राज्यशक्तिको दुरुपयोग गर्दै तीन पूर्वप्रधानमन्त्रीको दलबलसहित प्रचण्डको चुनावी दौडाहा – Nepal Press

राज्यशक्तिको दुरुपयोग गर्दै तीन पूर्वप्रधानमन्त्रीको दलबलसहित प्रचण्डको चुनावी दौडाहा

गठबन्धनका चार नेताहरु सेनाको हेलिकोप्टर चढेर दुई दिनमा चार जिल्ला पुगे

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हिजोदेखि सबै काम छोडेर उपचुनावको दौडाहामा केन्द्रित भएका छन् । हिजो उनले तनहुँमा पुगेर कांग्रेस उम्मेवारलार्ई जिताउन अपिल गरे भने आज बारामा जसपा र चितवनमा कांग्रेसकै उम्मेदवारका लागि भोट माग्दैछन् ।

आफ्नो दौडाहामा प्रधानमन्त्री एक्लै छैनन्, उनीसँग तीनजना पूर्वप्रधानमन्त्रीहरुसहितको दलबल छ । प्रधानमन्त्रीसँग पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वप्रधानन्त्री तथा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई छन् । वर्तमान सत्तागठवन्धनका यी चार शीर्ष नेताहरु काठमाडौंबाट सेनाको हेलिकोप्टरमा चढेर हिजो गोर्खा गएका थिए । गोर्खाबाट हिजै तनहुँ पुगेका हुन् ।

तनहुँको क्षेत्र नम्बर १ मा चारैजना नेताहरुले एउटै सभामा भाषण गरेका थिए । उक्त सभामा प्रधानमन्त्री प्रचण्डले कांग्रेसको चुनाव चिन्ह रुख गठवन्धनका सबैको साझा चिन्ह भएको बताए । उनले कांग्रेस उम्मेदवार गोविन्द भट्टराईलाई जिताएर पठाए आफूले मन्त्री बनाइदिने आश्वासनसमेत बाँडे ।

‘अहिले म प्रधानमन्त्री छु । गोविन्द्र भट्टराईलाई मन्त्री बनाउने भनेर शेरबहादुर देउवाजीले भनिसक्नुभयो । मन्त्री बनाउने मैले हो । शेरबहादुरजीले जिम्मा लिइसक्नुभयो, म उहाँसगै छु’, प्रचण्डले भने ।

प्रचण्ड र तीन प्रधानमन्त्रीहरुको टोली आज बारा र चितवनमा संयुक्त आमसभालाई सम्बोधन गर्दैछन् । बारामा गठवन्धनको यसपटक जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव नै उम्मेदवार छन् । प्रचण्ड तीन पूर्वप्रधानमन्त्रीहरुलाई लिएर सेनाको हेलिकोप्टरमा तनहुँबाट बारा पुगेका हुन् । बाराबाट पनि हेलिकोप्टर नै चढेर उनीहरु चितवन आएका छन् ।

चुनावी प्रचारप्रसारमा यसरी सेनाको हेलिकोप्टर प्रयोग गर्नु राज्यस्रोतको दुरुपयोग हो । निर्वाचन आचार संहिता अनुसार पनि सरकारी खर्चमा हेलिकोप्टर चढेर चुनाव प्रचारमा हिँड्न मिल्दैन ।

निर्वाचन आचारसंहिता २०७९ मा भनिएको छ, ‘निर्वाचन प्रचार प्रसारमा संलग्न हुने नेपाल सरकार वा प्रदेश सरकारको मन्त्री वा स्थानीय कार्यपालिकाका पदाधिकारीले त्यसरी निर्वाचन प्रचार प्रसारमा संलग्न हुँदा सरकारी स्रोत र साधनको प्रयोग गर्न हुँदैन ।’

आचारसंहिता अनुसार राजनीतिक दलले प्रचारप्रसारका लागि आफ्नो तर्फबाट दुईजना मुख्य प्रचारकको नाम आयोगमा बुझाउनुपर्ने हुन्छ । आयोगले अनुमति दिएका मुख्य प्रचारकले मात्रै हेलिकोप्टर सेवा प्रयोग गर्न सक्छन् । प्रधानमन्त्री तथा मन्त्रीहरुले चुनावी प्रचारको लागि हेलिकप्टर प्रयोग गर्न नपाउने निर्वाचन आयोगका सूचना अधिकारी सुर्यप्रसाद अर्यालले बताए ।

उनले भने, ‘आयोगले पहिला नै चुनावी प्रचारमा हेलिकप्टरको प्रयोग नगर्न निर्देशन दिइसकेको छ । यदि त्यस्तो हो भनेर आयोगको ध्यानाकर्षण हुन्छ । बैठक बसेर केही निर्णयको लागि प्रक्रिया थाल्छौं ।’

अनुमति नलिइ हेलिकप्टरको प्रयोग भएको केही माध्यमबाट आएपछि आयोगको ध्यानाकर्षण हुने उनले बताए । उनले अहिलेसम्म हेलिकप्टरको प्रयोगका लागि प्रधानमन्त्री कार्यालयबाट अनुमति मागेको जानकारी नभएको उल्लेख गरे ।

अर्यालले थपे, ‘विकट स्थानमा निर्वाचनको मुख्य प्रचारकलाई मात्रै यस्ता साधनको प्रयोग गर्न दिइन्छ । अहिले उपनिर्वाचन विकट स्थानमा नभएको कारणले हामीले हेलिकप्टर लिएर हिँड्नुहुन्छ भन्ने अपेक्षा गरेका छैनौं ।’

देशको कार्यकारीबाटै आचारसंहिताको उल्लंघन भएको कतैबाट पुष्टि भए गम्भीरतापूर्वक लिएर प्रक्रिया थाल्ने उनको भनाइ छ ।

आजै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि निर्वाचन आचारसंहिता उल्लंघन गर्दै हेलिकप्टर चढेर बारा–२ मा आयोजित चुनावी सभामा पुगेका छन् । उनी निजी कम्पनीको हेलिकप्टर लिएर गएको स्रोतले जानकारी दिएको छ ।

त्यसो त नेपाल सरकारका प्रधानमन्त्री वा कुनै पनि मन्त्रीले निर्वाचनको प्रचार प्रसारमा जाँदा निर्वाचन आयोगसँग अनुमति लिनुपर्ने हुन्छ । त्यस्तो अनुमति प्रधानमन्त्रीले नलिएको आयोग स्रोतले बतायो ।

त्यसो त नेपाल सरकारका प्रधानमन्त्री वा कुनै पनि मन्त्रीले निर्वाचनको प्रचार प्रसारमा जाँदा निर्वाचन आयोगसँग अनुमति लिनुपर्ने हुन्छ । त्यस्तो अनुमति प्रधानमन्त्रीले नलिएको आयोग स्रोतले बतायो ।

प्रधानमन्त्रीबाट आचारसंहिता उल्लंघन भयो : डा. स्वर्णिम वाग्ले

तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेले देशकै प्रधानमन्त्रीले निर्वाचन आचार संहिताको उल्लंघन गर्दै अरु ३ पूर्वप्रधानमन्त्री बोकेर हिँडेको बताएका छन् । अवैध धन छरेर सोझा जनताको भोट किन्ने व्यापक चलखेल सुरु भएको उनको गुनासो छ । उनले निर्वाचन आयोगको ध्यानाकर्षण समेत गराएका छन् ।

डा. वाग्लेले लेखेको स्टाटस यस्तो छः

देशकै प्रधानमन्त्री निर्वाचन आचार संहिता उल्लङ्घन गर्दै अरु ३ जना पूर्वप्रधानमन्त्री बोकेर मुख्यमंत्री र संघीय मंत्रीको पद बाँड्दै हिंड्नु भएको छ । अवैध धन छरेर सोझा जनताको भोट किन्ने व्यापक चलखेल सुरु भइसकेको छ । त्रास देखाउने, धम्की दिने क्रम बढ्दो छ । निर्वाचन आयोगले आफ्नो संवैधानिक दायित्व पुरा गरोस् । यस्तै, विकृत राजनीति विरुद्ध हाम्रो लडाईं हो । तर यसपटक तनहुँका विवेकशील जनताको सामुहिक मत सामु कसैको केही लाग्ने छैन । आमूल सुधार र परिवर्तनको घण्टी बज्छ बज्छ ।

 


प्रतिक्रिया

One thought on “राज्यशक्तिको दुरुपयोग गर्दै तीन पूर्वप्रधानमन्त्रीको दलबलसहित प्रचण्डको चुनावी दौडाहा

  1. यी सकिन लागेका र काम नलाग्ने पत्रुहरूको दौडाहाको पछि कोही लाग्नेवाला छैन अब ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर