जितगढीको इतिहास जोगाउन नेपाली सेनाको अग्रसरता – Nepal Press

जितगढीको इतिहास जोगाउन नेपाली सेनाको अग्रसरता

रुपन्देही । नेपालले अंग्रेजलाई पराजित गरेको जितगढीको इतिहास जोगाउन नेपाली सेनाले आफ्नो अग्रसरता देखाएको छ । यसैका लागि तत्कालीन समयमा युद्धका लागि हिंडेको बाटोमा नेपाली सेनाले प्रदलयात्रा थालेको छ ।

वीरताको गाथा बोकेको नेपालका गढीहरुको संरक्षण गर्दै यसको महत्वलाई उजगार गर्ने उद्देश्यका साथ सरकार र नेपाली सेनाहरु निरन्तर अग्रसर भएका छन् ।

बुटवल उपमहानगरपालिका–१ मा रहेको यो गढी तत्कालीन अंग्रेज सरकारका आधुनिक सेनालाई नेपालले परास्त गरेको ऐतिहासिक किल्ला हो । जसको गुरुयोजना अनुसार २ बिगाहा २ कठ्ठा ८.५२ धुरमा पहिलो चरणमा विभिन्न संरचनाहरु निर्माण भइरहेका छन् ।

जितगढी बटौली युद्ध संग्रहालयको समेत निर्माण कार्य चलिरहेको छ ।नेपाल–अंग्रेज युद्धमा नेपालले जित हासिल गरेको ऐतिहासिकस्थल जितगढी किल्लाको महत्व छ । वि.सं १८७२ वैशाख ७ गतेकै दिन नेपालले विश्व विजेता अंग्रेजलाई पराजित गरेको थियो । सोही दिनको स्मरणमा विजयी दिवस मनाइदै आएको छ ।

श्री मध्य पश्चिम पृतना हेडक्वाटरका पृतनापति उपरथी याम प्रसाद ढकालले देशकै गौरव बोकेको गढी किल्लाहरुको संरक्षणसंगै यसको प्रचारप्रसारमा जोड दिनुपर्ने बताए । ‘नेपालको ईतिहाससंगै गढीसंग ईतिहास जोडिएको छ’– उनले भने । बाइसे चौबिसे राजा रजौटाहरुको बेलामा गढीहरु विकास भएको उनले दाबी गरे । कालान्तरमा नेपालको एकीकरणको शिलशिलामा गढीहरु थप उपयोगी बन्दा महत्व बढेको उनले बताए ।

नेपाललाई अग्रेजहरुसँंग जोगाउने बेला यो मुख्य रक्षा कवचका रुपमा उपयोगी भएको उनले बताए । नालापानीदेखि जितगढीसम्म नेपालीहरु लडेर अंग्रेजहरुको लडाईमा किल्लाहरु प्रयोग भएको उनी बताउँछन् ।

यो हाम्रो परम्परा, संस्कृति, मूल्य मान्यतासंग मात्र नभई यो हाम्रो नागरिक र सैन्य सम्बन्धसँग समेत जोडिएको उनले दाबी गरे । गढीको यही महत्वलाई बुझाउने गरी पृथ्वीनारायण शाहको एकीकरण बेलामा प्रयोग गरेको युद्धकालिन बाटोलाई स्मरण गर्ने गरी नेपाली सेनाले गोर्खाबाट जितगढीसम्मको एकीकरण यात्रा गरिरहेको छ ।

चैत २८ गते गोर्खाबाट शुरु भएको यात्रामा सहभागी नेपाली सेना तनहुँ, स्याङ्जा हुँदै दैनिक ४० किलोमिटर पैदल हिडेर पाल्पा आइपुगेको छ । राष्ट्रिय एकताको सन्देश दिने गरी कार्यक्रम गरिएको उनले बताए ।

वैशाख ७ गते बिहान पाल्पाको नुवाकोट गढीबाट टोली बुटवलको जितगढी किल्लामा आईपुग्ने र सोही दिन आम नागरिक, संघसंस्थासहितको झाँकी ¥यालीसहित यात्रा समापन हुने उनले बताए । एकीकरण समयमा प्रयोग भएको बाटोको पहिचान गर्ने र यसलाई पर्यटनमा जोड्ने गरी लाग्नुपर्ने उनको सुझाव छ ।

एकीकरण यात्रुले ३ सय ७० किलोमिटर दूरी पार गर्नेछन् । नेपालका धेरै गढीहरुलाई जोडेर पर्यटनमार्ग विकास गर्न सकिने उनले बताए । पछिल्लोपटक बुटवलको जितगढीदेखि पाल्पाको माथागढीसम्मको पैदल मार्ग विकास गरी पर्यटन प्रवद्र्घनको अभियान चलाउन सकिने सम्भावना देखिएको उनले बताए ।

माथागढी करीब २ सय १० वर्ष पुरानो सैन्य गढी मानिन्छ । यसैगरी पाल्पाको भगवती जात्रा र बुटवलको जितगढी उत्सवको महत्वलाई प्रकाश पार्ने गरी वृहत कार्यक्रम हुँदै आएको छ ।

सैनिक र नागरिकको बीचमा सम्बन्ध बढाउने र भविष्य अझ बृहत रुपमा लगेर आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सकिने सम्भावना रहेको उनले बताए ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *