आज जितगढी उत्सव, अंग्रेजलाई जितेको दिन – Nepal Press

आज जितगढी उत्सव, अंग्रेजलाई जितेको दिन

रुपन्देही । अंग्रेजी सेनालाई पराजित गरेको इतिहास बोकेका क्षेत्र हो बुटवलको जितगढी । वि.सं.१८७२ वैशाख ७ गते भएको लडाइँमा नेपालसँग पराजित भई अंग्रेज सेना नेपालबाटै फर्किएको दिनलाई जितगढी विजयउत्सव दिवसका रूपमा मनाउन थालिएको हो ।

चुरे पर्वतको काख र तिनाउ खोलाको पश्चिम किनारमा रहेको जितगढी किल्ला १६ औं शताब्दीतिर सेनाकालमा निर्माण भएको मानिन्छ । वीरताको इतिहास बोके पनि खण्डहर बनेको किल्लाको संरक्षणको लागि वि.सं. २०५२ सालमा पुरातत्व विभागले गढीको पर्खालको बीच भागको उत्तरतर्फ उत्खनन् गर्दा पुरिएको पर्खालको पेटी भेटिएको थियो ।

तत्कालीन अंग्रेज साम्राज्यलाई परास्त गरेको बुटवलको जितगढी किल्ला ऐतिहासिक सम्पदा स्थलको रूपमा विकास भइरहेको छ । यसको इतिहास जोगाउन नेपाली सेनाले पनि अहिले निरन्तर साथ दिइरहेको छ । तत्कालीन समयको नेपाली सेनाको पैदलमार्गको स्मरण गर्दै नेपाली सेनाको पैदलयात्रा टोली गोरखाबाट पुरानो गढीहरु पछ्याउँदै आज जितगढी आउने छ ।

नेपाली सेनाको पैदलयात्री टोलीलाई बिहान १० बजे गणेश मन्दिरमा स्वागत गरिने बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले बताए । यो कार्यक्रममा राष्ट्रपति तथा प्रधानसेनापति आउने तय भएपनि राष्ट्रपति उपचारका लागि भारत गएकाले र उनी आफै यहाँ आउने चाहना राखेकाले तत्कालका लागि सेनाले पुनःनिर्माण गरेको गढीको हस्तान्तरण कार्यक्रम रोकिएको छ ।

युद्धमार्फत् आफ्नो साम्राज्य विस्तार गर्दै हिँडेको इष्ट इण्डिया कम्पनीसँग वि.स.१८७१ देखि ७२ सम्म भएको युद्धमा वीर नेपाली सेनाले यही क्षेत्रबाट विजय हासिल गरी अंग्रेस फौजलाई फिर्ता पठाएको इतिहास छ ।

१८७१ देखि १८७२ सम्म नेपाल÷अंग्रेजका बीचमा युद्ध भए । अमरसिंह थापा, बलभद्र कुँवर, भक्ति थापा नेतृत्वको नेपाली फौजले विभिन्न स्थानमा युद्ध लडे पनि जित हात पार्न सकेको थिएन । कुमाउ–गडवाल (नाहान), मकवानपुरगढी, कोसी–टिस्टा र बुटवल जितगढीमा अंग्रेज फौजसँग लडाइँ भयो ।

बुटवलमा भने नेपालले जित हासिल गरेको थियो । कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले अंग्रेज फौजमाथि विजय हासिल गरेको त्यही विरताको चिनो हो बुटवलको जितगढी किल्ला । जसले अहिले पनि नेपाल/अंग्रेज युद्धलाई सम्झाउँछ ।

बुटवल गढी कब्जा गरी तत्कालीन पाल्पा राज्य हान्ने र तिब्बतसम्म पुग्ने उद्देश्यका साथ अंग्रेज गभर्नर लर्ड हेस्टिङ्सको निर्देशनमा मेजर जेनेरल सुलिभान ऊड र कमाण्डर क्रोकरको नेतृत्वको अंग्रेज फौजलाई नेपाली सेनाले पराजित गरेको इतिहासका जानकार विमलबहादुर शाक्य बताउँछन् ।

जनरल ऊडकै नेतृत्वमा दुई पटक भएको आक्रमणमा बुटवलमा रहेको सेनकालीन दरबार ध्वस्त भए पनि किल्लाभित्र लुकेर रहेका नेपाली सेनाले अंग्रेज फौजमाथि आक्रमण गरी विजय प्राप्त गरेको थियो ।

शाक्यका अनुसार आधुनिक हतियारमा आएका अंग्रेज फौजलाई कर्णेल उजिरसिंह थापाको नेतृत्वको नेपाली फौजले पराजित गरेपछि बुटवलगढीको नाम जितगढी रहन गएको थियो । अहिले बुटवल उपमहानगरपालिकाले त्यही ऐतिहासिक महत्वलाई उजागर गर्दै पर्यटकीय स्थलको रूपमा विकास गर्न थालेपछि जितगढीको मुहार फेरिएको छ ।

गुरूयोजना बनाएरै जितगढीको विकासका लागि काम सुरू गरिएपछि दुई वर्ष पहिले नै कर्णेल उजिरसिंह थापाको ९ फिट उचाइको पूर्णकदको तामाको शालिक निर्माण र ५५ फिटको टावरमा राष्ट्रिय झण्डा फहराइएको छ । गढिकिल्लासम्म भएको अतिक्रमणलाई हटाएर बुटवल उपमहानगरपालिकाले जितगढीमा अंग्रेज फौजसँगको युद्धमा नेतृत्व गर्ने कर्णेल उजिरसिंह थापा र सहादत प्राप्त गर्ने १३ जना वीर नेपाली सैनिकहरूको शालिक निर्माण गरिएको छ ।

जितगढी किल्लाकै स्वरूपमा निर्माण गरिएको कलात्मक प्रवेशद्वारबाट भित्र प्रवेश गर्ने बित्तिकै बायाँतर्फ लस्करै १३ जना सैनिकहरूका अर्धकदका शालिक निर्माण गरिएका हुन् । उक्त लडाइँमा तत्कालीन लेफ्टिनेन्ट अम्बर अधिकारी, कुम्मेदान वृषसुर थापा र कृपासुर थापा, सरदार सूर्जे थापा, जमदार भीमसेन देउजा र सुरवीर बोहरा, हवलदार रणसुर बानिया, सिपाही हंसवीर अधिकारी, थरधर नकुल बानिया, दलखम्ब थापा, काजी वीरमञ्जन पाँडे, समशेर राना मगर र जुठे बस्नेतले विरगती प्राप्त गरेका थिए ।

शाक्यका अनुसार अंग्रेज सरकारको सेनाले अवैध सरकारलाई तिरो तिरेको प्रमाणका आधारमा तिब्बतसम्मको व्यापारिक नाका कब्जा गर्ने उद्देश्यका साथ बटौलीबाट आक्रमण सुरू गरेको थियो । जनरल सुलेमान र जनरल ऊडको नेतृत्वमा आएको अंग्रेज फौजलाई कर्णेल उजिरसिंह थापा मगरको कमाण्डको नेपाली सेनाले दुई पटकसम्म पराजित गर्दै भारतको गोरखपुरसम्म लखेटेको थियो ।

बुटवलको तिनाउ नदी किनारमा रहेको जितगढीमा तीन वटा गणबाट खटिएका नेपाली सेनाका फौजसँगको लडाइँमा ३ सयभन्दा बढी अंग्रेज सैनिकको मृत्यु भएको थियो । वीरतापूर्वक अंग्रेज फौजमाथि विजय प्रात गरेको सोही स्थानको संरक्षण र प्रवर्द्धनका लागि वीर योद्धाहरूको शालिक, वाटर फाउण्टेन र झिलिमिली बत्तीसहितको फूलबारी र नजिकै युद्ध संग्रहालयसमेत निर्माण भइरहेको छ । बुर्जा शैलीमा बनाइएको मूलगेटको डिजाइन राजा मणिमुकुन्द सेनको पालामा चलेको शैली हो ।

मध्यभागमा नेपालको झण्डा राखिएको गेटको दुवैतर्फ तोप राखिएका छन् । इतिहासविद्हरुले सरकारकै बेवास्ताको कारण केही वर्ष अघिसम्म अतिक्रमणमा परेको जितगढीलाई राष्ट्रिय स्वाभिमान र पहिचानसहित विकास गर्न माग गरिरहेका छन् ।

जितगढी सम्पदा स्थलको करिब दुई विगाह जग्गाको र त्यससँग महत्व जोडिएका अरू क्षेत्रहरू समेतलाई जोडेर उपमहानगरले गुरूयोजना यसअघि नै तयार गरेको छ ।

गुरूयोजनामा जितगढी युद्ध संग्रहालय, सूचना केन्द्र, पुरानो बुटवल (वडा नं १) लाई प्राचीन बजार र पुरातात्विक स्थलको रूपमा विकास गर्ने, जितगढीलाई मणिमुकुन्द सेन र नुवाकोट गढीसम्म जोड्ने योजना रहेको छ ।

यस्तो छ गढी

पाँच सय वर्गफिट इलाकामा फैलिएको यो गढी पूर्वपश्चिम लम्वाई २ सय ५ फिट छ र चौडाई करिब ५५ फिट रहेको छ । गढीको जग निकै फराकिलो छ र गढीको गारो क्रमशः माथितिर साँगुरो हुँदै गएको छ । गढीको भित्री भागबाट पर्खालको उचाई ४ फुट ३ इन्च र १० इन्च चौडा रहेको भित्ताको मोटाई ८ फुट ४ इन्च रहेको र गढीको भित्री भाग खुल्ला रहेको छ ।

करीव बाह्र लाखदेखि पन्ध्र लाख ईटा प्रयोग भएका र ईटाहरुका कोही १० इन्च वर्गाकारका तथा केही ईटाहरुको लम्बाई चौडाई क्रमशः ८.६ इन्च, ६ इन्च वाई २ इन्च रहेको छ । गढीको निर्माण शैली भने अन्य प्राचीन गढीहरु जस्तै छ । गढीको वरिपरि युद्ध गर्नको सुविधाको लागि विभिन्न किसिमका चरहरुको निर्माण गरिएको छ ।

पुरातात्विक र ऐतिहासिक महत्व बोकेको यो गढी १६ औं शताब्दीतिर सेनकालमा निर्माण भएको मानिएको छ । तिनाउ नदीको दायाँ किनारमा अवस्थित गढीको नामाकरण उजिरसिंह थापाको नेतृत्वमा रहेको फौजले पराक्रम र चलाखी देखाई यसै गढीमा बसेर कम्पनी सरकारको फौजलाई हराएकोले जितगढी भनिएको जनश्रुति रहेको छ ।

वि.सं. २०५२ सालमा पुरातत्व विभागले देशभरका गढीहरु संरक्षण गर्ने क्रममा गढीको पर्खालको बीच भागको उत्तरतर्फ एउटा ट्रायल ट्रिच लिंदा पुरिएको पर्खालको पेटी भेटिएको थियो । उजिरसिंहको समयभन्दा अघिदेखि नै गढीको अस्तित्व रहेको बताइएपनि यसको पुष्टि भने हुन सकेको छैन ।

आर्थिक वर्ष २०६९/०७० र ०७०/०७१ मा पुरातत्व विभागले दुईपटक उत्खनन गरेको थियो । उत्खनन्का क्रममा जितगढी परिसरभित्र प्राचीनता झल्किने वस्तु भेटिएपनि परिसर बाहिर भने खासै प्राचीन वस्तु भेटिएनन् । यसअघि २०५८ सालमा पनि बुटवल उपमहानगरपालिकाले पुरातत्व विभागबाट उत्खनन् गराएको थियो ।

नेपाल–अंग्रेज युद्धको पृष्ठभूमि र किल्लाको इतिहास

२१ पुस १८७१ देखि १८७२ सम्म नेपाल–अंग्रेजका बीचमा युद्ध भए । अमरसिंह थापा, बलभद्र कुँवर, भक्ति थापा नेतृत्वको नेपाली फौजले विभिन्न स्थानमा युद्ध लडेपनि जित हात पार्न सकेको थिएन । कुमाउ–गडवाल (नाहान), मकवानपुरगढी, कोशी–टिस्टा र बुटवल जितगढीमा अंग्रेज फौजसँग लडाई भयो ।

तर बुटवलमा भने नेपालले जित हासिल गरेको थियो । जनरल अक्टरलोनीको नेतृत्वमा पश्चिम नेपाल आक्रमण गर्ने, मेजर जनरल जिलेस्पीको नेतृत्वमा देहरादुन हुँदै गढवाल कब्जा गर्ने, जनरल उडको नेतृत्वमा पाल्पा–बुटवल हात पार्ने र जनरल मार्लेको नेतृत्वमा मकवानपुर कब्जा गर्ने गरी अंग्रेजले सेना पठाएको थियो ।

पाल्पा राज्य कब्जा गर्न गोरखपुरबाट जनरल उडको नेतृत्वमा अंग्रेज फौज नेपालतर्फ अघि बढेको थियो । अंग्रेज फौज जितगढी आइपुगेपछि नेपाली सेनासँग घमासान युद्ध भएको थियो । युद्धमा अंग्रेज टोलीले ठूलो क्षति बेहोरेर फिर्ता गएको थियो ।

जनरल उडकै नेतृत्वमा तीन महिनापछि फेरि उनीहरूले बुटवलमा आक्रमण गरे । आक्रमणबाट बुटवलमा रहेको सेनकालीन दरबार ध्वस्त भयो । दरबार ध्वस्त भए पनि किल्लाभित्र लुकेर रहेका नेपाली सेनाले अंग्रेजहरूमाथि आक्रमण गरे । यो लडाईंमा पनि नेपाली सेनाले प्रतिकार गरी अंग्रेजहरूलाई पराजित गरे । अंग्रेजतर्फ ठूलो क्षति भयो ।

पाल्पा बुटवल क्षेत्रको नेतृत्व गरेका कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले कुशल रणकौशल प्रदर्शन गरी अंग्रेज फौजमाथि ७ वैशाख १८७२ मा विजय हासिल ग¥यो । युद्धमा विजय हासिल गरेपछि उजिरसिंहले पाल्पामा विजयोत्सव मनाएका थिए । दुई सय वर्षअघिदेखि पाल्पाको तानसेनमा प्रत्येक वर्ष कृष्णजन्माष्टमीको भोलिपल्ट विजयोत्सव मनाइन्छ । जुन रणउजेश्वरी भगवती जात्राको नामले चिनिन्छ ।

भाद्र कृष्ण अष्टमीको साँझ जाग्राम बसेर भजनकिर्तन गर्ने र मध्यरातमा भगवतीको पुजाआजा गरी रथलाई तयारी अवस्थामा राखिन्छ । नवमीका दिन पूजा सकेपछि साइत हेरेर रथलाई जय जयकारको गुञ्जन ध्वनिसहित तीनपटक मन्दिर घुमाइन्छ । दिउँसो बली दिएपछि रथलाई उठाउने चलन छ । रथलाई तीन पटक घुमाएर ‘कर्णेली पूजा’ दिएपछि मात्र नगरपरिक्रमा गराइन्छ । रथलाई मन्दिर परिक्रमा गराइ कर्णेल उजिरसिंहको सम्झनामा पूजा दिने चलन छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर