व्यवस्था सुधार्न सबैसँग खुल्ला ढंगले बहस र सहकार्य गर्न तयार छौं : विप्लव (भिडिओ) – Nepal Press

व्यवस्था सुधार्न सबैसँग खुल्ला ढंगले बहस र सहकार्य गर्न तयार छौं : विप्लव (भिडिओ)

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले राजनीतिक व्यवस्था सुधार्न सबैसँग बहस र सहकार्य गर्न तयार रहेको बताएका छन् ।

जनप्रचार तथा प्रकाशन प्रालिद्वारा काठमाडौंमा बुधबार आयोजित राजनीतिक अस्थिरता, आर्थिक संकट र सञ्चारको दायित्व विषयक अन्तर्कृया तथा जनपत्रिका मासिकको लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लवले यस्तो बताएका हुन् ।

विप्लवले राष्ट्रिय परिस्थिति झन्झन् गहिरो र सकंटग्रस्त बन्दै गइरहेको भन्दै प्रगतिशील र क्रान्तिकारी शक्तिहरुसंग सहकार्य र छलफल गर्दै जाने बताएका हुन् । विप्लवले उक्त कार्यक्रममा मिडिया मालिकको नभएर जनताको हुनुपर्नेमा जोड दिए ।

विप्लवले नेपालमा राजतन्त्रविरुद्ध गणतन्त्रको आन्दोलन चलिरहेको बेला नेपाल पत्रकार महासंघले राजनीतिक दलहरू भन्दा अगाडि रहेर गणतन्त्रको निर्णय संस्थागत ढङ्गले गर्नु साहसिक निर्णय भएको समेत बताएर प्रशंसा गरेका थिए ।

महासचिव विप्लवले सूचना, सञ्चार र पत्रकारिताको सुरुवात नै प्रारम्भमा जनताको सेवाका लागि भएको थियो तर समाज वर्गमा विभाजित भएपछि नै पत्रकारिता पनि विभाजित हुन पुगेको बताउँदै अब सञ्चार नागरिकको आधारभुत आवश्यकता बन्दै गएको बताए ।

‘पञ्चायतकालदेखि नै नेपालको पत्रकारिता वा सञ्चार माध्यमहरु कुनै न कुनै रूपमा लडिरह्यो’, उनले भने, ‘जनयुद्धको समयमा पनि नेपालको पत्रकारिताले बिना पूर्वाग्रह सत्यतथ्य बाहिर ल्याउने काम गरेको थियो ।’

कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत,नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष एवम् प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्य र बिष्णु निष्ठुरी, नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले देशको समसामयिक अवस्था र नेपालका सञ्चार माध्यमहरुको दायित्वबारे मन्तव्य राखेका थिए ।

जनप्रचार तथा प्रकाशन प्रालिका निर्देशक अनिल शर्माको अध्यक्षता र प्रबन्धक धनराज शाहीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन जनपत्रिका राष्ट्रिय मासिकका प्रधानसम्पादक प्रकाश डुम्रेले गरेका थिए ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर