सन्दीपले त्रिवि मैदानमा विश्वकीर्तिमान रचेको त्यो क्षण… (तस्बिरहरु) – Nepal Press

सन्दीपले त्रिवि मैदानमा विश्वकीर्तिमान रचेको त्यो क्षण… (तस्बिरहरु)

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ग्लोबल स्टार सन्दीप लामिछानेका लागि शुक्रबार करियरको अविस्मरणीय दिन बन्यो । उनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा एक सय विकेटको कोसेढुंगा पार, गरे त्यो पनि विश्वकीर्तिमान नै राखेर ।

सबैभन्दा कम खेलमा सय विकेट पुरा गर्ने विश्वकीर्तिमान सन्दीपले बनाएका हुन् । अफगानिस्तानका विख्यात बलर रसिद खानको नाममा रहेको किर्तिमान उनले खोसेका छन् । रासिदले ४४ खेलमा १०० विकेट लिएका थिए भने सन्दीपले त्योभन्दा २ खेल कममै ।

एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गत ओमानविरुद्ध त्रिवि क्रिकेट मैदानमा भएको खेलमा कप्तान रोहित पौडेलले १३ औँ ओभरमा सन्दीपलाई बल थमाएका थिए । विश्वकीर्तिमानबाट एक विकेट मात्रै टाढा रहेको हुँदा समर्थकहरुको दिलको धड्कन बढिहाल्यो । सन्दीप बलिङ गर्न गइरहँदा दर्शकदिर्घाबाट हुटिङ चर्किएको थियो । सन्दीपले सुरुका दुई बलमा एक–एक रन दिए ।

तर तेस्रो बलमा उनले अदिल सफिकलाई एलबीडब्लू धरापमा पारे । अम्पाअरले आउटको संकेत गरेसँगै उनको खुशीको सीमा भएन । सेलिब्रेसन गर्दै मिड अफको दिशामा दौडिएका सन्दीपलाई टिममेटले च्यापचुप पारे । आरिफ शेखले पछाडिबाट जुरुक्क उचाले भने अन्य खेलाडीहरुले पनि अंगाल्दै झांगलझुंगल पारे । सबैले सन्दीपलाई बधाई दिए ।

नेपाली टोलीले यो सेलिब्रेसनमा केही समय खर्चिएको थियो । आरिफको काँधबाट ओर्लिएर सन्दीपले एकपछि अर्को खेलाडीलाई अंकमाल गरे । अनि क्रिजको छेवैमा आएर जमीनलाई ढोगे, चुमे र फेरि ढोगे । चियर अफ गरिरहेका हजारौँ दर्शकतर्फ हात हल्लाउँदै खुसी साटे । सोही ओभरमा सन्दीपले अर्को विकेट पनि लिएका थिए ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको यो ५० औँ खेल थियो । यसमध्ये सन्दीपले ४२ खेलमा सहभागीता जनाएका छन् । यसअघि विश्वकप लिग-२ को अन्तिम खेलमा यूएईविरुद्ध नै उनी सय विकेटको आँकडा पुरा गर्ने लयमा देखिएका थिए ।

त्यस खेलमा उनले आफंनो चौथो ओभरको दोस्रो बलमा विकेट लिँदै एकदिवसीय अन्तर्राष्ट्रिय विकेट संख्या ९९ पुर्याएका थिए । तर दुर्भाग्य, उनले बाँकी करिब ६ ओभरमा विकेट लिन सकेका थिएनन् ।

सन्दीप एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दोस्रो सबैभन्दा कम खेलमा ५० विकेट पुरा गर्ने बलर पनि हुन् । उनले २२ खेलमा ५० विकेट लिएका थिए । उनको अर्को ५० विकेट पुरा हुन् २० खेल खर्च भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर