एसीसी प्रिमियर कप: मलेसियाको पहिलो जीत, बहराइनसँग सिंगापुर पराजित – Nepal Press

एसीसी प्रिमियर कप: मलेसियाको पहिलो जीत, बहराइनसँग सिंगापुर पराजित

काठमाडौं । एसीसी प्रिमियर लिगअन्तर्गत तेस्रो दिनको खेलमा समूह ‘ए’ को मलेसियाले पहिलो जीत निकालेको छ । पहिलो खेलमा नेपालसँग ६ विकेटले पराजित मलेसियाले दोस्रो खेलमा साउदी अरबियालाई ८ विकेटले हराएको हो ।

मूलपानी मैदानमा टस जितेर पहिला फिल्डिङ रोजेको मलेसियाले साउदी अरबलाई ४६.२ ओभरमा अलआउट गर्दै १५४ रनको लक्ष्य पाएको थियो ।

जवाफी ब्याटिङमा उत्रिएको मलेसियाले २१.२ ओभरमा २ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । मलेसियाका ओपनर मोहमद अमिरले ४४ बलमा १२ चौका प्रहार गर्दै सर्वाधिक ५६ रनको योगदान गरे । उनले पहिलो विकेटका लागि विरन्दीपसिंहसँग ८२ रनको साझेदारी गरे ।

विरन्दीप ५३ बलमा ५१ रन बनाएर आउट भए । सायद अजिजले ३० बल खेल्दै ३४ रनको अविजित इनिङ खेले ।

साउदीका जैन उइ अबिदिनले २ विकेट लिए ।

पहिला ब्याटिङ गरेको साउदीका ७ ब्याटर दोहोरो अंकमा रन बनाउन नसकेर आउट हुँदा आठौं नम्बरमा क्रिजमा उत्रिएका हासिब घाफोरले सर्वाधिक ४० रन जोडे । उनले आउट हुनुअघि ७८ बल खेल्दै ४ चौका र एक छक्का प्रहार गरे ।

ओपनर अबदुल वाहिद ३६ रनमा पभेलियन फर्कंदा कप्तान हिसहाम शेखले २१ रन जोडे । आतिफ उर रेहेमान १८ रनमा अविजित रहे ।

मलेसियाका खिजार हायतले १० ओभरमा १ मेडन राख्दै १३ रन खर्चिएर सर्वाधिक तीन विकेट लिए । मोहमद वाकिफ, रिजवान हाइडर र अनवर रेहमानले समान दुईदुई विकेट लिए । विरन्दीप सिंहले एक विकेट लिए ।

मलेसियाले प्रतियोगिताको तेस्रो खेल आइतबार ओमानसँग मूलपानी मैदानमा खेल्नेछ ।

यस्तै त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा बहराइनले सिंगापुरलाई १३२ रनले हराएको छ । टस जितेर पहिला ब्याटिङ थालेको बहराइनले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २८७ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

जवाफी ब्याटिङमा उत्रिएको सिंगापुर ४३.१ ओभरमा अलआउट हुँदै १५४ रनमा सीमित भयो ।

बहराइनले दोस्रो खेल शनिबार कुवेतसँग मूलपानी मैदानमा खेल्नेछ ।

प्रतियोगितामा नेपालसहित १० राष्ट्र सहभागी छन् । हरेक पाँच राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगिताको समूह ‘ए’ मा नेपालसँगै ओमान, कतार, मलेसिया र साउदी अरब छन् । समूह ‘बी’ मा यूएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् । दुवै समूहका शीर्ष दुई टीमले सेमिफाइनल खेल्नेछन् । सेमिफाइनल वैशाख १६ गते र फाइनल वैशाख १८ गते टीयू क्रिकेट मैदानमा हुनेछ ।

प्रतियोगिताको विजेताले पाकिस्तानमा हुने एसिया कपमा भारत र पाकिस्तानको समूहमा रहेर खेल्न पाउनेछ । शीर्ष तीन टीमले जुलाईमा आयोजना हुने ‘एसीसी इमर्जिङ टिम्स’ एसिया कप खेल्न पाउनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर