१०० जना व्यवसायीहरुले मुलुक चलाएका छन् : महासंघ पूर्वअध्यक्ष कटुवाल (भिडिओ) – Nepal Press

१०० जना व्यवसायीहरुले मुलुक चलाएका छन् : महासंघ पूर्वअध्यक्ष कटुवाल (भिडिओ)

शहरी क्षेत्रमा व्यापारका लागि प्रयोग भइरहेका ४० प्रतिशत सटर खाली

काठमाडौं । अर्थतन्त्रमा देखिएको समस्याले व्यावसायिक मन्दी हुँदा सहरी क्षेत्रमा व्यापारिक प्रयोजनमा प्रयोग भइरहेका ४० प्रतिशत सटरहरु खालि भएका छन् ।

पछिल्लो समय आर्थिक संकट तथा बैंकको ब्याजदर उच्च रुपमा वृद्धि हुँदा व्यवसाय चलाउन नसक्दा व्यवसायीहरु पलायन हुने क्रम बढेसँगै शहरी क्षेत्रमा व्यवसायिक सटर तथा गोदामहरु धमाधम खाली हुन थालेका हुन् ।

बजारमा देखिएको बैंकिङ तरलताको कारण व्यापार व्यवसाय उत्साहजनक छैन । उनीहरुले मुख्य शहरी क्षेत्रसँगै भित्री बस्तीमा सञ्चालन भएका सटर तथा पसल बन्द भएको बताए ।

व्यवसायीहरुले आर्थिक गतिविधि नियमित नहुँदा व्यापार व्यवसाय चल्न छोडे पनि सरकारले व्यवसायीहरुको माग सम्बोधन गर्न सक्दा व्यवसायीहरुले पसल नै बन्द गरेर बस्न बाध्य भएको बताए ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघका पूर्वअध्यक्ष नरेश कटुवालले पछिल्लोे समय आर्थिक गतिविधि सुस्त हुँदा व्यापार व्यवसायबाट पलायन हुनेको सख्या दिनप्रतिदिन बढ्दै गएको बताए ।

उनले बिहीबार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै घरधनीको भाडा वृद्धि, बैंकको उच्च ब्याजदर, ऋणको किस्ता तिर्न नसक्दा ३५ देखि ४० प्रतिशत व्यवसायीक सटरहरु खाली भएको बताए ।

उनले व्यापार राम्रोसँग नहुँदा बालबच्चा पढाउन नसक्ने अवस्थामा पुगेपछि धेरै जना व्यवसाय छोडेर वैदेशिक रोजगारीमा गएकाले पनि सटरहरु खाली हुने अवस्था आएको बताए ।

उनले खाद्य किरानासँगै अत्यावश्यक व्यवसाय चलेपनि अन्य व्यवसायमा कारोबार न्युन रहेको भन्दै सरकारले तत्काल अहिलेको समस्या समाधान गर्न आवश्यक रहेको बताए ।

पूर्वअध्यक्ष कटुवालले घर भाडा घट्ने भन्दा पनि प्रत्येक वर्ष १० प्रतिशतका दरले बढ्ने गरेको गुनासो गरे । उनले प्रत्येक दुई वर्षमा २० प्रतिशतले भाडा वृद्धि हुने लिखित सम्झौता नै हुने गरेकाले व्यवसायीहरु मारमा परेको बताए ।

उनले प्रधानमन्त्री स्वयंले बैंकको ब्याजदर एकल अंकमा ल्याउने भनेर बोले पनि व्यवहारमा ल्याउन नसकेको उल्लेख गरे । उनले सरकारले निजी क्षेत्रलाई अनकुल हुने बोल्ड निर्णय गर्नु आवश्यक रहेको बताए ।

उनले सरकारले निजी क्षेत्र भनेर केही व्यवसायीहरुलाई मात्रै बोलाउने गरेको भन्दै वास्तविक पीडित व्यवसायीहरु सरकारको नजरमा कहिल्यै नपरेको बताए । उनले लगातार रुपमा सटर खालि हुनुको मुख्य कारण कोरोना महामारी भएको बताए ।

उनले १०० जना व्यवसायीहरुको हातमा मुलुकको अर्थतन्त्र रहेको भन्दै उनीहरुको हातमा बैंक, लघुवित्त, बीमा कम्पनी, ठूला उद्योग, राजनीतिक दल र सरकारलाई मुठीमा हुँदा समस्या रहँदै आएको बताए ।

पछिल्लो समय सटर खाली गरेर व्यवसायीहरु पलायन हुनुको मुख्य कारण घर भाडा लगातार रुपमा वृद्धि हुनु,घर भाडा घट्ने भन्दा पनि प्रत्येक वर्ष १० प्रतिशतका दरले बढ्ने गरेको छ । प्रत्येक दुई वर्षमा २० प्रतिशतले भाडा वृद्धि हुने लिखित सम्झौता नै हुने गरेको छ’, उनले भने, ‘बैंकको वृद्धि भएको ब्याजदर कम भएको छैन । प्रधानमन्त्री स्वयंले बैंकको ब्याजदर एकल अंकमा ल्याउने भनेर बोलेपनि व्यवहारमा ल्याउन सकेको देखिँदैन । यस्ता विविध कारणले ३५ देखि ४० प्रतिशत व्यवसायीक सटरहरु खालि भएका छन् ।’

जसका कारण घरधनीहरुलाई पनि अप्ठ्यारो स्थिति भएको उनले बताए । व्यापारी व्यवसायीहरु नरहे घरपनि भाडामा नलाग्ने भन्दै व्यवसायीहरुलाई सबैले बचाउन जरुरी रहेको कटुवालले बताए ।

‘अहिले आएको अवस्थालाई घरधनी, बैैक र सरकारले सोच्नुपर्छ । बैंकहरुले पनि ब्याजदर कम गर्नुपर्छ । बजारमा आएको आर्थिक सिथिलता तथा उच्च ब्याजदर र घरभाडा वृद्धिको कारण धेरै व्यवसायीहरु पलायन हुनुपरेको अवस्था छ’, उनले भने, ‘सरकारले निजी क्षेत्रलाई अनकुल हुने बोल्ड निर्णय गर्नुपर्छ । सरकारले नीजि क्षेत्र भनेर केही व्यवसायीहरुलाई मात्रै बोलाउने गर्छ । वास्तविक पीडित व्यवसायीहरु सरकारको नजरमा परेको देखिँदैन । लगातार रुपमा सटर खालि हुनुको मुख्य कारण कोरोना महामारी हो ।’

सरकारलाई समयमा नै यो अवस्था आउँछ भन्दा पनि बेवास्ता गर्दा अहिलेको अवस्था आएको उनको भनाइ छ ।

‘पछिल्लो समय अर्थतन्त्रमा समस्या हुनु बजारमा तरलता अभाव हुनु केही व्यवसायीहरुको नियन्त्रणमा अर्थतन्त्र चल्नु हो । १०० जना व्यवसायीहरुले मुलुक चलाएका छन्’, उनले भने, ‘उनीहरुको हातमा बैंक, लघुवित्त, बीमा कम्पनी, ठूला उद्योग, राजनीतिक दल र सरकारलाई मुठीमा राखेका छन् ।’

उनले राष्ट्रिय व्यवसायी महासंघ लगायतका संस्थाहरुले विगत १० वर्षदेखि वैज्ञानिक घरभाडादर लागू गर्नुपर्ने माग राख्दै आएपनि सरकारले सुनुवाई नगरेको आरोप लगाए । उनले वैज्ञानिक घरभाडादर लागू गर्नुपर्ने काम संघीय सरकारले स्थानीय सरकारलाई हस्ताणतरण गर्दा थप समस्या भएको बताए ।

उनले स्थानीय सरकारले वैज्ञानिक घरभाडा कायम गर्ने ऐन बनाउन पाउने व्यवस्था भएपनि अहिलेसम्म लागू हुन नसकेको बताए । उनले अहिले सटर खालि हुनुको मुख्य कारण पनि घरभाडा सम्बन्धि उचित ऐन नहुने भएको बताए ।

पूर्वअध्यक्ष कटुवालले अहिले १० करोड लगानी गरेर व्यवसायी खोल्ने व्यवसायीको घरबेटीले नचाहेमा ३५ दिनको मात्रै हुने भन्दै ३५ दिनमा घरबेटीले नचाहेको खण्डमा सम्झौता खारेज हुने अवस्था रहेको बताए । उनले सरकारले वैज्ञानिक घरभाडा सम्बन्धी संसदबाट ऐन बनाएर लागू गर्न आवश्यक रहेको जनाए ।

उनले अहिले घरधनीको आवश्यकता अनुसार भाडादर तोक्ने प्रचलन गरेको भन्दै ऐनको व्यवस्था गरे त्यसको अन्त्य गर्नु आवश्यक रहेको बताए ।

उनले काठमाडौं उपत्यकाका मुख्य व्यापारीक क्षेत्रको घरभाडा निर्धारण गर्न आवश्वयक रहेको बताए । उनले घरभाडा सम्बन्धि ऐनका विषयमा स्थानीय तहलाई जिम्मा दिएपनि स्थानीयले काम गर्न नसक्ने बताए ।

चारदेखि पाँच वटा सटर लिएर व्यवसाय गर्ने व्यवसायीले खर्च धान्न नसकेर दुईवटा सटरमा व्यवसाय गर्न थालेका छन् । पछिल्लो समय काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा ‘टुलेट’सहितका पोस्टर तथा होर्डिङ बोर्ड जताततै देखिन्छन् ।

काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न ठाउँमा आवास तथा व्यावसायिक प्रयोजनका लागि भनेर राखिएका ‘टुलेट’ पोस्टर हेरक घरमा देखिन थालेका छन् ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर