कोभिडको सङ्क्रमण बढेको भन्दै सतर्कता अपनाउन विराटनगर महानगरको अनुरोध – Nepal Press

कोभिडको सङ्क्रमण बढेको भन्दै सतर्कता अपनाउन विराटनगर महानगरको अनुरोध

विराटनगर । कोभिड–१९ को सङ्क्रमण पुनः बढ्न थालेपछि विराटनगर महानगरपालिकाले स्वास्थ्य मापदण्ड पालना गर्न महानगरवासीलाई आग्रह गरेको छ ।

महानगरपालिकाको तर्फबाट मेयर नागेश कोइरालाको निजी सचिवालयमार्फत जारी गरिएको अपिलमा कोरोनाको जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरिएको हो ।

कोभिड–१९ को बढ्दो सङ्क्रमणलाई रोकथाम तथा नियन्त्रणका लागि सीमा नाका (रानी भन्सार नाका)मा अटुट रूपमा एन्टिजेन्टको परीक्षण भइरहेको समेत अपिलमा उल्लेख छ ।

‘विराटनगर–१५ स्थित रानी अस्पताल, विराटनगर–५ स्थित आधारभूत स्वास्थ्य केन्द्र र विराटनगर–१९ स्थित वैजनाथपुर अस्पतालबाट पनि कोभिड–१९ परीक्षणको व्यवस्था मिलाइएको छ’, अपिलमा भनिएको छ, ‘उक्त स्वास्थ्य केन्द्रहरूबाट आवश्यक परेको अवस्थामा जुनसुकै बेला परीक्षण गर्न सकिने ब्यहोरा जानकारी गराउँदछौ ।’

केस इन्भेष्टिगेसन तथा कनट्र्याक्ट ट्रेसिङ, क्वारेन्टाइन, आइसोलेसन तथा स्वास्थ्यकर्मी परिचालनसहित आवश्यक सामग्रीको समेत व्यवस्था गरिएको महानगरले जनाएको छ ।

कोभिड–१९ को जस्तो मिल्दोजुल्दो लक्षण देखिएको खण्डमा नजिकको स्वास्थ्य केन्द्र सम्पर्क गर्नसमेत विज्ञप्तिमार्फत महानगरबासीमा अनुरोध गरिएको छ ।

‘कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि सबै तह र तप्काबाट प्रभावकारी भूमिका बढाउन संवेदनशील भई जनस्वास्थ्यको मापदण्डहरूको पालना गर्न गराउन र सम्भावित जोखिमबाट बच्न बचाउन विराटनगर महानगरपालिका सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर