सोचेअनुसार काम नहुँदा अर्थमन्त्री महत ‘फ्रस्ट्रेड’ – Nepal Press

सोचेअनुसार काम नहुँदा अर्थमन्त्री महत ‘फ्रस्ट्रेड’

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले मन्त्रालय सम्हालेको १८ दिन भयो । यी १८ दिन उनको अधिकांश समय भेटघाटमै व्यस्त रह्यो । संकटको डिलमा रहेको अर्थतन्त्र बचाउन चुनौतीको चाङमा छिरेका मन्त्री महत यतिबेला सोचेअनुसार काम नभएको भन्दै फ्रस्टेड देखिन्छन् । उनको अभिव्यक्तिले पनि उनी आफ्नो काम गराइप्रति सन्तुष्ट छैनन् भन्ने पुष्टि गर्छ ।

सोमबार उद्योग वाणिज्य महासंघका नयाँ पदाधिकारीसँगको भेटमा अर्थमन्त्रीले भने, ‘राज्य संरचना प्रभावकारी छैन । यसकारण प्रभावकारी काम भएको छैन, हामीले स्वीकार गर्नुपर्छ । म पनि स्वीकार गर्छु । नीतिगत रुपमा धेरै कुरा भन्यौं । तर, व्यवहारमा उतार्न सकेनौं ।’

यद्यपि, निराशामा पनि आश भर्दै महत केही पनि गर्नै सक्दैनौं भन्ने अवस्थामा भने नपुगेको बताउँछन् । उनी सबै पक्षलाई साथ लिएर आफ्नो कार्यकाल सफल बनाउन चाहन्छन् । यसकारण पनि उनले हरेक सरोकारवालाको भेटमा भनेकै हुन्छन्, ‘हामी एक क्षेत्रले अर्को क्षेत्रलाई सहयोग गराैं ।’

‘अर्थतन्त्र सकसपूर्ण अवस्थामा छ भन्ने थाहा पाउँदापाउँदै संकटबाट पार लगाउन सकिन्छ भन्ने हिम्मत बोकेर अर्थ मन्त्रालय भित्रिनुभएको थियो । तर, १८ दिनको परिस्थितिप्रति उहाँ सन्तुष्ट हुनुहुन्न’, महत निकट स्रोत भन्छ ।

मन्त्री महतले सबै क्षेत्रका सरोकारवालासँग भेटघाट गरिसकेका छन् । उनीहरुबाट अर्थतन्त्रको संकट कसरी पार लगाउन सकिन्छ भन्ने सुझावसमेत लिइसकेका छन् ।

उनले सबै क्षेत्रसँग सुझाव त लिए । तर, त्यही सुझावको कार्यान्वयनमा लैजान उनीसँग चाहेको टीम छैन । उनले चाहेअनुसारको सचिव पाएका छैनन् । मन्त्री फेरिएसँगै उनीहरुले आफूलाई काम गर्न सहज पर्ने टीम बनाउँछन् । त्यसको प्राथमिकतामा सचिव पर्छन् । मन्त्रालय आएको एक सातामै ३ जना सहसचिव भित्र्याएका महत सचिवको मामलामा भने माथिल्लो तहको दबाबका कारण रोकिएका छन् ।

स्रोत भन्छ, ‘अहिले सचिवमा बैकुण्ठ अर्याल, अर्जुन पोखरेल, कृष्णहरि पुष्करको नाम आएको छ । तर पुष्करप्रति अर्थमन्त्री आफैं इन्ट्रेस्टेड छैनन् । अर्यालप्रति इच्छा देखिन्छ । यद्यपि अर्याल दुई महिनापछि रिटायर्ड हुने भएकाले उनको सम्भावना न्यून छ । यसकारण पनि अहिले जे छ, त्यसैलाई छोडिदिने कि भन्ने पनि छ ।’

संकटपूर्ण अर्थतन्त्रको निरीह मन्त्रीमात्र बन्ने हो कि भन्ने डरमा रहेका मन्त्री महत अहिले सबै पक्षसँग निकै लचक देखिन्छन् । मन्त्रालयमा भएका कर्मचारीलाई अहिले चलाइहाल्ने पक्षमा छैनन् उनी । बजेट निर्माण भइरहेकाले त्यसमा असर नपरोस् भन्ने उनको चाहना हो ।

अर्कोतर्फ शेयर बजारका करिब ५७ लाख लगानीकर्ताले उनलाई विश्वास गर्न सकेका छैनन् । शेयर बजारका विज्ञ अर्थमन्त्रीको रुपमा महत टेस्टेड नभएकाले उनलाई बजारले ढुक्क भएर पत्याउन सक्ने अवस्था नबनेको बताउँछन् ।

उनी आएपछिको कारोबारले पनि महतलाई रुचाएको देखिँदैन । यसले पनि उनी थप तनावमा छन् । उनले धितोपत्र बोर्डका अध्यक्षलाई पटक–पटक सोध्ने गरेका छन्, ‘के गरे बजारको समास्या समाधान होला ?’

तर, सबैले दोष नेपाल राष्ट्र बैंकको नीतिलाई दिँदै आएका छन् । विशेषगरी बैंकको ब्याजदर, शेयर बजारको जोखिम भारित औसत, १२ करोडको क्यापका कारण बजार नबढेको उत्तर उनले पाएका छन् । अधिकांश समस्या राष्ट्र बैंकमा अडिएको छ । राष्ट्र बैंककै सहयोगमा मात्र तमाम समस्या समाधान हुने बुझेका उनले गभर्नरसँग राम्रै संवाद गरिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *