सिरहामा नगरपालिका ताेडफाेड गर्न पुगेका प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा हवाई फायर – Nepal Press

सिरहामा नगरपालिका ताेडफाेड गर्न पुगेका प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा हवाई फायर

जनकपुरधाम । सिरहाको मिर्चैया नगरपालिका घेराउ गर्न पुगेका स्थानीय र प्रहरीबीच झडप भएको छ ।

नगरपालिका कार्यालय भित्र प्रदर्शनकारी प्रवेश गर्न खोज्दा प्रहरीले रोकेको थियो । सो क्रममा प्रदर्शनकारीले नगरपालिका कार्यालयमा ढुंगामुढा गर्न थालेपछि प्रहरीले हस्तक्षेप गरेका छन् ।

प्रहरीले स्थिति नियन्त्रणमा लिन सुरुमा लाठीचार्ज गरे । तर प्रदर्शनकारी ठूलो संख्यामा रहेकाले प्रहरीलाई स्थिति नियन्त्रणमा लिन हम्मेहम्मे परेको थियो । त्यसपछि प्रहरीले दर्जनौं सेल आश्रुग्यास र हवाई फायर गरेका छन् ।

झडपपछि आक्रोशित स्थानीय प्रदर्शनकारीले नगरपालिका कार्यालय र मेयर श्रवणकुमार यादव चढ्ने सवारी पनि तोडफोड गरेका छन् । झडपमा करिब २० जना प्रदर्शनकारी घाइते भएको स्थानीय हरिकिशोर साहले जानकारी दिए ।

सिरहाका प्रहरी प्रमुख एसपी टेकुनन्द इबालिम्बुले प्रदर्शनकारीले गरेको ढुंगामुढाबाट ५ जना प्रहरी घाइते भएको जानकारी दिए । उनका अनुसार नगरपालिकाकामा तोडफोड गर्न नदिएपछि प्रदर्शनकारी वितण्डा मच्चाएका छन् ।

सडक विस्तारको नाममा घर तोडफोड गरेको, मनोमानी तरिकाले नगरपालिका चलाएको, आफ्नो आसेपासेको नाममा पोखरीको जमिन कित्ताकाट गर्न लगाएको लगायतको आरोप लगाउँदै केही दिनदेखि निरन्तर बजार क्षेत्रका स्थानीयले प्रदर्शन गरिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर