‘स्वर्णिम वाग्लेलाई हाम्रो ६ हजार मत जान्छ, कांग्रेसकै भोट काटेर जित्नुहुन्छ’ – Nepal Press
नेपाल टक

‘स्वर्णिम वाग्लेलाई हाम्रो ६ हजार मत जान्छ, कांग्रेसकै भोट काटेर जित्नुहुन्छ’

गोविन्दराज जोशीका छोरा दीपक भन्छन्- कांग्रेस निश्चित गुटले चलाउँछ

काठमाडौं । तनहुँ १ मा वैशाख १० गते उपनिर्वाचन हुँदैछ । राष्ट्रिय स्वतन्त्र पार्टीले पूर्वकांग्रेस नेता तथा अर्थशास्त्री स्वर्णिम वाग्लेलाई उम्मेदवार बनाएपछि त्यहाँको चुनावी माहोल रोचक बनेको छ । उनीसँग कांग्रेसबाट गोविन्द भट्टराई र एमालेबाट नेपाल प्रहरीका पूर्वप्रमुख सर्वेन्द्र खनाल प्रतिस्पर्धामा छन् ।

कांग्रेसका भट्टराईलाई सत्ता गठबन्धनको साथ छ । तर, तनहुँमा ‘स्वतन्त्र कांग्रेस अभियान’ चलाइरहेका पूर्वगृहमन्त्री गोविन्दराज जोशी समूह निर्णायक मानिन्छ । जोशी समूहलाई पार्टीमा सक्रिय बनाउन जोशीका छोरा दीपकराजसँग पार्टी सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापालगायत नेताहरुले छलफल गरेका थिए । तर, कुरा मिलेन ।

जोशीका छोरा गत स्थानीय तह निर्वाचनमा तनहुँकै ब्यास नगरपालिकाको मेयर उठेका थिए । एमालेको सहयोग गर्ने आश्वासन दिए पनि गरेन । उनी पराजित भए । औपचारिक निर्णय नगरे पनि जोशी समूहले अप्रत्यक्ष रुपमा रास्वपाका उम्मेदवार वाग्लेलाई समर्थन गर्ने सहमति भइसकेको छ ।

तनहुँको पछिल्लो चुनावी अवस्था कस्तो छ ? जोशी समूहको समर्थन वाग्लेलाई किन ? जोशी समूहमा कति मत छ ? कांग्रेससँग सहमति हुन नसक्नुको कारण के के हुन् लगायतबारे जोशी पुत्र दीपकराज जोशीसँग नेपाल प्रेसका लागि रमेश पराजुलीले गरेको कुराकानीः

– तपाईं तनहुँमा रहेर राजनीतिमा सक्रिय हुनुहुन्छ । अहिलेको चुनावी माहोल कस्तो छ ?

तनहुँमा पछिल्लो माहोल रास्वपाका उम्मेदवार स्वर्णिम वाग्लेको पक्षमा देखिएको छ । तर, नेपालको चुनाव मौन अवधिमा सुरु हुन्छ भन्छन् । भोलिबाट मौन अवधि सुरु हुँदैछ । अहिलेसम्म यहाँका मतदाताको मुडलाई बुझ्दा स्वर्णिमले जित्ने देखिन्छ ।

– जोशी समूहले रास्वपाका उम्मेदवार वाग्लेलाई सघाउने सहमति गरेको हो ?

हामीले निर्णय वा सहमति नै भन्दा पनि हामीले २१औं शताब्दीको राजनीति बुझेको, विद्वान युवा, राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिमा प्रभाव राख्नसक्ने देखेर नै स्वर्णिमलाई सहयोग गर्ने अप्रत्यक्ष रुपमा भनेका हौं । कुनै निर्णय गरेका होइनौं ।

बुबाले त तटस्थ बस्ने भन्नुभएको थियो । तर, योग्य उम्मेदवार भएकाले स्वर्णिमतिरै मत हाल्नुपर्छ भन्नेमा धेरै छन् । हामीले कुनै उर्दी जारी गरेका छैनौं । हाम्रो समूहबाट कांग्रेसतिर जाने कुरा भएन । एमालेले पनि स्थानीय तह चुनावमा सहयोग गर्ने भने पनि अन्तिममा गरेन । त्यसैले अहिले स्वर्णिमतिर जाने देखिएको छ ।

औपचारिक नभए पनि अनौपचारिक रुपमा हाम्रो समूहले स्वणिमलाई सहयोग गर्ने भन्ने भएको हो । कांग्रेससँग वार्ता बस्दा पनि भंग भएपछि त्यहाँ हाल्ने कुरा भएन, एमालेले सहयोग गर्छु भनेर धोखा दिएको कारणले विकल्प त्यही भयो ।

– रास्वपा नेताहरुसँग बैठक बसेर समर्थन गर्ने सहमति भइसक्यो भन्ने पनि छ नि ?

सहमति नै भनेर गरेका छैनौं । तर, मेरो व्यक्तिगत रुपमा पनि रवि लामिछाने, स्वर्णिम वाग्लेहरुसँग राम्रो सम्बन्ध छ । त्यही उहाँहरुसँग बसेर छलफल गरेका थियौं । औपचारिक नभए पनि अनौपचारिक रुपमा हाम्रो समूहले स्वणिमलाई सहयोग गर्ने भन्ने भएको हो । कांग्रेससँग वार्ता बस्दा पनि भंग भएपछि त्यहाँ हाल्ने कुरा भएन, एमालेले सहयोग गर्छु भनेर धोखा दिएको कारणले विकल्प त्यही भयो ।

– तनहुँ १ मा तपाईंहरुको समूहको मत कति छ ?

बुबा (गोविन्दराज) वा म आफैं चुनाव उठे भने यहाँ हाम्रो १० हजार मत छ । त्यसमध्ये पनि जित्ने भए दिने नभए किन दिने भन्नेहरु पनि हुन्छन् । तर, ७ हजार मत चाहिँ जो उठे पनि आउने हाम्रो मत छ । बुबा पदमा नरहनुभएको त धेरै भयो । तर, उहाँको व्यक्तिगत भोट अझै कायम नै छ । त्यसैले हामी आफैं उठेको अवस्थामा सात हजारभन्दा कम भोट आउँदैन ।

– सात हजार मत रहेको दाबी गर्नुभयो। अहिले स्वर्णिम वाग्लेलाई कति मत जाने आँकलन गर्नुभएको छ ?

पछिल्लो चुनावी उत्साहलाई हेर्दा ६ हजारभन्दा धेरै मत हाम्रो समूहबाट जाने देख्छु ।

– रास्वपालाई सघाउन तपाईंहरु तयार हुँदा गोविन्दराज (बुबा)को प्रतिक्रिया कस्तो रह्यो ?

चुनावको बेलामा धेरै राजनीतिक निर्णय हुन्छन् । तर, बुबा राजनीति गर्ने व्यक्ति भएकाले व्यक्तिलाई सपोर्ट गर्ने कि पार्टीलाई भन्ने त हुन्छ नै । बुबाको राजनीतिक एजेण्डा अर्कै छ । तर, स्वर्णिम व्यक्तिगत रुपमा पनि राम्रो उम्मेदवार हुनुहुन्छ । पहिला म पनि स्वतन्त्र नै उठेको हुँ । त्यही भएर अहिले स्वतन्त्र पार्टीबाट स्वर्णिम आउँदा सहयोग गरौं भन्ने नै छ ।

– चुनावपछि रास्वपामै ‘ज्वाइन’ हुने सहमति गर्नुभएको त होइन ?

पार्टीगत रुपमा त हाम्रो कुनै सहमति भएको छैन । कांग्रेसले विभिन्न प्रलोभन देखाएको थियो । मलाई नै केन्द्रीय सदस्य दिन्छु भनेर पनि आएका थिए । तिनीहरुको नाम अहिले नभनौं । त्यसैले अहिले चुनावको अवसरमा भागबन्डा र सहमति गरौं भन्नेमा हामी छैनौं । चुनाव त अहिलेमात्रै होइन।

पाँच वर्षपछि फेरि आइहाल्छ । त्यसमा हामीले सहकार्य गरेर जाने भन्ने केही सोचेका छैनौं । तर, भोटको लागि मात्रै गिभ एण्ड टेक गर्नुहुन्न भन्ने हाम्रो मान्यता छ । नेपाली कांग्रेसले केन्द्रीय सदस्य दिएको थियो तिमीहरुले के दिन्छौं भन्नेखालको कुरा भएको छैन ।

– स्वर्णिम पनि पूर्वकांग्रेस भएकाले चुनावी माहोल सहजै फर्किएको हो ?

त्यो पनि एउटा पाटो भयो । हाम्रो समूह पनि कांग्रेसकै हो नि ! कांग्रेसले हामीलाई पेलेको भयो । उहाँ पनि पेलिएरै वा कांग्रेसबाट अवसर नपाएर आएको भन्ने भएर प्लस प्वाइन्ट त्यो पनि भएको देखिन्छ । रास्वपाको पछिल्लो समय आफ्नै छवि छ । तर, रास्वपाबाट स्वर्णिम उठ्दैगर्दा पनि हाम्रा मान्छेहरुलाई सहयोग गर्न सहज भएको छ ।

– भनेपछि पूर्वकांग्रेस भएकाले कांग्रेसकै भोट पनि काट्ने सम्भावना होला नि ?

स्वर्णिमको जीतको आधार भन्नु नै कांग्रेसको भोट काट्नु हो । कांग्रेसको भोट कति काट्छ भन्ने निश्चित भएको छैन । हाम्रो समूहको भोट जाने पनि निश्चित भइहाल्यो । उहाँहरुले कांग्रेसको मात्रै नभएर एमालेको पनि भोट काट्ने देख्छु। एमालेको पनि दुई-तीन हजार भोट लिने अहिलेको माहोलले देखिएको छ । कांग्रेसबाट २०-२५ प्रतिशत भोट काट्यो भने जीत सहजै हुन्छ ।

कारबाही फुकुवा गरेको भनेर केन्द्रीय समितिको बैठकबाट निर्णय भएको छैन । सम्बन्धित निकायबाट अहिलेसम्म कुनै जानकारी आएको छैन । त्यो भनेको कांग्रेसको चुनावी हत्कण्डामात्रै हो । एउटै व्यक्तिलाई दुई चोटि कारबाही कसरी फुकुवा हुन्छ ?

– स्वर्णिम र एमालेको उम्मेदवार तनहुँका जनतासँग धेरै घुलमिल नभएका छन् । तर, गोविन्द भट्टराई त स्थानीय हुनुहुन्छ । त्यसले केही फरक पार्ला कि ?

त्यसरी हेर्नै मिल्दैन । त्यस्तै कुरा गर्ने हो भने तनहुँबाट गत निर्वाचनमा किसान बारामा गएको थियो, त्यहाँ हार्नुपर्थ्यो नि ! आफ्नो जिल्लाबाट अन्त जिल्लामा गएकालाई जिताइदेओस् भन्ने अनि अरु जिल्लाबाट आफ्नोमा आउँदा टुरिष्ट उम्मेदवार भन्नै मिल्दैन नि !

राजनीतिमा एजेण्डा राम्रो नराम्रो भन्ने छलफलको विषय बन्ला । तर, नेपाली कांग्रेस यस्तो पार्टी हो, २०१५ सालको चुनावपछि २०२१ सालमा चुनाव भएको भए विश्वेश्वरप्रसाद कोइराला पहाडको मान्छे तराईंमा, तराईंको मान्छे पहाडमा चुनाव लडाउनुपर्छ भन्नुहुन्थ्यो । त्यही पार्टीबाट आफ्ना उम्मेदवारहरु अन्य जिल्लामा गएर लडेका छन् । त्यसलाई टुरिष्ट भनेर भएन नि !

त्यसो भन्दा त अरु जिल्लाका उम्मेदवारलाई जिताएका मतदातालाई बेवकुफ भन्ने भान हुँदैन र ? अहिलेको जमानामा नेपालकै विकास गर्छु भनेर हिँडेको मान्छेलाई जिताउन हुँदैन भन्ने मान्यता हाम्रो छैन। जुनसुकै पार्टीका योग्य व्यक्तिले देशका जहाँबाट पनि चुनाव जित्ने वातावरण बनाउनुपर्छ ।

– कांग्रेससँग वार्ताको लागि तपाईं आफैं लाग्नुभएको थियो । अहिले कारबाही पनि फुकुवा गरिसकेको छ । खास नमिलेको कुरा चाहिँ के हो ?

कारबाही फुकुवा गरेको भनेर केन्द्रीय समितिको बैठकबाट निर्णय भएको छैन । सम्बन्धित निकायबाट अहिलेसम्म कुनै जानकारी आएको छैन । त्यो भनेको कांग्रेसको चुनावी हत्कण्डामात्रै हो । एउटै व्यक्तिलाई दुई चोटि कारबाही कसरी फुकुवा हुन्छ ? अस्तिको चुनावमा पार्टीमा विद्रोह गरेकाहरु तनहुँ, चितवन र बारामा मात्रै छन् ? कारबाहीमा परेका सबैको फुकुवा गर्‍यौं भन्न नसक्ने ? अनि चुनावका लागि मात्रै हेरेर गरेको निर्णय स्वीकार्न सकेनौं।

हामीले पार्टी सुदृढीकरण गर्न २०४६ सालभन्दा पछिका सबैलाई बोलाएर मिलाउनुपर्छ भनेका छाैं । तर, उहाँहरुलाई पार्टी बनाउने इच्छा छैन । कांग्रेसभित्र एउटा गुट छ । त्यसले नै पार्टी चलाउने हो । हाम्रो इच्छा कांग्रेसमै फर्किने पनि होइन । उहाँहरुले नै प्रस्ताव गर्नुभएकाले हामीले एकदुई चरण वार्ता गरेकोमात्रै हौं ।

– कांग्रेससँग कुरा मिलेन अहिले स्वर्णिमलाई मत हालेपछि आगामी दिनमा रास्वपातिर ढल्कने सम्भावना कतिको छ ?

राजनीतिमा सम्भावना नहुने त केही पनि छैन । राजनीति भनेकै सम्भावनाको खेल हो । तर, जतिबेला आवश्यक भयो त्यतिबेला मात्रै खेल खेल्न हुँदैन भन्नेमा छौं । यो चुनावपछि कांग्रेसको स्थिति कस्तो हुन्छ ? १० वर्षपछि कस्तो हुन्छ ? भनेर बृहत रुपमा छलफल गर्‍यो भने कांग्रेससँग आश राख्ने मान्छेहरु कतै जाँदैन । तर, त्यो उहाँहरुले गर्नुहुन्न । अहिले चुनाव हार्नुभयो भने अर्को चुनावका लागि फेरि अर्को पासो थाप्नुहुन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर