संसद बैठक : समयमै मलको आपूर्तिदेखि उठेका प्रश्नहरुको अभिलेख राख्नुपर्नेसम्म माग – Nepal Press

संसद बैठक : समयमै मलको आपूर्तिदेखि उठेका प्रश्नहरुको अभिलेख राख्नुपर्नेसम्म माग

काठमाडौं । प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै प्रतिनिधि सभा सदस्यहरुले समसामयिक विषयहरुमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

मंगलबारको प्रतिनिधि सभा बैठकमा शुन्य समयमा बोल्दै प्रतिनिधि सभा सदस्य विक्रम पाण्डेले समयमै किसानहरुका लागि मल आपूर्ति हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराए । उनले समयमा मल प्राप्त हुन नसक्दा देशको कुल गार्हस्थ उत्पादनमै असर परेको बताए ।

प्रतिनिधि सभा सदस्य बिजुला रायमाझीले देशका १८ देखि ४० वर्षभित्रका युवाहरु नेपालभित्रै बस्ने बातावरण कहिले बन्छ ? भनि सरकारलाई प्रश्न गरिन् । उनले नेपालमा व्यवसायहरु धरासायी भएको भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।

प्रतिनिधि सभा सदस्य बिना लामाले सुरक्षा निकायले जनताको जिउधनको सुरक्षा दिन नसकेको भन्दै आपत्ति जनाइन् ।

प्रतिनिधि सभा सदस्य विनोदकुमार चौधरीले सुस्ता र गण्डकमा हरेक वर्ष हजारौँ परिवार डुबानमा पर्ने समस्या रहेको उल्लेख गर्दै प्रधानमन्त्रीको आसन्न भारत भ्रमणमा यस विषयलाई उठाउन आग्रह गरे ।

प्रतिनिधि सभा सदस्य वीरबहादुर बलायरले सुदूरपश्चिमको राजधानी अहिलेसम्म निर्माण हुन नसकेकोप्रति असन्तुष्टि व्यक्त गर्दै राजधानी कसले बनाउने हो ? भनि प्रश्न गरे ।

प्रतिनिधि सभा सदस्य बिना जैसवालले नेपालमा हिन्दु राष्ट्र कायम हुनुपर्ने धारणा राखिन् ।

प्रतिनिधि सभा सदस्य सरस्वती सुब्बाले मिटरब्याज पीडित किसानहरुको समस्या समाधान गर्न सरकारलाई आग्रह गरिन् ।

प्रतिनिधि सभा सदस्य सुमना श्रेष्ठले संसदमा उठ्ने प्रश्नहरुको राम्ररी अभिलेख राख्नुपर्ने बताइन् ।

उनले संसदमा सोधिएका प्रश्नहरुको सम्बन्धित मन्त्रीबाट जवाफ आए, नआएको पनि रेकर्डमा राख्नुपर्ने बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर