलमानलाई फाइनल गर्नुअघि निर्देशक फरहाद सामजी यस चलचित्रलाई ‘बच्चन पाण्डे’ को नाम दिएर अभिनेता अक्षय कुमारलाई अभिनय गराउन चाहन्थे । तर, पछि उनले अर्को तमिल फिल्म ‘जिगरठंडा’ को रिमेक गरेर ‘बच्चन पाण्डे’ बनाए जुन बक्स अफिसमा फ्लप भयो ।

उक्त चलचित्र फ्लप भएपछि फरहादले ‘वीरम’ को स्क्रिप्ट सलमानलाई देखाए । सलमानलाई स्क्रिप्ट मन परेपछि उनले ‘वीरम’ लाई ‘कभी ईद कभी दिवाली’ को नाम दिई चलचित्र निर्माण हुने घोषणा गरे । केही समयपछि उक्त नाम परिवर्तन भएर ‘किसीका भाइ किसीका जान’ मा परिणत गरियो ।

‘किसीका भाइ किसीका जान’ को कहानी कस्तो छ ?

‘किसीका भाइ किसीका जान’ को कहानी हुबहु ‘वीरम’ को जस्तो छ । भाइजान (सलमान खान) आफ्नो तीन भाइको जिम्मेवारीका कारण विवाह नगरी बसेका हुन्छन् । ती तीनै भाइ उनको आफ्नो साख्खे भाइ भने होइनन् । अनाथ बच्चालाई ल्याएर उनले आफ्नो भाइ बनाइ हुर्काएका हुन् । उनी आफ्नो र आफ्ना तीनै भाइको विवाहको खिलाफ हुन्छन् । कोही दोस्रो व्यक्तिको आगमनले आफूहरुको सम्बन्धमा दरार आउने उनको सोच हुन्छ । तर, उनको भाइ भने उनी विवाह गरेर सेटल भएको हेर्न चाहन्छन् ।

सलमानको विवाह गराउन उनीहरु हात धोएर पछि पर्छन् । यसरी नै जीवन चलिरहेको बेलामा भाइजानको जिन्दगीमा हैदरावादबाट आएकी भाग्यलक्ष्मी (पूजा हेंगडे) को इन्ट्री हुन्छ । भाग्यलक्ष्मी भाइजानलाई मायामा पार्न खोज्छिन् । तर, भाइजान भने उनीबाट टाढा भागिरहन्छन् । समयसँगै बिस्तारै भाइजान पनि भाग्यलक्ष्मीलाई मन पराउन थाल्छिन् । यही वरिपरि घुमेको छ चलचित्र ‘किसीका भाइ किसीका जान’ को कथा ।

कस्तो छ फिल्म ?

निर्देशक फरहादले १० वर्ष पुरानो कथालाई बहुतै कमजोर तरिकाले पर्दामा उतारेका छन् । अढाई घण्टाको चलचित्रमा उनले यति धेरै मसला हालेका छन् कि त्यसलाई सम्हाल्न फरहाद आफैंलाई मुस्किल भएको देखिन्छ ।

‘वीरम’ को कथामा एउटा भाव थियो । ड्रामा कम र यथार्थपरक ज्यादा देखिन्थ्यो । तर, ‘किसीका भाइ किसीका जान’ मा सलमानले यति धेरै कलाकार राखेका छन् कि पात्रका कारण पनि चलचित्र घरीघरी बोझ झैं लाग्छ । पहिलो हाफमा चलचित्रले कुनै रफ्तार पकडेको देखिँदैन ।

दोस्रो हाफमा केही रमाइलो अनि नयाँ देखिन्छ कि भन्ने लागे तापनि झनै खल्लो छ । उनलाई चलचित्रमा लामो कपालमा प्रस्तुत गरिएको छ, जसको कुनै आवश्यकता थिएन । चलचित्रमा फरकपना केही छैन ।

चलचित्रको कहानी त पूरै रिमेक थियो, चलचित्रको गीतमा समेत सलमान जमेका छैनन् । चलचित्रको ‘नइयो लग्दा’ र बिल्ली बिल्ली’ हिट छन् । तर, अरु गीत भने बिल्कुलै फिक्का छन् । सलमानले चलचित्रमा ओभर एक्टिङ गरेको प्रस्ट देखिन्छ ।

यता पूजा हेंगडे एक पटक फेरि बलिउडमा हिट चलचित्र दिन संघर्ष गरिरहेको देख्न सकिन्छ । कलाकार वेंकटेश र जगपति बाबुले आफ्नो चरित्रलाई न्याय दिएका छन् । तर, बाँकी कलाकारको भने चलचित्रमा खासै काम देखिएको छैन ।

सलमान खानको डाइ-हार्ट फ्यानहरुलाई बाहेक अरुलाई यो चलचित्र पानीमा पैसा बगाए झैं हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर