रविसँग चुनाव हारेका उमेश श्रेष्ठको आँकलन- कांग्रेसको पक्षमा जनलहर छ, हाम्रो मुख्य प्रतिस्पर्धी एमाले – Nepal Press

रविसँग चुनाव हारेका उमेश श्रेष्ठको आँकलन- कांग्रेसको पक्षमा जनलहर छ, हाम्रो मुख्य प्रतिस्पर्धी एमाले

‘म उठेको भए फेरि हार्थेँ, आफैंले टिकट त्यागेको हुँ’

काठमाडौं । गत संसदीय चुनावमा चितवन २ बाट लज्जास्पद पराजय खेपेका कांग्रेस उम्मेदवार उमेश श्रेष्ठले उपचुनावमा नतिजा उल्टिने दाबी गरेका छन् । यो पालि कांग्रेस उम्मेदवारले चुनाव जित्ने र मुख्य प्रतिस्पर्धी एमाले हुने उनको आँकलन छ ।

हालैमात्र आफ्नो मुत्रथैलीको शल्यक्रिया गरेका श्रेष्ठ चुनावी अभियानका लागि आज चितवन झर्दैछन् । बाटोमै नेपाल प्रेससँग संक्षिप्त टेलिफोन संवाद गरेका उनले चितवनको माहोल पाँच महिना अगाडिको जस्तो नरहेको बताए । रास्वपा सभापति रवि लामिछानेको क्रेज सकिएको दाबी गर्दै उनले रास्वपा तेस्रोमा आउनसक्ने संकेत गरे ।

‘संसदीय चुनावमा रवि लामिछानेजीको ह्वीम थियो । त्यो अहिले छैन । कांग्रेसको पक्षमा चौतर्फी माहोल छ । हामी चुनाव जित्नेमा आशावादी छौं,’ उनले भने ।

संसदीय चुनावमा रविले ४९ हजारभन्दा बढी भोट ल्याएर विजयी हुँदा सत्ता गठबन्धनका साझा उम्मेदवार श्रेष्ठले १५ हजार चानचुन भोट ल्याएर दोस्रो स्थानमा रहेका थिए । उनीहरूको मतान्तर नै झण्डै ३५ हजारको थियो । यति ठूलो अन्तराल पाँच महिनामै कांग्रेसले मेटाउने आधार के छन् त ?

श्रेष्ठले उही कुरा दोहोर्‍याए ।

‘त्यसबेला उहाँले पाएको भोट भनेको ह्वीमको भोट हो । चितवनका जनता बहकिएका थिए । तर, यो बीचमा माहोल एकदमै परिवर्तन भएको छ । रविजी र उहाँको पार्टीका गतिविधिबाट जनता सन्तुष्ट छैनन् । जनताले उहाँहरूलाई चिनिसके । त्यसैले पहिलेजसरी बहकिने छैनन्,’ श्रेष्ठले भने ।

चितवनमा रास्वपाको कुनै जनाधार नरहेको श्रेष्ठले टिप्पणी गरे । विगतमा नानीमैया दाहालदेखि गोल्छे सार्कीको जस्तै ह्वीम आएको तर अहिले त्यस्तो नरहेको उनको भनाइ छ ।

कांग्रेसले आफ्नो परम्परागत भोटमात्रै सुरक्षित गर्न सक्यो भने पनि जित निश्चित हुने श्रेष्ठ बताउँछन् । उनले चितवन २ मा कांग्रेस र एमाले प्रमुख प्रतिस्पर्धी रहेको उल्लेख गरे ।

‘यहाँ पहिलो पार्टी कांग्रेस, दोस्रो एमाले र तेस्रो माओवादी हो । हाम्रो प्रतिस्पर्धा एमालेसँग हुन्छ,’ उनले भने ।

श्रेष्ठका अनुसार चितवन २ मा कांग्रेसको ३०/३२ हजार, माओवादीको १४/१५ हजार र नेकपा एसको ३/४ हजार भोट छ । यो तीनवटा पार्टीको भोट यताउति भएन भने पनि कांग्रेसलाई पर्याप्त हुने उनले बताए ।

श्रेष्ठले थपे, ‘अहिले हाम्रो पूरा शक्ति लागेको छ । प्रत्येक टोल-टोलबाट, वडा-वडाबाट साथीहरू एकत्रित हुनुभएको छ । पार्टीका उपाध्यक्ष र महाममन्त्रीहरू नै खटिनुभएको छ । म आफैं पनि भर्खरै अपरेशन गरेर बसेको मान्छे, चुनावी अभियानमा संलग्न हुन जाँदैछु । अहिलेको अवस्थामा नेपाली कांग्रेसको र माओवादीको भोटलाई मात्रै सुरक्षित गर्न सकियो भने पनि जित सुनिश्चित छ,’ उनले भने ।

सामाजिक सञ्जालको माहोल रवि लामिछानेको पक्षमा देखिए तापनि त्यो सत्य नभएको श्रेष्ठले बताए । रास्वपाका कार्यकर्ताले कतिपय अघिल्लो चुनावकै फोटो र भिडियोहरू हालेर भ्रम फैलाइरहेको उनको आरोप छ ।

‘सामाजिक सञ्जालमा पनि पहिलेभन्दा कांग्रेसको सय गुना फरक छ । अहिले कांग्रेसको पक्षमा जनलहर छ । चितवनले कांग्रेसलाई यसपटक रुवाउँदैन, हँसाउँछ । पहिले असाध्यै ठूलो पराजय भएकोमा यसपाली दुई-चार हजार मतले भए पनि जित्छौ,’ श्रेष्ठले भने ।

आफू किन उठेनन् ?

अघिल्लो चुनावमा धक्का खाएका श्रेष्ठ उपचुनावमा उम्मेदवार बनेनन् । आफैंले उपचुनावमा टिकट नलिएको उनले बताए ।

श्रेष्ठ भन्छन्, ‘म एउटा उद्यमशील मान्छे हुँ । देशको समृद्धिका लागि काम गरिरहेको छु । मैले हेर्दाखेरि चितवनमा स्थानीय जनतासित भिजेको मान्छे नै उठाउनु उपयुक्त हुन्छ जस्तो लाग्यो । चाहेको भए मैले नै टिकट पाउँथेँ । मेरो पहिलो हक पनि लाग्थ्यो । तर, म बुझ्ने मान्छे भएकाले हुँदा त्याग गर्नुपर्छ भन्ने लाग्यो । यो चुनाव भनेको उमेश श्रेष्ठ होइन, कांग्रेसको प्रतिष्ठासँग जोडिएको छ । त्यसैले म लड्नुहुन्न जस्तो फिल भयो । दोहोर्‍याएर उठ्दा फेरि हार्ने थिएँ । जित्ने साथीलाई दिनुपर्छ भनेर पार्टीलाई आफैँले अनुरोध गरेर छोडेको हुँ । म उठेको भए निश्चित पनि हार्थेँ । अलिकति भोट बढ्थ्यो होला, तर हार्थेँ ।’


प्रतिक्रिया

One thought on “रविसँग चुनाव हारेका उमेश श्रेष्ठको आँकलन- कांग्रेसको पक्षमा जनलहर छ, हाम्रो मुख्य प्रतिस्पर्धी एमाले

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर