चिया गफ विथ चौथाइवाले ‘सोल्टी’ – Nepal Press
ब्लग

चिया गफ विथ चौथाइवाले ‘सोल्टी’

काठमाडौं । ‘सोल्टीसँगको भेट कस्तो रह्यो त ?’ धनगढीको रुबुस होटल परिसरमा भएको ‘नेपाल भारत अन्तर्राष्ट्रिय मानसखण्ड सम्मेलन’को सत्रका नेपाली सहभागीले प्रश्न गरे । सोमबार बिहानको त्यो प्रश्नमा मैले केही बुझिनँ । प्रतिप्रश्न गरें, ‘को सोल्टी ?’ उनले हाँस्दै थपे, ‘भाउजूका भाइ सोल्टी होइन त ? आरजु भाउजूले राखी बाँधेर भाइ बनाएका चौथाइवाले हाम्रा सोल्टी हुन् ।’

यो ठट्यौली प्रश्न सकिएपछि हामी अडिटोरियम हलमा छिर्‍यौं । आरजु राणाले पनि सम्बोधन गरिन् । सम्बोधनमा उनले भारतीय सत्ताधारी दल बीजेपीका विदेश विभाग प्रमुख डाक्टर विजय चौथाइवालेलाई नेपाली भाषामा ‘भाइ’ नै भनेर सम्बोधन गरिन् । आरजुले राखी लगाएर बनाएको भाइ सम्बन्धमा चौथाइवाले खासै धेरै भावुक देखिएनन् । आरजुले माइकबाट ‘भाइ’ भन्दा उनी फिस्स हाँसे । बोल्दाबोल्दै आरजुले सुदूरपश्चिम प्रदेशका भारतसँग सीमा जोडिएका जिल्लाहरुमा सबैतिर पुल भएको तर डडेलधुरामा नभएको भन्दै भारतीय राजदूत नवीन श्रीवास्तवको ध्यानाकर्षण गरिन् । त्यो ध्यानाकर्षणमा पनि चौथाइवाले मुस्कुराए । पाँच पटक प्रधानमन्त्री भइसकेको नेताकी श्रीमती, बहालवाल सांसद तथा संसदको सबैभन्दा ठूलो दलकी सांसदले एक राजदूतलाई एक पुल बनाउन सार्वजनिक मञ्चमा गरेको आग्रह देखेर मुस्कुराएका होलान् ‘सोल्टी’ ।

चौथाइवाले सोमबार साँझको उडानमार्फत धनगढीबाट काठमाडौं आए । काठमाडौं आउनुभन्दा एक दिन अगाडि आइतबार साँझ सडकमार्गबाट भारतीय राज्य उत्तराखण्डको सीमा पार गरेर महेन्द्रनगर हुँदै धनगढी आएका चौथाइवालेसँग सोमबार हाम्रो दोहोरो कुराकानी भयो । योजनाबद्ध कार्यक्रम नभएर बिहानको चिया नास्ताको समयमा होटलको हलमा उनीसँग कुरा हुने समय जुर्‍यो ।

एक प्रजातान्त्रिक देशको कूटनीतिमा सत्ताधारी दलको विदेश विभाग प्रमुखको भ्रमणले अर्थ नराख्नुपर्ने हो । तर, चौथाइवालेको भ्रमणले अर्थ राख्छ । बीजेपीले कर्मचारीतन्त्रभन्दा आफ्नो दलकै कूटनीतिमा बढी विश्वास गर्दै आएको छ । विश्वको दक्षिणी गोलार्द्धको सभ्यता शक्तिको रुपमा आफूलाई उभ्याउने बीजेपी पार्टी लाइनले पनि कर्मचारीतन्त्रको होइन दलकै स्थायी प्रकृतिको सम्बन्ध बनाउन चाहेको देखिन्छ । चौथाइवालेको भारतीय विदेशमन्त्री एस जयशंकरदेखि प्रधानमन्त्री मोदीसम्मको निकट उठबसले त्यसलाई बुझ्न थप सजिलो बनाइदिएको छ ।

बीजेपी अहिले विश्वको सबैभन्दा ठूलो दल हो । स्थापनाको चार दशक भएको बीजेपीका अहिले १८ करोड बढी सदस्य छन् । बीजेपीपछिको दोस्रो ठूलो दल चिनियाँ कम्युनिष्ट पार्टी हो, जसका सदस्य १० करोड हाराहारी छन् । भारतको सत्ताधारी कोणमा मात्रै होइन विश्वको सबैभन्दा ठूलो दलको विदेश विभाग प्रमुख तथा विश्वको पाँचौं ठूलो अर्थतन्त्र भएको देशको प्रभावशाली नेताको रुपमा पनि चौथाइवालेको महत्व छ । त्यही महत्व बुझेर उनका कुरा सुन्न र बुझ्न हामी तयार थियौं ।

आरजुले सुदूरपश्चिम प्रदेशका भारतसँग सीमा जोडिएका जिल्लाहरुमा सबैतिर पुल भएको तर डडेलधुरामा नभएको भन्दै भारतीय राजदूत नवीन श्रीवास्तवको ध्यानाकर्षण गरिन् । त्यो ध्यानाकर्षणमा पनि चौथाइवाले मुस्कुराए । पाँच पटक प्रधानमन्त्री भइसकेको नेताकी श्रीमती, बहालवाल सांसद तथा संसदको सबैभन्दा ठूलो दलकी सांसदले एक राजदूतलाई एक पुल बनाउन सार्वजनिक मञ्चमा गरेको आग्रह देखेर मुस्कुराएका होलान् ‘सोल्टी’ ।

आजतकका पंकज दासले धेरै समय नभए पनि खाजा खाँदाखाँदै कुरा गर्न सकिन्छ भन्ने संकेत गरेपछि हामीले टेबल चेन्ज गर्‍यौं । लोकान्तरका विन्देश दाहाल, अर्थ टीभीका रञ्जन झा, हिमालय टाइम्सका बालाकृष्ण शाह, राससका हेमन्त जोशीलगायतले टेबल परिवर्तन गर्‍यौं र चौथाइवाले बसेको टेबलमा आयौं । लगत्तै नमस्ते साटफेरपछि कुरा सुरु भयो । बालाले कुराकानी रेकर्ड गर्न प्रस्ताव गर्दा चौथाइवालेले मानेनन् । तर, कुराकानीलाई आधार बनाएर सामग्री लेख्नमा भने उनी माने ।

पंकज दासले संकेत गरेको ‘थोरै समय’लाई ख्याल गर्दै म प्रश्न सोध्न हतारिएँ । सोधें, ‘यो पटक काठमाडौं जान दिल्लीबाट काठमाडौं हवाई यात्रा नगरेर किन सडक मार्गबाट उत्तराखण्ड हुँदै सुदूरपश्चिम आएर काठमाडौं जाने रुट रोज्नुभयो ?’

आफूले उत्तराखण्डको विकास र नेपालसँगको सडक सञ्जाल हेर्दै आउन फरक रुट लिएको चौथाइवालेले बताए । महेन्द्रनगरबाट सुरु भएको चौडा सडकले आफूलाई आकर्षित गरेको उनले सुनाए । यात्राबारेमा कुरा गरेपछि अब भारतीय मुद्दाको कुरा सुरु भयो ।

‘मैले एस. जयशंकरको पुस्तक दि इन्डिया वे हेरे, उनले जर्मनीमा भएको म्युनिक सेक्युरिटी कन्फ्रेन्सको भाषण हेरें । हालसालै राइसिना डाइलग पनि हेरें । अहिले इन्डियाको आत्मवल व्यापक बढेको देख्छु । तपाईंहरुको कूटनीतिमा यति आत्मबल हुनुको कारण के हो ?’

यसमा चौथाइवालेले तीन कारण भने । एक, भारतको बलियो सरकार र सरकारको बलियो दल बीजेपी । दुई, जयशंकर जस्ता कूटनीतिका काबिल अनुहार विदेशमन्त्री हुनु । तीन, मोदीले काममा भरपुर सहयोग गर्नु । हौसला दिनु । कूटनीतिमा भारतले कांग्रेस नेतृत्वको सरकारले भन्दा फड्को मारेको तर्क दिँदै चौथाइवालेले पहिले भारतीय विदेशमन्त्रीले संयुक्त राष्ट्रसंघमा आफ्नो भाषण पढ्नुपर्नेमा पूर्ववक्ताको पढेर बेइज्जत गरेको जस्तो अब नहुने बताए । सन् २०११ मा तत्कालीन भारतीय विदेशमन्त्री एसएम कृष्णाले आफ्नो भाषण नपढेर पोर्चुगलका मन्त्रीको भाषण पढेका थिए ।

मोदी र जयशंकरमात्रै होइन भारतीय क्याबिनेटको टीम स्पिरिट एकदमै राम्रो भएको उनले बताए । ‘कहिले म विश्वको एक कुनामा हुँदा जयशंकर अर्को कुनामा हुनुहुन्छ । तर, कुनै काम पर्दा सीधै सम्पर्कमा कुनै समस्या हुन्न’, चौथाइवालेले भने, ‘जयशंकर जतिबेला पनि कामका कुरामा तयार हुनुहुन्छ ।’

उनको आसय नेपाल-भारत सीमा तनाव किन सधैंलाई समाधान हुन्न भन्ने थियो । यो प्रश्नमा उनले यो जटिल समस्या भएको स्वीकारे । तर, हरेक स्थानीय समस्यामा दिल्लीको हात नभएको बताए । ‘कतिपय सीमा समस्या स्थानीय कारणले उत्पन्न हुन्छ । तर, दिल्लीले गराएको जस्तो हल्ला हुन्छ’, उनले भने, ‘सीमा यस्तो छ कि कतिपय घरको एक कोठा नेपाल अर्को कोठा भारतमा पर्छ ।’

जयशंकरमात्रै होइन मोदी र अरु सबै क्याबिनेट अनुहारहरु त्यही रफ्तार र लयको भएको उनले सुनाए । युक्रेनबाट अड्किएका भारतीयहरु ल्याउन रुस र युक्रेनको ४८ घण्टाको युद्धविरामदेखि त्यो काममा भएको सहजीकरणको उदाहरण दिँदै चौथाइवालेले कर्मचारीतन्त्रले दश वर्षमा गर्न सकिने भनेको करोडौं भारतीयको बैंक खाताको काम एकै वर्षमा सकिएको तर्क गरे । मन्त्रालयका काममा मन्त्रीहरु १६ घण्टासम्म खट्ने उनले सुनाए ।

पाकिस्तानको विरोध पहिले जस्तो धेरै भारतीय मञ्चहरुमा हुन छाडेको छ । किन यस्तो भन्ने प्रश्नमा उनले भने, ‘भारत अब पाकिस्तानको प्रतिस्पर्धाभन्दा धेरै पर गइसक्यो । पाकिस्तान समस्या त हो । तर, धेरै चर्चाको विषय होइन । पाकिस्तानबाहेक सबै छिमेकीहरुसँग भारतको सम्बन्ध राम्रो छ ।’

रञ्जन झाले नेपाल र भारत देशको रुपमा आउनुभन्दा अगाडिबाट दुई क्षेत्रका नागरिकहरुको सम्बन्ध भएको तर अहिले राजनीतिमा त्योस्तरको आउन किन सकेन भनेर प्रश्न गरे । उनको आसय नेपाल-भारत सीमा तनाव किन सधैंलाई समाधान हुन्न भन्ने थियो । यो प्रश्नमा उनले यो जटिल समस्या भएको स्वीकारे । तर, हरेक स्थानीय समस्यामा दिल्लीको हात नभएको बताए । ‘कतिपय सीमा समस्या स्थानीय कारणले उत्पन्न हुन्छ । तर, दिल्लीले गराएको जस्तो हल्ला हुन्छ’, उनले भने, ‘सीमा यस्तो छ कि कतिपय घरको एक कोठा नेपाल अर्को कोठा भारतमा पर्छ ।’

नेपाल-भारतको राजनीतिक सम्बन्धमा कर्मचारीतन्त्र हावी भएको छ कि छैन भन्ने प्रश्नमा उनले अहिले नेपाल-भारत सम्बन्धमा राजनीतिकस्तर सबैभन्दा राम्रो भएको बताए । ‘मोदी नेपालप्रति व्यक्तिगत रुपमै इच्छुक हुनुहुन्छ । अहिले भारतीय जनता पार्टीले पार्टीस्तरको सम्बन्धमा काम गरेको छ । त्यसैले कर्मचारीतन्त्र हावी हुने ठाउँ नै छैन’, उनको दाबी थियो ।

कांग्रेस नेताहरुदेखि प्रचण्डसम्मको बीजेपी निमन्त्रणाको कार्यक्रम भएको भन्दै उनले अरु देशका प्रमुख नेताहरुलाई पनि क्रमशः बीजेपी मुख्यालयमा बोलावट हुने बताए । सुरुमा तीन पत्रकारसँग मात्रै कुराकानी भइरहेकोमा आधा घण्टा हाराहारी पुग्न लाग्दा अरु पत्रकार थपिए । अनलाइनखबरका दिपेश शाही, नेपाल टेलिभिजनका डीपी उपाध्यायलगायत थपिए । प्रश्नहरु पनि थपिए ।

पार्टीहरुको कुरा आएपछि बाला शाहले सोधिहाले, ‘अहिले नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी आएका छन् । यसलाई कसरी लिनुहुन्छ ?’ यसमा उनले धेरै टिप्पणी गरेनन् । ‘साेल्टी’ चाैथाइवालेले भने, ‘यो नेपालको आन्तरिक राजनीतिक कुरा हो । मैले के भन्नु र ?’

कुराकानीको रफ्तारमा रौनक आइरहेको थियो । पंकज दासले भनेको ‘थोरै समय’ भन्दा धेरै कुराकानी भयो । ४० मिनेट बढी दोहोरो कुराकानी भइसकेको थियो । आयोजकले हलमा कार्यक्रम सुरु हुन लागेको संकेत गरे ।

समय छोटिएसँगै मैले बसाइको अन्तिम प्रश्न गरें, ‘तपाईंले नेपालका सबैजसो दलका प्रमुखहरुसँग व्यक्तिगत भेटघाट र दोहोरो कुराकानी गर्नुभएको छ । त्यो कुराकानीमा सबैभन्दा राम्रो प्रस्तुति कसको हुन्छ ?’

यो प्रश्नको उत्तरमा उनी त्यसरी नै मुस्कुराए, जसरी आरजु राणाले राजदूतसँग डडेल्धुराको पुल बनाउन आग्रह गर्दा मुस्कुराएका थिए ।


प्रतिक्रिया

One thought on “चिया गफ विथ चौथाइवाले ‘सोल्टी’

Leave a Reply

Your email address will not be published. Required fields are marked *