सुर्खेतको एउटा गाउँमा आगो लागेपछि… – Nepal Press

सुर्खेतको एउटा गाउँमा आगो लागेपछि…

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर–७ शान्तिपुर गाउँका स्थानीय बासीहरू आफ्नो दैनिकीमा व्यस्त हुन्छन् । गाउँघरका बालबालिकाहरू पनि एकजुट भएर कृष्णको घरको आँगनमा खेलिरहेका हुन्छन् । अकस्मात् उक्त गाउँमा विद्युत् सर्ट र खाना पकाउने एलपी ग्यास सिलिन्डरको ग्यास लिकेज भई आगलागी हुन्छ ।

आगलागीबाट सो गाउँका स्थानीय बासिन्दाहरूको घर, भौतिक संरचना तथा पुश चौपायहरुमा क्षति हुन् पुग्छ । आगोले उग्ररूप लिइरहेका हुन्छ । भिषण आगलागी भइरहँदा सो गाउँका दिनेश बडुवालले उक्त वडाका वडा अध्यक्ष जिल्ला प्रशासन कार्यालय सुर्खेत तथा नेपाल प्रहरीलाई आगलागी सम्बन्धी जानकारी गराए ।

आगो एक घरबाट अर्को घर तर्फ फैलिँदै थियो । आगलागी भइरहेको स्थानमा स्थानीय बासिन्दाको जीउ धन, पशु चौपाया र भौतिक सम्पत्तिमा भइरहेको क्षति न्यूनीकरणका लागि वीरेन्द्रनगर नगरपालिकाबाट दक्ष जनशक्ति सहितको दाइनस्, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको अग्नि नियन्त्रण टोलीले आगो नियन्त्रण गरेको थियो ।

दमकलले पनि आगो नियन्त्रण गर्ने कार्य भइरहेको थियो । यस्तै, फायर फाईटिङ्ग टोलीले फैलिएको आगोलाई अर्को घरमा आगो लाग्न नदिनको लागि बीचको एउटा घरलाई भत्काउने कार्य ग¥यो जसले गर्दा अर्को घर र बाँकी घर आगो लाग्नबाट सुरक्षित भएका थिए ।

आगलागीबाट घाइते भएकाहरूलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त मेडिकल टोलीले उद्धार गरेको थियो । आगलागीबाट गम्भीर घाइतेहरूलाई थप उपचारका लागि प्रदेश अस्पताल कालागाँउ लगिएको छ ।

यो घटना सत्य नभएर काल्पनिक हो । म‌ंगलबार वीरेन्द्रनगरको खुल्ला मञ्चमा विपद् पूर्व तयारी तथा प्रतिकार्य आगलागी सम्बन्धी कृत्रिम घटना अभ्यास गरिएको हो । सो अभ्यासको डेमो श्री नयाँ सबुज गण कपासे ब्यारेकले आयोजना गरेको थियो ।

स्थानीय वन जङ्गल तथा सामुदायिक वनहरूमा हुने प्राकृतिक तथा मानव सृजित रूपमा हुने आगलागीलाई फायर लेन तयारी गरी नियन्त्रणमा लिने अभ्यास सम्बन्धी डेमो प्रस्तुत गरिएको थियो ।

जसमा वन जङ्गलमा आगो लाग्दा आगोलाई थप फैलन नदिनको लागि कसरी फायर लेन बनाइन्छ साथै हावाको दिशालाई ख्याल राख्दै आगोलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने बारेमा डेमो मार्फत देखाइएको थियो ।

सुर्खेत जिल्लामा आगलागिबाट प्रत्येक वर्ष जनधनको क्षति हुने गरेको छ । आगलागी नियन्त्रण तथा रोकथामको विषयमा बृहत् प्रदर्शनी तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नु कार्यक्रमको उद्देश्य रहेको थियो ।

अग्नि नियन्त्रणको अभ्यासमा चार किसिमको डेमोको जानकारी गराइएको थियो । जसमा घर, होटेल तथा उद्योग कलकारखानाहरूमा प्रयोग हुने एलपी ग्यास सिलिन्डर बाट हुने आगलागी नियन्त्रण, किचेनमा खाना पकाउने क्रममा कुनै पनि भाँडामा तेल जलेर लाग्ने आगो नियन्त्रण, घना बस्ती तथा सहरी इलाकामा प्राकृतिक र मानव सृजित रूपबाट हुने आगलागी नियन्त्रण र स्थानीय वन जङ्गल तथा सामुदायिक वनहरूमा हुने प्राकृतिक तथा मानव सृजित रूपमा हुने आगलागीलाई फायर लेन तयारी गरी नियन्त्रणमा लिने अभ्यास सम्बन्धी डेमो देखाइएको थियो ।

उक्त डेमो कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नेपाली सेना, नेपाल प्रहरीका उपरीक्षक, सशस्त्र प्रहरी बलका उपरीक्षक, राष्ट्रिय अनुसन्धानका उप अनुसन्धान निर्देशक सरोकारवालाको उपस्थित रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *