महासंघका नवनिर्वाचित पदाधिकारी र गभर्नरबीच छलफल, व्याजदर घटाउन राष्ट्र बैंक सकारात्मक – Nepal Press

महासंघका नवनिर्वाचित पदाधिकारी र गभर्नरबीच छलफल, व्याजदर घटाउन राष्ट्र बैंक सकारात्मक

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको नवनिर्वाचित पदाधिकारी एवं कार्यकारिणी समिति सम्मिलित प्रतिनिधिमण्डलले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग वर्तमान अर्थतन्त्रका समस्या र समाधानका उपायबारे छलफल गरेको छ ।

नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा भएको छलफलमा महासंघका अध्यक्ष ढकालले न्यून माग र उच्च मूल्यवृद्धिका कारण नेपालको अर्थतन्त्र समस्यामा रहेकाले केन्द्रीय बैंकले समाधानका उपाय अवलम्बन गर्न आवश्यक रहेको सुझाएका थिए ।

तरलता पर्याप्त हुँदाहुँदै पनि बजारमा माग नभएका कारण कर्जा प्रवाह हुन नसकेको उनको भनाइ थियो ।

अध्यक्ष ढकालले राष्ट्र बैंकले उपलब्ध सबै उपकरण प्रयोग गरेर कर्जाको ब्याजदर घटाउनुपर्नेमा जोड दिए ।

निजी क्षेत्रमा देखिएको असहज परिस्थितिका कारण धेरै ऋणीहरुले कर्जाको साँवा ब्याज तिर्न नसक्ने अवस्था भएको हुँदा असार मसान्तसम्मका लागि कर्जा पुनर्संरचना र पुनर्तालिकीकरणको सुविधा दिन उनले गभर्नर अधिकारीसँग आग्रह गरेका थिए ।

बैंकहरुको खराब कर्जासमेत बढ्न सक्ने हुँदा उक्त सुविधा दिइनुपर्ने उनको भनाइ छ ।

छलफलमा गभर्नर अधिकारीले महासंघका सुझावलाई सकारात्मक रुपमा लिएर कार्यान्वयन गरिने आश्वासन दिए । उनले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा, बजेट र मौद्रिक नीतिमार्फत पनि महासंघका सुझावहरु समावेश गरिने जानकारी गराए ।

गभर्नर अधिकारीले अहिलेको अर्थतन्त्रका समस्या समाधान गर्न महासंघसँगको सहकार्य राष्ट्र बैंकका लागि पनि महत्वपूर्ण रहेको बताए ।

छलफलमा महासंघका नवनिर्वाचित पदाधिकारीहरु तथा कार्यकारिणी समितिका सदस्यहरुको सहभागिता थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर