भरतपुरमा एमालेको शक्ति प्रदर्शन, महिला हिंसा गर्नेलाई चितवनवासीले सजाय दिने न्यौपानेको चेतावनी (भिडिओ) – Nepal Press

भरतपुरमा एमालेको शक्ति प्रदर्शन, महिला हिंसा गर्नेलाई चितवनवासीले सजाय दिने न्यौपानेको चेतावनी (भिडिओ)

चितवन । चितवन २ मा नेकपा एमालेका उम्मेदवार राम न्यौपानेको घरदैलोमा कार्यकर्ता र स्थानीयको सहभागितामा उत्साहीपूर्ण रूपमा बढेको छ । बुधबार ठूलो संख्यामा भेला भएका महिलाले शक्ति प्रदर्शन गरेका छन् । अनेमसंघको आव्हानमा न्यौपानेको पक्षमा शक्ति प्रदर्शन गरिएको हो ।

रवि लामिछानेको पक्षमा महिलालाई सामाजिक सञ्जालमा बढी देखाइएकाले एमालेले शक्ति प्रदर्शन गरेको अनेमसंघले जनाएको छ ।

घरदैलोपछि आयोजित कोणसभामा एमाले केन्द्रीय सचिव तथा पूर्वमन्त्री पद्मा अर्यालले चितवन २ का जनताले नैतिकताको मापनमा राम न्यौपानेको विकल्प अरु खोज्न नसक्ने दाबी गरिन् ।

‘महिलालाई नेतृत्व दिनुपर्छ भनेर बहस र पैरवी गर्दै बोलेको कुरा प्रमाणित गरेर देखाउने पार्टी एमाले हो’, उनले भनिन्, ‘महिला राष्ट्रपति, महिलानै पार्टीको जिल्ला अध्यक्ष बनाउने पार्टी पनि एमाले नै हो, त्यसैले हामी बोल्नेमात्रै होइन, गरेर देखाउँछौं ।’

एमाले सपना बाँड्ने पार्टी नभएको भन्दै बोलेका कुरा पूरा गर्ने पार्टी भएको अर्यालको भनाई थियो ।

उम्मेदवार न्यौपानेले चितवनका महिलालाई विभिन्न ढंगले अपमानित गर्ने र सामाजिक सञ्जालमा जथाभावी लेख्ने हर्कत बन्द गर्न चेतावनी दिए । उनले आफू नैतिकरूपमा नचुकेको र सधैँ चितवनवासीकै जनताकै काखमा रहेको बताए ।

भरतपुर देशकै केन्द्रमा रहेको यहाँ स्वास्थ्य, शिक्षासँगै व्यापारको साम्रो सम्भावना भएकाले त्यसतर्फ आफ्नो ध्यान केन्द्रित हुने न्यौपानेले बताए । चितवनको विकास निर्माणमा यहीँका युवाहरूको सहभागिता गराउने गरी आफूले योजना तयार पार्ने उनले बताए ।

कोणसभाअघि अनेमसंघले नारायणगढको लायन्सचोकबाट वृहत र्‍याली निकालेको थियो । महिलाहरूको अगुवाइमा निस्किएको र्‍याली पुलचोक, मेनरोड, लिलाचोक हुँदै पोखरा बसपार्कमा पुगेर सभामा परिणत भएको थियो ।

सभाको अध्यक्षता नेकपा एमालेकी केन्द्रीय सदस्य एवं संविधानसभा सदस्य शिवकुमारी गोतामेले गरेकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर