लक्ष्मीपुर पतारी गाउँपालिकाका पूर्वअध्यक्ष, उपाध्यक्ष तथा तीन अधिकृतसहित २२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा – Nepal Press

लक्ष्मीपुर पतारी गाउँपालिकाका पूर्वअध्यक्ष, उपाध्यक्ष तथा तीन अधिकृतसहित २२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

जनकपुरधाम । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाका तत्कालीन अध्यक्ष, उपाध्यक्ष, तीन प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षहरु र उपभोक्ता समिति गरी २२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

आर्थिक वर्ष २०७५/०७६ र २०७६/०७७ मा पुल/कलभर्ट र अन्य भौतिक संरचना निर्माणमा ठूलो रकम अनियमितता भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आयोगले गाउँपालिकाका तत्कालिन अध्यक्ष राम बल्लभ साह र तत्कालीन उपाध्यक्ष आशादेवी यादवमाथि ३१ लाख ७४ हजार ४६७ रुपैया विगो दाबी गरिएको छ ।

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रविन्द्र कुमार महत, लेखापाल ईन्द्र कुमार कर्ण, वडा ४ का तत्कालिन वडाध्यक्ष विद्यानन्द साह र सोही वडाका तत्कालिन सचिव रामनारायण मण्डल विरुद्ध आयोगले दायर गरेको मुद्दामा ५ लाख २८ हजार ४४० रुपैया विगो दावी गरेको छ ।

यस्तै उपभोक्ता समिति अध्यक्ष विष्णुदेव यादव, कोषाध्यक्ष जलास कुमारी दनुवार, सचिव महादेव यादव र मां ॐ शान्ति इन्जिनियरिङ कन्सल्टेन्सीका इन्जिनिर ईन्द्र नारायण साह विरुद्ध ५ लाख २८ हजार ४४० रुपैया बिगो दावी गरिएको छ ।

गाउपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत धनिक लाल यादव र सुजित कुमार यादव, तत्कालिन लेखापाल नरेश कामैत, इन्जिनिर अमन पोखरेल, वडा ३ का वडाध्यक्ष हनुमान मण्डलमाथि २६ लाख ४६ हजार २७ रुपैया विगो दावी गरिएको छ ।

उपभोक्ता समिति अध्यक्ष उत्तिम लाल मण्डल, कोषाध्यक्ष गिता कुमारी मण्डल, सचिव प्रमेश्वर मण्डल तथा राजदेवी कन्सल्टेन्सी एण्ड इन्जिनियरिङका इन्जिनिर ताराकान्त साह विरुद्ध पनि २६ लाख ४६ हजार २७ रुपैया आयोगले विगो दावी गरेको छ ।

यस्तै गाउपालिकाका योजना शाखा प्रमुख चन्देश्वर प्रसाद यादव र गाउपालिका स्तरीय योजना अनुगमन समितिका विष्णुदेव साह, अमृतादेवी दास र सत्यनारायण साह विरुद्ध ३१ लाख ७४ हजार ४६७ रुपैया विगो कायम गरिएको छ ।

गाउँपालिकाको विभिन्न वडामा पुल÷कलभर्ट निर्माण योजनामा भ्रष्टाचार भएको भन्दै परेको उजुरीमा छानविन गर्दा भ्रष्टाचार भएको ठहर आयोगले गरेको छ । आयोगका अनुसार योजना सम्पन्न नगरी अलपत्र छाडेको, गुणस्तरहीन काम गरेको, बढी मुल्यांकन गरी रकम निकासा गरेको लगायतको कमजोरी आयोगले औल्याएको छ ।

आयोगले भ्रष्टाचार मुद्दा दायर गरिएकाहरुसंग कैद र जरिवानाको सजाय समेत गर्न विशेष अदालतमा माग गरेको छ ।


प्रतिक्रिया

One thought on “लक्ष्मीपुर पतारी गाउँपालिकाका पूर्वअध्यक्ष, उपाध्यक्ष तथा तीन अधिकृतसहित २२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

  1. हाम्रो देशमा नेताहरु का कुनै कमी छैन र हुदैन पनि यो सबै नेताहरु भोटको समय मात्र देखापर्छ। हाम्रो देशका नेताहरुले विकास का नाममा यो काम गर्छु त्यो गर्छु मासु र रक्सी २००० – ३००० नोट जनताले पाइ हाल्छ। नेताहरु भोट लड्न को लागि आफ्ना घर र खेत धितो राखेर ब्याज मा रुपैयाँ उठाएर भोट लडछन अनि यस्ता चोरहरूले विकास गर्छन्। त जुन नेताहरु नेपाली बोल्न नसक्ने बिध्यालय नगएको छन् तेस्ता नेताहरुले विकास गर्छन् 🤣🤣। जोद घताउ नआउने ले नेताहरुले लुटि हाल्छ नि जनता को पैसा ………।।।।आदि 🙏🙏

Leave a Reply

Your email address will not be published. Required fields are marked *