नेपालको ऊर्जामा लगानीकर्ताहरु आकर्षित छन् : अर्थमन्त्री महत – Nepal Press

नेपालको ऊर्जामा लगानीकर्ताहरु आकर्षित छन् : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले ऊर्जा उत्पादन क्षेत्रमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताएका छन् । ऊर्जा सम्मेलनको समापन समारोहलाई बुधबार सम्बोधन गर्दै उनले ऊर्जा उत्पादनमा निजी क्षेत्रको योगदानबारे चर्चा गरेका हुन् ।

मंगलबार शुरु भएको सम्मेलनमा अर्थमन्त्री महतले भने, ‘ऊर्जाको सम्भावना देखेर नै निजी क्षेत्रका लगानीकर्ता हाइड्रोमा आकर्षित भएका हुन् । निजी क्षेत्रबाट ऊर्जा उत्पादनले नेपाल आत्मनिर्भर मात्र बनेको छैन, विदेशमा विद्युत निर्यात गर्न थालेको छ । यो हाम्रा लागि खुशीको खबर हो ।’

ऊर्जामा लगानीकर्तालाई आकर्षितसमेत गरेको बताउँदै उनले भने, ‘लगानीकर्तालाई सहयोग गर्न सरकार तयार छ । सरकारले लगानीको प्राथमिकतामा ऊर्जालाई लिएको हुनाले यसमा आएका समस्या समाधान गर्न सरकार तयार छ । लगानीकर्तालाई इन्सेन्टिभ दिन तयार छौं ।’

निजी क्षेत्रले पछिल्लो समय गरेको लगानीले ऊर्जामा राम्रो भएको बताउँदै उनले ऊर्जा नेपालको गतिलो आम्दानीको स्रोत भएको औंल्याए ।

अर्थमन्त्री महतले भने, ‘सरकारले विद्युत भारत निर्यात गर्ने संयन्त्र बनाउनेछ । विद्युतका लागि बंगलादेश अर्को ठूलो बजार हो । बंगलादेशसँग विद्युत व्यापार सम्झौतापछि त्यसतर्फ निर्यात गर्न सकिनेछ । विश्व बैंक जस्ता ठूला लगानीकर्ताहरु समेत नेपालका ऊर्जा क्षेत्रमा लगानी गर्न इच्छुक छन् ।’

विद्युत उत्पादनमा लगानी गर्न इच्छुक अन्य धेरै कम्पनीहरु पाइपलाइनमा रहेको उनले जानकारी दिए ।

यातायातको क्षेत्रलाई विद्युतीकरण गर्नुपर्ने औंल्याउँदै उनले घरायसी प्रयोजनलगायत अन्य क्षेत्रबाट विद्युत खपत बढाउन सकिने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर