कांग्रेस र एमालेबीच उपचुनावमा तालमेलको कसरत,मध्यरातमा बालकोटमा किन भंग भयो सहमति ? – Nepal Press
BREAKING

कांग्रेस र एमालेबीच उपचुनावमा तालमेलको कसरत,मध्यरातमा बालकोटमा किन भंग भयो सहमति ?

काठमाडौं । देशका दुई प्रमुख दल नेपाली कांग्रेस र नेकपा एमालेबीच उपनिर्वाचनमा तालमेलको कसरत अन्तिम चरणमा भंग भएको छ । वैशाख १० गते हुने उपनिर्वाचनमा कांग्रेस र एमाले तालमेलको नजिक पुगेका थिए ।

मंगलवार एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा दुई दलबीच सहमति पत्रमा हस्ताक्षर अन्तिम चरणमा रोकिएको छ । सहमतिपत्रमा देउवाको हस्ताक्षर लिएर कांग्रेस नेताहरु डा.मिनेन्द्र रिजाल र गोरखा १ बाट निर्वाचित सांसद समेत रहेको राजेन्द्र बजगाई बालकोट पुगेका थिए ।

सहमतिको मस्यौदामा एमाले उपाध्यक्ष बिष्णु पौडेल सहभागी थिए । बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपमहासचिव विष्णु रिमाल पनि राति बालकोट पुगेका थिए ।

देउवा र ओलीबीचको संवादपछि चितवन २ मा कांग्रेसले एमालेलाई सघाउँने र तनहुँ १ मा एमालेले कांग्रेसलाई सघाउँने सहमति भइसकेको थियो । बारा २ को बारे सम्झौतामा उल्लेख थिएन ।
बारा२ को सन्दर्भमा भने कांग्रेसको उम्मेदवार नभएकाले सहमतिपत्रमा उल्लेख गरिएको छैन ।

स्रोतका अनुसार दुई दलका प्रमुख नेताबीच कांग्रेसले बारा २ मा एमालेलाई सघाउँने अनौपचारिक सहमति भएको थियो ।
देउवाको हस्ताक्षर बोकेर कांग्रेस नेताहरु बालकोट पुगेपछि छलफल भइरहेका बेला भारतीय जनता पार्टीका नेता बिजय चौथाईवाले ओलीलाई भेट्न गए । केही समय ओली र चौथाइवालेबीच वार्ता भइरहेका बेला कांग्रेसभित्र चलखेल भयो ।

देउवाले चितवनका जितनारायणलाई ‘भाइ तिमी जित्दैनौ एमालेलाई सघाउँ,उता तनहुँमा हामी जित्ने’ भन्दा जितनारायण मानेनन् । दुई महामन्त्रीले पनि सकारात्मक रेस्पोन्स नगरेपछि देउवा बिलखबन्दमा परेको कांग्रेस नेताहरुले बताएका छन् ।

कांग्रेस र एमाले नमिल्दा व्यवस्थामाथि नै संकट उत्पन्न गर्ने खालका गतिविधिहरु भएको र अराजकतालाई राजनीतिक रुपमा दिन थालिएको विश्लेषण गर्दै शीर्ष तहमा यो सहमति आबश्यक भएको नेताहरुको जिकिर थियो । स्रोतका अनुसार बिगत तीन दिनदेखि एमाले उपाध्यक्ष पौडेल र कांग्रेसका नेता डा.रिजाल तथा राजेन्द्र बजागाई यो सहमति निर्माणमा खटिएका थिए । कांग्रेसले एमालेलाई सघाएसँगै चितवनमा माओवादीको समर्थन पनि एमालेलाई नै हुने कांग्रेस नेताहरुको दावी थियो ।

ओली र देउवाबीचको यो संवादको बारेमा प्रचण्ड पनि जानकार थिए । तर कांग्रेसभित्रै समस्या भएपछि अन्तिम चरणमा सहमति रोकिएको छ । कांग्रेस महाधिवेशनमा महामन्त्री हारिसकेपछि रक्षामन्त्रीबाट राजीनामा दिएर राजनीतिक मूलधारबाटै किनारामा लागेका रिजालले चुनावमा टिकट समेत पाएनन् । तर पछिल्लो समय रिजाललाई नै देउवाले विश्वासपत्रका रुपमा ओली र प्रचण्डसँग संवादमा खटाइनुलाई समेत अर्थपूर्ण रुपमा हेरिएको छ ।

सहमतिमा हस्ताक्षर हुन लागेकै बेला भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख बिजय चौथाइवाले ओलीलाई भेट्न पुगेका थिए । ओली भेटघाटमा रहेका बेला बाहिर कांग्रेसभित्र धेरै चलखेल भयो । कांग्रेसकै नेताहरुले उपचुनावमा एमालेसँग तालमेल सफल भए बैशाख १० पछि प्रचण्ड प्रधानमन्त्री नरहने भनेपछि माओवादी पंक्ति पनि तरंगित भयो । खासमा यो चलखेल कांग्रेसभित्रको थियो ।

काठमाडौंमा सहमति भएपछि देउवाले चितवनका कांगे्रस सभापति राजेश्वर खनाललाई फोन गरे । खनालसँगै बालकृष्ण खाँण पनि थिए । खाँणले चुनावी नतिजा के हुन्छ भन्न सकेनन् । तर खनालले एमालेलाई छाड्न मानेन् ।
लगत्तै कांग्रेस उपसभापति तथा उपप्रधानमन्त्री पुर्णवहादुर खड्काले एमालेसँग मिल्ने कुरामा कडा आपत्ति जनाए ।

उनको बोलीमा प्रचण्ड झल्किएको नेताहरु बताउँछन् । गठबन्धन भत्काएर एमाले र कांग्रेसको सरकार बन्ने खतरा समेत यसमा समेटिएपछि बालकोटमा मध्यरातमा सहमति हुन नसकेको नेताहरु बताउँछन् । दुई महामन्त्री र उपसभापतिहरुलाई थाहै नदिई देउवाले मिनेन्द्र रिजाल अघि बढाएपछि कांग्रेसभित्रका यदुबंशीहरु भ्ड्किएको आरोप छ ।

 


प्रतिक्रिया

3 thoughts on “कांग्रेस र एमालेबीच उपचुनावमा तालमेलको कसरत,मध्यरातमा बालकोटमा किन भंग भयो सहमति ?

  1. एमाले जस्तो धोकेवाजसँग सहमति गरेर पनि कहिँ सहमति पालना हुन्छ र?
    देउवालाई प्रधानमन्त्री बनाउँछु भनेर पहिले नै ओलीले फकाएको भरमा उपचुनावमा तालमेलको सम्झौता गर्न खोज्नु काँग्रेसकै लागि घातक थियोे । किनकि काँग्रेस द्वारा चण्ड सरकार प्रतिको बिस्वासको मत फिर्ता हुने बित्तिकै प्रधानमन्त्रीको पदमा रिक्तता हुनेछ । त्यसपछि उल्टो केपी ओलीले नै साना दलहरूलाई मिलाएर सरकार बनाउने कसरतमा लाग्नेछ । अनि लोभी देउवा हेरेको हेरेई हुनेछ।
    कसरी देश निर्माणमा सहभागी हुने भन्ने छैन। भैरहेको सरकार बिघटन गरेर नयाँ सरकार बनाउने खेलमा देउवा र केपी लागिपरेको देखिन्छ । ब्वाँसाहरु!

    1. यो सरकार ढलेपछि काँग्रेस बाहेक अरुले पाउँदैनन् । पहिला काँग्रेसको अल्पमतको सरकार बन्छ। त्यसले विश्वासको मत नपाए एकपटक ओली वा जोकोहीले बहुमत पुर्याउन सकेमात्र सरकार बन्छ, नभए नयाँ चुनाव गर्नुपर्छ।

  2. प्रचण्ड जस्तो अन्तराष्ट्रिय हत्याराको शासन अन्तर्गत बस्नुपर्ने नेपाली नागरिकको दुखद् नियति हो तर प्रचण्डपथवालालाई स्वर्णयुग लागेको होला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर