५०औं ओडीआईमा ओमानसँग प्रतिस्पर्धा गर्दै नेपाल, सन्दीपलाई विश्व कीर्तिमान बनाउने अवसर – Nepal Press

५०औं ओडीआईमा ओमानसँग प्रतिस्पर्धा गर्दै नेपाल, सन्दीपलाई विश्व कीर्तिमान बनाउने अवसर

काठमाडौं । सन् २०१८ अगस्ट १ मा नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दै पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेको नेपालले आज ओमानसँग आफ्नो ५०औं ओडीआई खेल्दैछ ।

एसीसी प्रिमियर कपअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले आज ओमानको समाना गर्दैछ । पहिलो खेलमा मलेसिया ओडीआई मान्यता प्राप्त राष्ट्र नभएकाले उक्त खेलले ओडीआई मान्यता पाएको थिएन ।
तर, ओमान ओडीआई मान्यता प्राप्त राष्ट्र भएकाले नेपालले खेलमा ओडीआई मान्यता पाएको छ । समूह ए मा रहेको नेपालका लागि जारी प्रतियोगितामा ओमान बलियो प्रतिद्वन्द्वी हो । अरु टीम ओमानको तुलनामा कमजोर छन् । यदि, आजको खेलमा नेपालले ओमानलाई पराजित गरे अपराजित रहँदै सेमिफाइनल पुग्नेमा नेपाल आशावादी छ ।

लगातार जित लय बनाएको नेपाली टीम घरेलु मैदानमा ५०औं ओडीआई जित्ने लक्ष्यमा छ । तर, प्रतियोगिताअघिको अभ्यास खेलमा पराजित भएको बदला लिँदै अपराजित रहने लक्ष्य ओमानको पनि रहनेछ ।

आजको खेल नेपाली टीमका र स्पिनर सन्दीप लामिछानेका लागि विशेष छ । यदि आज सन्दीप लामिछानेले एक विकेट लिए उनी ओडीआई क्रिकेटमा सर्वाधिक छिटो सय विकेट लिने खेलाडीको कीर्तिमान बनाउनेछन् ।

उनले अफगानिस्तानका स्टार बलर रासिद खानले ४४ खेलमा बनाएको सर्वाधिक छिटो विकेटको कीर्तिमान तोड्दै ४२ खेलमा सय विकेट पूरा गर्नेछन् ।

सबैभन्दा छिटो ओडीआईमा सय विकेट पूरा गर्ने खेलाडीको पहिलो नम्बरमा रासिद खान रहँदा, दोस्रो नम्बरमा अस्ट्रेलियाका मिचेल आरोन स्टार्क रहेका छन् । स्टार्कले ५२ खेलमा सय विकेट लिएका थिए । तेस्रो नम्बरमा रहेका पाकिस्तानका सक्लिन मस्तक ५३ खेलमा सय विकेट पूरा गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *