तानसेनको दरबार संग्रहालयभित्रका घरटहरा हटाइयो – Nepal Press

तानसेनको दरबार संग्रहालयभित्रका घरटहरा हटाइयो

रुपन्देही । पाल्पाको तानसेन नगरपालिकाले दरवार संग्रहालय परिसरभित्रका घरटहरा भत्काएको छ ।

३ वटा डोजर प्रयोग गरी तानसेन नगरपालिकाले दरवार परिसरमा रहेका पसलहरु भत्काएको हो । पाल्पा दरबार परिसरलाई विश्व सम्पदा सूचीमा पार्न, दरबारलाई पुरानै मौलिकतामा राख्न, बृहत गुरुयोजना अनुसार तानसेन नगरपालिकाले पहिलो चरणमा परिसर क्षेत्रका ५७ घर टहरा भत्काएको जनाएको छ ।

पाल्पा दरबार संग्रहालय परिसरमा तानसेन नगरपालिकाले निर्माण गरेका १२ वटा पसल, घरेलु शिल्पकला बिक्री भण्डारका १३ वटा पसल, रेडक्रस पाल्पा शाखाका ३ वटा पसल, नेपाल बाल संगठनको १ वटा, कर्मचारी मिलन केन्द्रका ३ वटा, राणाकालीन समयदेखि प्रयोग हुदै आएका २४ वटा सटर गरी ५७ वटा सटरहरु सरकारी जग्गा निर्माण गरी स्थानीयवासीले व्यापार व्यवसाय गर्दै आएका थिए ।

दुई चार दिनभित्रै संरचना पूर्ण रुपमा हटाएर सरसफाई गरी दरवारको पुरानै स्वरुप कायम गरिने प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले बताएका छन् । दरबार परिसरभित्र जिल्ला समन्वय समिति, वाल संगठन, जिल्ला प्रहरी कार्यालय, राष्ट्रिय अनुसन्धान, नेपाल विधुत प्राधिकरण, नेपाल टेलिकम र जिल्ला प्रशासन कार्यालय रहेका छन् ।

दरवार परिसरभित्र प्रवेश गर्ने मूल ढोका २०६२ माघ १८ को तत्कालीन विद्रोही माओवादी आक्रमणमा क्षति भएको थियो । क्षति भएको दरबारको मूल ढोका मर्मत गर्न पुरातत्व विभागले दरवार परिसरका व्यापारिक पसलहरु हटाउन भन्दै २०७९ साल माघ १० गते नगरपालिकालाई पत्राचार गरेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *