अंग्रेजलाई जितेको सम्झनामा यसरी मनाइयो जितगढी उत्सव (तस्बिरहरु) – Nepal Press

अंग्रेजलाई जितेको सम्झनामा यसरी मनाइयो जितगढी उत्सव (तस्बिरहरु)

रुपन्देही । जितगढीमा नेपाल-अंग्रेजका बीचमा भएको युद्धमा नेपालले विजय हासिल गरेको खुशीयालीमा बिहीबार जितगढी उत्सव मनाइएको छ । १८७२ वैशाख ७ गते जितगढी किल्लामा कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले अंग्रेज फौजमाथि जित हासिल गरेको थियो ।

सोही खुशीयालीमा बुटवल उपमहानगरपालिकाले जितगढी उत्सव मनाउदै आएको छ । बिहीबार जितगढी उत्सवका अवसरमा जितगढी उत्सव मूल समारोह, गोरखादेखि पैदलयात्रामा आएको नेपाली सेनाको टोलीलाई स्वागत गरिएको थियो ।

चैत २८ गते गोरखादेखि सुरु भएको पद यात्रा टोली तत्कालीन समयको राज्य एकीकरण मार्ग हुँदै विजय उत्सव मनाउन आज बुटवलको जितगढी आइपुगेको हो ।

नेपाली सेनाका क्याप्टेन राजकुमार श्रेष्ठको नेतृत्वमा ४८ जनाको टोली गोरखाबाट जितगढीका लागि निस्केको थियो । नेपालको राष्ट्रिय झण्डाको साथमा ५ प्रथम कम्पनी (श्रीनाथ, कालिबक्स, बर्दवाणी, सबुज, पुरानो गोरख) र जितगढी लडाइमा सहभागी गुरुबक्स गुल्मको झण्डा बोकेर बाजा गाजासहित सेनाको टोली पदयात्रामा निस्किएको थियो ।

गोरखाबाट प्रस्थान गरेको टोलीले सतीघाट पुगेर तनहुँको टोलीलाई झण्डा हस्तान्तरण गरेका थिए भने तनहुँको टोलीले केलादीघाट पुगेर पाल्पालाई तथा पाल्पाले नुवाकोटगढी पुगेर रुपन्देहीलाई झण्डा हस्तान्तरण गरेको मध्यपश्चिम प्रितना केडक्वाटर बुटवलका प्रितनापति याम ढकालले जानकारी दिए ।

रुपन्देहीको टोलीले जितगढी विजयउत्सवको दिन पारेर जितगढी पुर्याएपछि कणेल उजिर सिंहको शालिकमा माल्र्यापर्णपछि यात्राको समापन गरिएको हो ।

पाल्पाको नुवाकोटदेखि आएको टोलीलाई पुरानो बुटवलस्थित सिद्धिविनायक गणेश मन्दिरमासम्म बुटवल उपमहानगरका प्रमुख खेलराज र प्रितनापति यमप्रसाद ढकालसहितको टोली लिन पुगेको थियो । सो स्थानबाट विभिन्न जातीय तथा धार्मिक झाकँी र बाजागाजासहित जितगढी किल्लामा आएर पदयात्राको समापन गरिएको थियो ।

एकीकरण मार्गसहित ऐतिहासिक धरोहरको जगेर्ना गर्ने, ऐतिहासिक एकीकरणको अभियानको सन्देशलाई भावी पुस्तामा हस्तान्तरण गर्ने र राष्ट्रिय एकताको भावना थप प्रगाढ बनाउने उद्देश्यले सरोकारवाला, स्थानीय निकायको सहभागितामा पदयात्रा कार्यक्रम तय गरिएको प्रितनापती ढकालले बताए ।

गोरखादेखि जितगढी पुग्ने ५५ जनाको टोली रहेको र जिल्ला–जिल्लाका ३५ जना सेनाको सहभागितामा पदयात्रा गरिएको नेपाली सेनाले जनाएको छ । राष्ट्रिय एकताको जगेर्ना, पर्यटन प्रवर्द्धन तथा सैनिक नागरिक सम्बन्ध थप प्रगाढ बनाउँदै जाने र नेपालका ऐतिहासिक धरोहर गढी, किल्ला सबैको अवलोकन गर्ने गरी कार्यक्रम आयोजना गरिएको प्रितनापति ढकालले बताए ।

नेपाली सेनाका अनुसार यात्रामा गोरखाको रिपुमर्दन गण, तनहुँको रुरु भैरव दल गण, काली भञ्जन गण, राजदल गण, स्याङ्जाको समरजित गुल्म, पाल्पाको दि फेमस महिन्द्र दल गण र रुपन्देहीको गरुड दल गण प्रत्यक्ष सहभागी छन् । सो टोलीले गोरखादेखि जितगढीसम्म करिव २०७ किलोमिटर दुरीको पदयात्रा पार गरेको छ ।

संवत् १८७१ मा स्थल मार्गबाट अंग्रेजले बृहत गोर्खा अधिराज्यसित ६–७ ठाउँबाट युद्ध सुरु गरेपनि जितगढी कमाण्डमा कर्णेल उजीरसिंह नेतृत्वको नेपाली फौजले कम्पनी सेनालाई पराजित गर्दै गोरखपुरसम्म लखेटेको थियो ।

अन्य स्थानहरुमा बहादुरी देखाउँदा देखाउँदैपनि नेपाली फौज असफल भएपनि जितगढी किल्लाको फौज भने युद्धमा अंग्रेज फौजलाई परास्त गर्न सफल भएको थियो । सो लडाँईमा कर्णेल उजिर सिंह थापाले कमाण्ड सम्हालेका थिए । समापनको अवसरमा ईतिहासका जानकार निर्मल श्रेष्ठले जितगढी किल्लाको बारेमा व्याख्या गरेका थिए ।

बिहीबारको उत्सवमा राष्ट्रपति, प्रधानसेनापतिलगायतका विशिष्ट व्यक्तिहरु आउने र सेनाले तयार गरेको गढी पुनःनिर्माण हस्तान्तरण गर्ने कार्यक्रम तय भएपनि राष्ट्रपति रामचन्द्र पौडेल बिरामी परेपछि तत्कालका लागि रोकिएको हो ।

यसअघि सो क्षेत्रमा बनाइएको तत्कालीन कमाण्डरको शालिक अनावरण तथा ठूलो झण्डोतोलनका लागि तत्कालीन प्रधानमन्त्री केपी शर्माओली आएका थिए । बिहीबार प्रदेश तथा स्थानीय सरकारका जनप्रतिनिधि तथा विभिन्न संघसंस्थाका प्रतिनिधिले जितगढीको इतिहासलाई अब राष्ट्रियस्तरमा पुराउनुपर्ने बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *