‘बोलमाया’देखि ‘सकम्बरी’सम्म- यी हुन् प्रकाश सपूतका बहुचर्चित सात सांगीतिक सिर्जना – Nepal Press

‘बोलमाया’देखि ‘सकम्बरी’सम्म- यी हुन् प्रकाश सपूतका बहुचर्चित सात सांगीतिक सिर्जना

काठमाडौं । गायक प्रकाश सपूतको पछिल्लो सिर्जना ‘सकम्बरी’ अहिले चर्चा र विवादमा छ । युट्युबमा उर्लंदो भ्यूज र टिकटकमा यत्रतत्र सर्वत्र भएको गीतलाई लिएर विभिन्न किसिमका टीकाटिप्पणी भइरहेका छन् ।

सपूतको गीत आएर त्यसमाथि वादविवाद हुनु कुनै नौलो कुरा भने होइन । उनी विवादसँग अभ्यस्त भइसकेका गायक हुन् । संगीतमार्फत एउटा विचार प्रवाहको प्रयास गर्ने भएकाले उनले सबैलाई खुशी पार्न नसक्नु स्वाभाविकै हो । अहिलेको गीत ‘सकम्बरी’ मा उनी कतै न कतै चुकेकै छन् । यद्यपि, उनी आफ्नो तरिकाले बचाउ गरिरहेका छन् ।

संगीत मूलतः मनोरञ्जनको माध्यम हो । तर, यदि संगीतले खास विचार र मुद्दालाई पनि बोकेको छ भने त्यसले समाजमा नयाँ बहसको सिर्जना गर्नसक्छ । संगीतमार्फत वैचारिक मुद्दाको उठान गरेर बहसको तुफान सिर्जना गर्नु प्रकाश सपूतको खुबी हो ।

युट्युब रिलिजको २४ घन्टाभित्रै ट्रेन्डिङको शीर्षस्थानमा उक्लेको ‘सकम्बरी’ सर्वाधिक छिटो करोड क्लवको दौडमा पनि छ । पाँच दिनअघि मात्र रिलिज भएको गीतलाई यो समाचार लेख्दासम्म ८५ लाख पटक हेरिसकिएको छ ।

प्रकाश सपूत आफूले गाएका गीतको रचना र संगीतमात्र होइन, भिडियोको निर्देशनसमेत आफैंले गर्ने गर्छन् । अहिलेसम्म उनका गीतहरु हिट हुनुमा भिडियोको पनि ठूलो हात छ । अनि, हरेक गीतमा फरक ‘थिम’ र प्रस्तुतीकरण प्रकाश सपूतको अर्को विशेषता हो । उनी सिंगै चलचित्र बन्न सक्ने कथा एउटा गीतमा अटाइदिन्छन् ।

यहाँ हामी सपूतका ७ सिर्जनाहरुको चर्चा गर्दैछौं, जसले उनलाई संगीत क्षेत्रमा चिनाए र स्थापित गराए:

१. बोलमाया

प्रकाश सपूतलाई अलग पहिचानका साथ नेपाली संगीतमा स्थापित गराउने कालजयी गीत हो– बोलमाया । लोक धुन मिश्रित करुणरसमा गाइएको यो गीतमा शब्द, संगीत र स्वरको बेजोड संगम रहेको छ । २०७५ जेठ ४ गते सार्वजनिक भएको यो गीतमा प्रकाश सपूतसँगै नारायण रायमाझी र शान्तिश्री परियारले स्वर दिएका छन् ।

गीतका केही शब्द यस्ता छन्-

धन ल्याउँछु भन्दै गएका थियौ उडेर आकाशमा

कस्तो भइ गयौ कस्तो भइ आयौ काठैको बाकसमा

सँगै जाम स्वर्ग भनेको भए मै जाने थिइनँ र

जवाफ देउ प्यारा एक वचन बोल बोल्दैनौ किन र ?

बोल माया ‘.एक वचन बोल

तिम्रै बोली छ मलाई अनमोल

बोलमायाको भिडियो पनि उत्तिकै हृदयविदारक थियो । यही गीतमा गरेको मर्मस्पर्शी अभिनयले अञ्जली अधिकारीलाई मोडलिङमा स्थापित गरायो । यसपछि उनले पछाडि फर्केर हेर्नु परेन ।

यो गीतको भिडियो आजका दिनसम्म २ करोड २० लाखभन्दा बढी पटक हेरिएको छ । गीतमा आएका १८ हजारभन्दा बढी प्रतिक्रियामा शत प्रतिशत सकारात्मक छन् । गीतले दुई लाख ४५ हजार लाइक्स पाएको छ ।

२. गलबन्दी

प्रकाश सपूतको अहिलेसम्मकै सर्वाधिक लोकप्रिय सिर्जना हो- गलबन्दी । ‘बोल माया’ को सिक्वेलका रुपमा ल्याइएको भए पनि यो गीतको मुड र धार बोलमायाभन्दा बेग्लै छ । यो टिपिकल लोकभाकाको गीत हो, जुन एक समयमा सबैको जिभ्रोमा झुण्डिएको थियो ।

‘बोलमाया’ की विरही पात्र अञ्जलीलाई प्रकाश सपूतले गरेको छेडछाड र अञ्जलीको लजालु अभिनय धेरैले मन पराए । गायनमा प्रकाश सपूतलाई शान्तिश्री परियारले नै साथ दिएकी छन् । गीतका शब्दहरु प्रकाश सपूतकै हुन् ।

वरिष्ठ गायक शम्भु राईले आफ्नो एउटा पुरानो ‘देउसी भैलो’ गीतको लयसँग मिल्दोजुल्दो रहेको भनेर विवादसमेत उब्जाएका थिए । विवाद मत्थर पार्न गीतको सर्जकमा शम्भुको समेत नाम समावेश गरिएको छ ।

प्रकाश सपूतले गाएकामध्ये सर्वाधिक भ्यूज पाएको गीत हो गलबन्दी । आजका दिनसम्म यो गीतलाई पाँच करोड ४० लाख पटकभन्दा बढी हेरिएको छ । गीतमा ३४ हजारभन्दा बढी कमेन्ट छन् भने ५ लाख ६४ हजारभन्दा बढीले लाइक बटम थिचेका छन् । यो गीत २०७६ जेठ १० गते युट्युबमा रिलिज गरिएको थियो ।

३. बदला बरिलै

व्यवसायिकताभन्दा टाढा रहेर प्रकाश सपूतले गरेको विशुद्ध सन्देशमूलक सिर्जना हो, बदला बरिलै । भर्खरै करोड क्लवभित्र परेको यो गीतलाई सपूतको कालजयी सिर्जनामा राख्न हिच्किचाउनु पर्दैन ।

निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाले राष्ट्रिय चर्चा पाइरहँदा बलात्कारको थिममा यो गीत प्रकाशले ल्याएका थिए । यो गीतमा प्रकाशले स्वर दिएका छैनन् । यद्यपि रचना, संगीत र भिडियो निर्देशन उनको हो । देवी घर्तीको आवाजमा यो गीत सजिएको छ ।

गीत जति बुलन्द छ, त्यत्तिकै उत्कृष्ट छ भिडियो । नायिका केकी अधिकारीले मुख्य भूमिकामा अभिनय गरेकी छन् । उनले गीतको भावले छोएर आफूले विनापारिश्रमिक यसमा काम गरेको बताएकी थिइन् । यो गीतमा सिंगो एउटा चलचित्र बन्न सक्ने कथा अटाएका छन् प्रकाशले ।

सन् २०७७, साउन १७ गते युट्युबबाट प्रिमियर गरिएको यस गीतमा झण्डै २० हजार प्रतिक्रिया आएका छन् ।

४. मेरो पनि होइन र यो देश

प्रकाश सपूत मधुर गायनका लागि चिनिन्छन् । गत वर्ष उनले सार्वजनिक गरेको ‘मेरो पनि होइन र यो देश’ बोलको विद्रोही गीतमा भने उनी आक्रामक सुनिए । यो गीतमा जातीय तथा सामाजिक उत्पीडनको विरुद्धमा उनले आगो ओकलेका थिए ।

स्वयं एउटा दलित परिवारको सदस्य भएकाले पनि प्रकाश सपूत यो गीतमा गजबसँग पोखिएका छन् । भावमा डुबेर सुन्दा यो गीतले जोकसैको शरीरमा काँडा उमार्छ । गीतको शब्द, संगीत र स्वर प्रकाशकै हुन् । गीतलाई उत्पीडनमा परेकाहरुको साझा आवाजको रुपमा स्वीकारिएको छ ।

२०७८, वैशाख १० गते सार्वजनिक यो गीतले पनि एक करोड भ्यूजको दायरा कटाइसकेको छ । गीतमा करिब २५ हजार प्रतिक्रिया आएका छन् भने साढे ३ लाख ३५ हजारभन्दा बढी लाइक्स आएका छन् ।

५. कुरा बुज्न पर्च

यसै वर्ष सार्वजनिक भएको ‘कुरा बुज्न पर्च’ पनि प्रकाश सपूतको सर्वाधिक लोकप्रिय सिर्जनाभित्र पर्छ । यद्यपि, यसमा प्रकाशले स्वर भने दिएका छैनन् । गायिकाद्वय शान्तिश्री परियार र समीक्षा अधिकारीले स्वर दिएको गीत झट्ट सुन्दा मनोरञ्जनात्मक तर गहकिलो सन्देश बोकेको छ ।

महिला सशक्तीकरण गीतको मुख्य थिम हो । तर, केही महिलावादीहरुले नै गीतका केही शब्दहरुमा असन्तुष्टि जनाएका थिए । दर्शक/स्रोताले सहजै टिप्ने र गुनगुनाउने शब्दहरु भएकाले यो गीत तत्काल लोकप्रिय बनेको थियो । साथै गीतको भिडियोले पनि दर्शकको मन जित्यो । नायिकाद्वय स्वस्तिमा खड्का र आँचल शर्माको जोडी गीतमा खुबै जमेको छ । धनसम्पत्ति भएको भन्दा पनि माया गर्ने श्रीमान चाहिन्छ भन्ने मुख्य भाव बोकेको छ यस गीतले ।

२०७८ साउन २२ मा सार्वजनिक गीतले अहिलेसम्म ३ करोड ४० लाखभन्दा बढी भ्यूज पाइसकेको छ । यसमा करिब १२ हजार कमेन्ट आएका छन् भने ३ लाख ७४ हजारले लाइक बटम थिचेका छन् ।

६. पीर

गत वर्षको फागुनमा सार्वजनिक भएको ‘पीर’ बोलको गीतले पनि ठूलै सरगर्मी सिर्जना गरेको थियो । आमदर्शक/स्रोताले निकै तारिफ गरेको गीतमा माओवादी पार्टीका कार्यकर्ताले भने चित्त दुखाएका थिए ।

पहिलोपटक प्रकाश सपुतले विशुद्ध राजनीतिक विषयवस्तुको उठाना गरेका थिए ‘पीर’ मार्फत । गीतका शब्दहरु राजनीतिक छैनन् । तर, भिडियोले बोल्ने कथामा माओवादी जनयुद्धलाई विषयवस्तु बनाइएको छ । जनयुद्धका पूर्वलडाकुहरु आज कस्तो जीवन बाँचिरहेका छन् भन्ने अँध्यारो पाटोलाई गीतले प्रस्तुत गरेको छ ।

जनयुद्ध लडेकी एक महिला लडाकु अहिले देहव्यापारमा संलग्न भएको देखाइँदा माओवादी पंक्ति सपूतसँग निकै रुष्ट बन्यो । उनीहरुले गीतलाई युट्युवबाटै हटाउन माग गरे । अन्ततः सपूत पनि लचक भए । एक करोड भ्यूज पार गरिसकेपछि उनले पीरको भिडियो हटाए र सम्पादन गरेर फेरि पोस्ट गरे । सम्पादित भिडिओ भने पहिले जस्तो रकेट स्पिडमा गएन । अहिलेसम्म गीतले करोड भ्यूज छुन सकेको छैन । अहिले ८८ लाख पटक हेरिएको दोस्रो भिडियोमा साढे ८ हजार प्रतिक्रिया छन् ।

७. सकम्बरी

पाँच दिनअघि मात्रै सार्वजनिक ‘सकम्बरी’ गीत अहिले टक अफ दि टाउन बनिरहेको छ । गीतको लिरिक्स र भिडिओलाई लिएर अनेक प्रश्न उठिरहेका छन् । विभिन्न अन्तर्वार्तामार्फत सपूतले गीतको बचाउ पनि गरिरहेका छन् ।

कलाकारिता र रात्रिकालीन व्यवसायमा लागेका महिलाहरुलाई गलत तरिकाले चित्रण गरिएको भन्दै गीतको आलोचना भएको हो । गीतको भिडिओमा एक युवतीलाई प्रमुख पात्र बनाइएको छ, जो म्युजिक भिडियो खेल्ने आफ्नो सपना पूरा गर्न काठमाडौं आएकी हुन्छन् । उनलाई थुप्रै पुरुष पात्रहरुले दुरुपयोग गर्छिन् । सफलताको सिँढी उक्लिने क्रममा युवतीले नाजायज सम्झौताहरु गरेको देखाइएको छ ।

सकम्बरी गीतले ६ दिनमा ८५ लाख भ्यूज कटाइसकेको छ । १७ हजारभन्दा बढी कमेन्टहरु आएका छन् । यस गीतले सबैभन्दा छिटो करोड क्लवमा प्रवेश गर्ने रेकर्ड बनाउने प्रवल सम्भावना छ । सकम्बरीले भोलिसम्ममा करोड भ्यूज पुर्‍याएमा यसअघि आफ्नै गीत ‘पीर’ ले कायम गरेको रेकर्ड सपूतले तोड्नेछन् । पीरले सात दिनमा करोड भ्यूज पाएको थियो ।

याे पनि पढ्नुस् : अमेरिकाबाट प्रकाश सपूतको प्रश्न: यति कला पनि नबुझ्ने कस्तो खालको जमात हो ?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर