रात्रिकालीन मनोरञ्जन व्यवसायी संघद्वारा ‘सकम्बरी’ गीतको भर्त्स ना, भिडिओ हटाउन माग – Nepal Press

रात्रिकालीन मनोरञ्जन व्यवसायी संघद्वारा ‘सकम्बरी’ गीतको भर्त्स ना, भिडिओ हटाउन माग

काठमाडौं । काठमाडौंका रात्रिकालीन व्यवसायीहरुले प्रकाश सपूतको नयाँ गीत ‘सकम्बरी’ ले महिलाहरुमाथि आक्षेप लगाएको भन्दै विरोध जनाएका छन् । गीतको भिडिओ र केही शब्दमा आपत्ति जनाउँदै उनीहरुले यसलाई सामाजिक सञ्जालबाट हटाउन सपूतसँग मागसमेत गरेका छन् ।

रात्रिकालीन व्यवसायीहरुको संगठन रात्रिकालीन मनोरञ्जन व्यवसायी संघले आज एक विज्ञप्ति जारी गर्दै सो माग गरेको हो । गीतले रात्रीकालीन व्यवसायमा संलग्न सबै छोरीचेलीहरु देहव्यापारमा लागेको जस्तो सन्देश गएको विज्ञप्तिमा जनाइएको छ ।

‘कलाकारिता क्षेत्रमा आउने सबै प्रतिभाहरु तपाईंको भनाइमा वेश्यावृत्ति गरेर नै आएका र स्थापित भएका हुन् त ? महिलाले राम्रो अवसर पाउन र चर्चित हुन आफ्नो शरीर बेचेकै हुन्छन् वा बेच्नु नै पर्छ ? त्यो क्षेत्रमा कलाको कुनै मूल्य नै छैन ? मेहनत र संघर्षको बाटो नै छैन ? के रात्रीकालीन व्यवसायमा संलग्न सबै नारी/छोरीहरु देहव्यापार नै गर्न गएका हुन्छन् त ?’, विज्ञप्तिमा प्रश्न गरिएको छ ।

विज्ञप्तिमा सकम्बरी गीतलाई ‘अपाच्य’ संज्ञासमेत दिइएको छ । ‘तपाईं जस्तो भूईंमान्छेबाट उठेर संघर्ष गरी नेपाली कला क्षेत्रमा स्थापित हुन लागेको व्यक्तिले नेपाली समाजमा छोरी/नारीको बारेमा निर्माण गर्न खोजेको विम्ब यही हो त ?’, विज्ञप्तिमा भनिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर