‘नेपाली विद्यार्थीलाई सेमेस्टर प्रणाली फापेन’ – Nepal Press

‘नेपाली विद्यार्थीलाई सेमेस्टर प्रणाली फापेन’

रुपन्देही । शैक्षिक विकासका सरोकारवालाले अहिलेको सेमेष्टरगत शिक्षा प्रणाली नेपाली विद्यार्थीमा प्रभावकारी नभएको बताएका छन् । उनीहरुले सरकारको दीर्घकालीन शैक्षिक नीति नभएका कारण सामुदायिक विद्यालयको पहुँच घट्दै गएकोमा चिन्तासमेत व्यक्त गरेका छन् ।

रिपोर्टर्स क्लव नेपाल लुम्बिनीले बुटवलमा मंगलबार आयोजना गरेको ‘अबको शिक्षा प्रणाली’का विषयमा आफ्नो धारणा राख्दै शिक्षाविद् प्रा.डा.विद्यानाथ कोइरालाले शिक्षा मन्त्रालयमा ठूला राजनीतिक दलले राजनीतिक स्वार्थमात्रै पूरा गर्न खोजेको भन्दै उच्च शिक्षामा राज्यको उदासीनता, बेखबर, ध्यान पुग्न नसकेको बताए ।

उनले शिक्षामा बजेट पर्याप्त नभएका कारण सामुदायिक विद्यालयको पहुँच घट्दै गएको बताउँदै उच्च शिक्षालाई हेर्ने एउटा छुट्टै मेगानिजम स्थापना भएमा शिक्षा क्षेत्र सुधार हुँदै जाने सुझाव दिए ।

वरिष्ठ अधिवक्ता एवं नेपाल प्राध्यापक संघका पूर्वअध्यक्ष डा. बुद्धबहादुर थापाले भने, ‘हिजो शिक्षक केन्द्रित शिक्षा थियो । आज त्यो छैन । शिक्षकहरु भुत्ते हुँदै गएका छन् । पछिल्लो समय शिक्षकहरुसँग प्रविधिमैत्री ज्ञान नभएको र अहिलेको माग भने प्रविधियुक्त रहेको अवस्था छ । यसले थप चिन्ता थपेको छ ।’

बुटवल उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख मित्रमणि खनालले नयाँ नीति नबनेसम्म शिक्षा क्षेत्रको विकास सोचेअनुसार नहुने बताए ।

शिक्षा पत्रकार समूहका केन्द्रीय अध्यक्ष कृष्ण मल्लले ग्रामीण क्षेत्रमा विद्यालयहरु खोसिँदै जाने खतरा बढेको बताए । उनले भने, ‘पछिल्लो समय विद्यालय शिक्षा र प्राविधिक शिक्षामा विद्यार्थीहरुको सहभागिता न्यून रहेको छ । शिक्षालाई मजबुत बनाउन कहिले र कसले ध्यान दिने हो प्रश्न उठिरहेको छ ।’

प्याब्सनका केन्द्रीय सदस्य टीकाराम न्यौपानेले हालको शिक्षा नीतिले सरकारी तथा संस्थागत विद्यालय कुनैलाई पनि फाइदा पुग्ने खालको नीति ल्याउन नसकेको आरोप लगाए ।

कालिका मानवज्ञान विद्यालय बुटवलका प्रधानाध्यापक दिनेश थापाले शिक्षालाई सुधार गर्न भौतिक संरचनाका साथै शिक्षकहरुको गुणस्तरलाई जोड दिनुपर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर