कुशलको अविश्वसनीय हिटिङ, नेपालको गहिरो ब्याटिङ – Nepal Press
म्याच रिभ्यू

कुशलको अविश्वसनीय हिटिङ, नेपालको गहिरो ब्याटिङ

काठमाडौं । मौसम बदली रहेको काठमाडौंमा आज दिउँसो निकै हावाहुरी चल्यो । त्यसो त आजै त्रिवि क्रिकेट मैदानमा नेपालका ब्याट्सम्यान कुशल मल्लको ब्याटिङ पनि हुरीभन्दा कम थिएन । एक हिसाबले भन्दा, कुशलको हुरीमा ओमान बढारियो ।

खेलको सुरुवात जसरी भएको थियो, त्यसलाई फर्केर हेर्दा अचम्ममा परिन्छ कि नेपालले कसरी ३१० रनको स्कोर खडा गर्‍यो । टस हारेर पहिलो ब्याटिङमा उत्रेको नेपालले पहिलो रनका लागि नै २८ बलसम्म प्रतीक्षा गर्नुपरेको थियो । सामाजिक सञ्जालमा ट्रोल आउन थालिसकेको थियो- वडा कार्यालयको सिफारिस नहुँदा नेपालले रनको खाता खोल्न सकेन ।

दुवै ओपनरहरु शून्यमा आउट हुँदा आजको म्याच नेपालका लागि त्रासदीपूर्ण हुने त होइन भन्ने आशंका उत्पन्न भएको थियो । पाँचौं ओभरको चौंथो बलमा भीम सार्कीले नेपालका लागि पहिलो रन बटुल्नुअघि नै नेपालका ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख पेभिलियन फर्किसकेका थिए । उच्च फर्ममा रहेका भीमले ‘क्याप्टेन डिपेन्डेबल’ रोहितकुमार पौडेलसँग मिलेर नेपालको इनिङ अलिकति उकासे । उनीहरुबीच ५२ रनको साझेदारी हुँदा नेपालको आशा ब्युँतियो ।

जब ५४ रनको स्थितिमा कप्तान पौडेल र ७२ रनमा भीम आउट भएपछि नेपाल संकटमा पर्‍यो । त्यसबेला २०.३ ओभरको खेल सकिएको थियो । नेपालले जसोतसो २५० रन चाहिँ कटाए हुन्थ्यो भनेर समर्थकहरुले प्रार्थना गरिरहेका थिए । ३०० रनको त कल्पनै थिएन । अनि क्रिजमा आए कुशल मल्ल । नेपालका ‘लिटल डाइनामाइट’ । अर्को इन्डमा थिए आरिफ शेख । नेपालका ‘मिस्टर डिपेन्डेबल’ । त्यसपछि म्याच सिनारियो नै फेरियो ।

चार विकेट छिट्टै गएपछि नेपालले अब रक्षात्मक खेल्ने अपेक्षा थियो । यस्तो परिस्थितिमा प्रायः रनको खडेरी लाग्छ । ब्याट्सम्यानहरु डिफेन्समाथि डिफेन्स गर्न थाल्छन् । तर, कुशलको दिमागमा अर्कै चलिरहेको थियो । उनी सम्हालिएर खेल्ने मुडमै थिएनन् ।

प्रायः टीममा बढीमा ६ जना ब्याट्सम्यान हुन्छन् । तर, नेपाली टीममा १० जना ‘प्रपर ब्याट्सम्यान’ थिए । हार्ड हिटर ब्याट्सम्यानका रुपमा चिनिने करण केसी १०औं नम्बरमा पालो पाउँछन् भनेपछि बुझ्नुस् नेपालको ब्याटिङमा कति गहिराइ छ ।

क्रिकेटमा कतिपयले भन्छन् कि आक्रमण नै ‘डिफेन्स’ को सबैभन्दा राम्रो उपाय हो । यही भाष्यमा विश्वास राख्ने ब्याट्सम्यान हुन् कुशल । उनले सिचुयसनको परवाह नै नगरी आफ्नै अन्दाजमा ब्याटिङ गरे । ओमानका कुनै पनि बलरलाई आफूमाथि हावी हुन दिएनन्, बरु आफू उनीहरुमाथि हावी भए । उनको यो आक्रामक रवैया नै आजको खेलको मुख्य टर्निङ प्वाइन्ट थियो ।

अर्को इन्डमा कुशललाई चाहिए जस्तै पार्टनर थिए आरिफका रुपमा । आरिफ त्यस्ता ब्याट्सम्यान हुन्, जो ठूला सटभन्दा सिंगल-डबल लिँदै रन बटुल्छन् । आफू क्रिजमा टिकेर अर्को ब्याट्सम्यानलाई खुलेर खेल्ने अवसर दिन्छन् । उनले नेपालका लागि धेरै म्याच विनिङ पार्टनरसीप गरेका छन् । तर, आफू सधैं सेकेन्ड फिडलमा रहेर । आरिफ र कुशलले आआफ्नै शैलीमा खेले ।

कुशलको कुरा गर्दा उनी विस्फोटक ब्याटिङ गर्ने नाममा अन्धाधुन्ध प्रहार भने गरिरहेका थिएनन् । आफ्नो एरियामा आएको बललाई टिपेर सट लगाइरहेका थिए । उनको बाउन्ड्री हिटिङ एबिलिटी अविश्वसनीय नै देखियो । १०८ रनको इनिङमा कुशलले १२ रनमात्रै दौडिएर लिए, बाँकी सबै छक्का र चौकाबाट ।

नेपाली ब्याटिङको प्रमुख विशेषता के देखियो भने लगातार विकेट गुमिरहँदा पनि ब्याट्सम्यानहरु दबाबमा आएनन् । उनीहरुले दबाबको फिल नै गरेनन् । पछिल्ला म्याचहरुमा प्राप्त लगातार जीतले दिलाएको आत्मविश्वास यसको एउटा कारक तत्व हो । तर, त्योभन्दा महत्वपूर्ण हो नेपालको ब्याटिङ गहिराइ ।

नेपालको ब्याटिङ लाइन एक-दुई हिरो वा सुपरस्टारमा टिकेको छैन । एउटा फेल भयो भने अर्कोले जिम्मेवारी उठाउँछ । अनि नेपालको ब्याटिङ पंक्ति यति लामो छ कि कहिले पनि सकिँदैन । प्रायः टीममा बढीमा ६ जना ब्याट्सम्यान हुन्छन् । तर, नेपाली टीममा १० जना ‘प्रपर ब्याट्सम्यान’ छन् । हार्ड हिटर ब्याट्सम्यानका रुपमा चिनिने करण केसी १०औं नम्बरमा पालो पाउँछन् भनेपछि बुझ्नुस् नेपालको ब्याटिङमा कति गहिराइ छ । पुच्छरविनाको ब्याटिङ पंक्ति हो यो ।

लगातार विकेट गइरहँदा पनि ब्याट्सम्यानहरुले सकारात्मक अन्दाजमा खेलिरहनुको मुख्य आधार यही नै थियो । आफूपछि पनि टन्नै ब्याट्सम्यान छन् भन्ने भएपछि स्वतः दबाब कम हुन्छ । जब नेपालले सातौं विकेटका रुपमा कुशल मल्ललाई गुमायो, त्यसबेला अझै १० ओभरको खेल बाँकी थियो । तर पनि नेपालको रफ्तार म्युट भएन । यसमा सोमपाल कामीको जति प्रशंसा गरे पनि कम हुन्छ ।

केही समय अगाडिसम्म ब्याटिङ नेपाली टीमको कमजोर कडी मानिन्थ्यो । नेपाली ब्याट्सम्यानमा बाउन्ड्री हान्ने क्षमताकै अभाव देखिन्थ्यो । तर, अहिले त्यो उल्टिएको छ । बलिङभन्दा ब्याटिङले नै नेपाललाई लगातार खेल जिताइरहेको छ ।

आठौं नम्बरमा ब्याटिङमा आएका सोमपालले बडो कुशलतापूर्वक आफ्नो इनिङ बुने । पहिलो बलदेखि नै सकारात्मक ढंगले खेले उनले । तर, अनावश्यक जोखिम उठाएनन् । सोमपालले १३१ को स्ट्राइक रेटमा ६८ रन बनाए । जबकि उनले कुनै ठूलो चार्ज गरेका थिएनन् । उनले ४८ बलको इनिङमा टाइमिङै बलले ९ चौका निकाल्न सफल भए ।

सोमपाल र करणबीच नवौं विकेटका लागि बुलन्द साझेदारी भयो । प्रायः ठूला सटमा चाह राख्ने करणले पनि आज सुझबुझपूर्ण ब्याटिङ गरे । ४७ ओभरसम्म उनले सोमपाललाई नै स्ट्राइक दिने प्रयास गरे । ४८औं ओभरमा आएर बल्ल आफ्नो हात खोले । करणले अन्तिम ओभरमा एक प्रहार गरेको एक छक्काले उनको पावरको छनक दिन्छ ।

केही समय अगाडिसम्म ब्याटिङ नेपाली टीमको कमजोर कडी मानिन्थ्यो । नेपाली ब्याट्सम्यानमा बाउन्ड्री हान्ने क्षमताकै अभाव देखिन्थ्यो । तर, अहिले त्यो उल्टिएको छ । बलिङभन्दा ब्याटिङले नै नेपाललाई लगातार खेल जिताइरहेको छ । वास्तवमा भन्नुपर्दा नेपालको ब्याटिङ लाइन सबै विशेषताहरुबाट सुसज्जित छ । कुशल भुर्तेल र आसिफ शेख जस्ता आक्रामक र प्राविधिक रुपमा पनि चुस्त ओपनिङ जोडी छ । मध्यक्रममा रोहित पौडेल र भीम सार्की जस्ता पर्खाल छन् । कुशल मल्ल, करण केसी जस्ता हार्ड हिटर छन् । दीपेन्द्रसिंह ऐरी, आरिफ शेख जस्ता अलराउन्डर/फिनिसर छन् ।

हुन त त्रिविको पिच एकदमै ब्याटिङमैत्री हो । यहाँ औसतस्तरका ब्याट्सम्यानले पनि बलरहरुको सातो खान सक्छन् । यही स्तरको ब्याटिङ नेपालले विदेशी भूमिमा देखाउन कठिन छ । यद्यपि, हाम्रा ब्याट्म्सम्यानहरुले लगातार खेलमा जुन एकरुपता देखाइरहेका छन्, त्यसले फ्यानहरुको महत्वाकांक्षा निकै बढाएको छ ।

नेपाली टीममा कुनै पक्ष कमजोर छ भने त्यो हो फास्ट बलिङ । सोमपाल र करणको जोडी अनुभवी भए पनि भरपर्दो छैन । ब्याटिङमैत्री पिचमा उनीहरु निकै महंगा बन्न पुग्छन् भने चाहेको बेला ब्रेक थ्रु दिलाउन पनि सक्दैनन् । यदि नेपालले दुई जना स्तरीय फास्ट बलर भेट्टाउने हो भने यो टीम अझै एक लेभल माथि जानसक्छ । स्पिन बलिङमा भने नेपाल बलियो छ । हामीसँग सन्दीप लामिछानेका रुपमा विश्वस्तरीय बलर छन् । ललित राजवंशी र दीपेन्द्रसिंह ऐरी पनि उत्तिकै भरपर्दा छन् । ओमानविरुद्धको म्याचमा पनि यिनै तीनजना स्पिनरहरुले ओमानको ब्याटिङलाई घुँडा टेकाए । सन्दीपले छोटो अन्तरालमा महत्वपूर्ण तीन विकेट लिँदै हड्डी तोडेपछि ओमान खेलमा फर्किनै सकेन ।

आजको खेलमा नेपालले जुन तरिकाले ब्याटिङमा कमब्याक गर्‍यो, त्यो निकै सुखद संकेत हो । जस्तोसुकै कठिन अवस्थामा पनि नेपालले हार मान्दैन भन्ने सन्देश यसले दिएको छ । आजको ब्याटिङले नेपालको आत्मविश्वास थप मजबुत हुनेछ । समूहको (सम्भवतः प्रतियोगिताकै सबैभन्दा बलियो प्रतिद्वन्द्वी) लाई हराइसकेपछि नेपालले समूह विजेतामात्र होइन, प्रतियोगितकै विजेता बनेर एसिया कपमा आफ्नो स्थान सुरक्षित गर्ने आशा बलियो बनेको छ । तर, खेल हो, जे पनि हुनसक्छ । अति आत्मविश्वासले ओतप्रोत भएर खेलाडीले आफ्नो लय बिगार्न चाहिँ भएन ।

हामी एसिया कपमा भारत-पाकिस्तानसँग नेपाली टीमले मुकाबिला गरेको हेर्न आतुर छौं ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *