एसीसी प्रिमियर कपमा ओमान र यूएई विजयी – Nepal Press

एसीसी प्रिमियर कपमा ओमान र यूएई विजयी

काठमाडौं । एसीसी प्रिमियर कपअन्तर्गत जारी खेलमा समूह ‘ए’ मा रहेको ओमान र समूह ‘बी’को यूएईले विजयी सुरुवात गरेका छन् ।

समूह ‘ए’ अन्तर्गत मूलपानी मैदानमा सम्पन्न खेलमा ओमानले कतारलाई ४० रनले पराजित गरेको छ । त्यस्तै त्रिवि क्रिकेट मैदानमा सम्पन्न समूह ‘बी’ को खेलमा यूएईले कुवेतविरुद्ध १४३ रनको सहज जीत निकालेको छ ।

टर हारेर पहिला ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३७२ रनको लक्ष्य कुवेतसामु प्रस्तुत गरेको थियो । जवाफमा कुवेतले ३६.।३ ओभरमा अलआउट हुँदै २२८ रनमात्रै बनायो ।

यूएईको जीतमा दुई ब्याटरले शतक प्रहार गरे । खेलको सुरुवातमा लगातार तीन विकेट गुमाएको यूएईका लागि भृत्य अर्विन्द र रोहन मुस्तफाले शतकीय पारी खेले ।

भृत्यले १४७ बल खेल्दै १७ चौका र ९ छक्काको मद्दतमा सर्वाधिक १८५ रन योगदान गरे । मुस्तफाले १२५ बलमा १० चौका र ४ छक्काको मद्दतमा ११८ रन बनाए । आसिफ खानले ९ बलमा २ चौका र ३ छक्का प्रहार गर्दै ३० रन बनाए ।

कुवेतको बलिङमा साहरुख उडुस र पर्विन्दर कुमारले समान दुईदुई विकेट लिँदा यासिन पटेल र सायद मानिबले एक–एक विकेट लिए ।

आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कपको ‘रोड म्याप’का रुपमा लिइएको यस प्रतियोगितामा नेपालसहित १० राष्ट्रको सहभागिता रहेको छ । हरेक पाँच राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ ।

प्रिमियर कपको समूह ‘ए’ मा नेपालसँगै ओमान, कतार, मलेसिया र साउदी अरब छन् । समूह ‘बी’ मा यूएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् । दुवै समूहका शीर्ष दुई टीमले सेमिफाइनल खेल्नेछन् । सेमिफाइनल वैशाख १६ गते र फाइनल वैशाख १८ गते टीयू क्रिकेट मैदानमा हुनेछ ।

प्रतियोगिताको विजेताले पाकिस्तानमा हुने एसिया कपमा भारत र पाकिस्तानको समूहमा रहेर खेल्न पाउनेछ । शीर्ष तीन टीमले जुलाईमा आयोजना हुने ‘एसीसी इमर्जिङ टिम्स’ एसिया कप खेल्न पाउनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर