तनहुँमा स्वर्णिमको जित प्रक्षेपण गर्ने अनलाइनविरुद्ध कांग्रेस उम्मेदवार भट्टराईले दिए उजुरी – Nepal Press

तनहुँमा स्वर्णिमको जित प्रक्षेपण गर्ने अनलाइनविरुद्ध कांग्रेस उम्मेदवार भट्टराईले दिए उजुरी

काठमाडौं । नेपाली कांग्रेसका तनहुँ १ का उम्मेदवार गोविन्द भट्टराईले निर्वाचन आयोगमा उजुरी दिएका छन् । एक अनलाइनले उपचुनावमा मतदातालाई भ्रम पार्ने गरी जनमत सर्भेक्षण सार्वजनिक गरेको भन्दै उनले सेतोपाटी अनलाइनविरुद्ध उजुरी दिएका हुन् ।

सो अनलाइनले तनहुँ १ मा रास्वपाका उम्मेदवार स्वर्णिम वाग्लेको जित निश्चित भएको प्रक्षेपण गरेको थियो । मतदातालाई प्रभावमा पार्ने गरी घण्टीबाहक उम्मेद्वारको पक्षमा माहोल बनाउन निर्वाचनको ४ दिन अगाडि नियोजित षड्यन्त्रका रुपमा समाचार प्रकाशन गरिएको भट्टराईको आरोप छ ।

उनले दिएको उजुरीमा भनिएको छ, ‘मत सर्वेक्षण भनी समाचार प्रकाशन गरिएको हुँदा निर्वाचन आचारसंहिता ऐन २०७९ को दफा ३ (ण), ४ को (ज) (ट) (७) (ड। (त) दफा २५ बमोजिम कसुर गरेको हुँदा ऐ.को दफा ४५ बमोजिम उजुरी दिएको र सो उपर सो उपर दफा ४६ र दफा ४९ बमोजिम कारबाही गरी पाऊँ ।’

उजुरी गर्ने भट्टराई सत्ता गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेदवार हुन् । त्यहाँ रास्वपाबाट वाग्ले र एमालेबाट सर्वेन्द्र खनाल चुनावी मैदानमा छन् ।

यसअघि प्रेस काउन्सिल नेपालले उपनिर्वाचनमा निश्चित दल र उम्मेदवारको पक्षपोषण गरेको भन्दै सो अनलाइनलाई २४ घण्टे स्पष्टीकरण सोधिसकेको छ । आचारसंहित उल्लंघन गर्ने मिडियालाई कारबाही गर्ने काउन्सिलको चेतावनी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर