राष्ट्रियसभा र रुसी महासंघको फेडेरेसन काउन्सिलका बीचमा अन्तरसंसद सहकार्य सम्झौता – Nepal Press

राष्ट्रियसभा र रुसी महासंघको फेडेरेसन काउन्सिलका बीचमा अन्तरसंसद सहकार्य सम्झौता

काठमाडौं । राष्ट्रियसभा र रुसी महासंघको संघीय सभाको फेडेरेसन काउन्सिलका बीचमा बिहीबार अन्तरसंसद सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र रुसी महासंघको संघीय सभाको फेडेरेसन काउन्सिलका अध्यक्ष भलेन्टिना मात्भिएन्कोले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

राष्ट्रियसभा र फेडेरेसन काउन्सिलका बीचमा भएको समझदारीपत्रमा नेपाल र रुसी महासंघबीच अन्तर–संसदीय सहयोगलाई प्रवर्द्धन गर्ने तथा प्रतिनिधिमण्डलको भ्रमण आदानप्रदान गरी सांसद, समिति, आयोग र कार्यालयबीच निकट अन्तरक्रिया मार्फत अन्तर-संसदीय सम्बन्धलाई सुदृढ गर्ने उल्लेख छ ।

यस्तै, आधुनिक डिजिटल प्रविधिको प्रयोग गरी संसदीय गतिविधि, आधिकारिक प्रकाशन, र आपसी चासोका अन्य दस्तावेजहरुको सूचना आदानप्रदान गर्दै संसदीय गतिविधिहरु, संसदीय गतिविधिको डिजिटाइजेशन, र सभा, समिति तथा आयोगहरूका कार्यमा सूचना तथा सञ्चार प्रविधिको उपयोगमा अनुभव आदानप्रदान गर्ने समझदारीपत्रमा उल्लेख छ ।

समझदारीपत्रमा अन्तर–व्यवस्थापिका संघ लगायत त्यस्ता अन्तर्राष्ट्रिय संसदीय मञ्चहरुमा सहकार्य विकास गर्दै जाने र संसदीय मैत्री समूह गठन गर्ने समेत उल्लेख छ ।

समझदारीपत्रमा हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले दुई सदनका बीचमा भएको सम्झौता पारस्परिक सम्मान, मित्रता एवं सहकार्यको जगमा स्थापित नेपाल–रुसबीचको सुमधुर सम्बन्धको बलियो प्रमाण भएको बताए । उनले समझदारीले दुईपक्षीय सम्बन्धलाई थप मजबुत बनाउँदै साझा हितका क्षेत्रमा सहकार्य एवं नयाँ अवसर सिर्जना गर्न उत्प्रेरकको भूमिका खेल्ने बताए ।

उनले समझदारी र सहकार्यलाई बढावा दिन अन्तर–संसद सहकार्यको महत्व दिनानुदिन बढीरहेको चर्चा गर्दै समझदारीका माध्यमबाट एक अर्काको राजनीतिक प्रणाली तथा विधायिकी प्रक्रिया सम्बन्धी बुझाईलाई थप गहन बनाउन, असल अभ्यास, विज्ञता र सूचनाको साटा–साट गर्न एवं संसदीय प्रतिनिधिमण्डलको भ्रमण आदानप्रदान गर्न तथा जनसम्पर्क प्रवर्द्धनमा थप सहयोग हुने विश्वास व्यक्त गरे ।

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना र रुसी महासंघको संघीय सभाको फेडेरेसन काउन्सिलका अध्यक्ष भलेन्टिना मात्भिएन्को बिच भएको भेटवार्ताका क्रममा नेपालले रुसबाट रासायनिक मल र गहुँ आयात गर्न चाहेको तथा नेपाल, रसिया, चीन र भारत सम्मिलित मैत्रीपूर्ण बुद्धिचाल च्याम्पियनसिप प्रतियोगता आयोजना गर्न चाहेको उल्लेख गरेका छन् । यस्तै, विगतमा रोकिएको नेपाल र रुस सिधा हवाई उडान पूनः सुरु गर्न आवश्यक प्रक्रिया अगाडिी बढाउन आग्रह गर्ने बताइएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर