बीमा कम्पनीको पूँजीवृद्धि गर्न तीन महिनाको समय थप – Nepal Press

बीमा कम्पनीको पूँजीवृद्धि गर्न तीन महिनाको समय थप

काठमाडौ । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुको पूँजी पुर्याउने समय थप गरेको छ । आइतबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले पूँजी वृद्धि गर्न असार मसान्तसम्मको समय थप गरेको प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।

पौडेलले असार मसान्तमा बीमा कम्पनीहरुको अनअडिटेड मुनाफा आउने र सो मुनाफालाई पूँजीकरण गर्न दिएपछि नपुगेको हकमा हकप्रद जारी गर्न दिइने नेपाल प्रेसलाई जानकारी दिए । असार मसान्तपछि सबै कम्पनीको पूँजी पुग्ने पौडेल बताउँछन् ।

यता मर्जरमा नगएका प्रभु लाइफ इन्सुरेन्स र नेपाल इन्सुरेन्सले भने आफै पूँजी वृद्धि गर्ने जनाएका छन् । प्रभुले विदेशी पार्टनर भित्र्याउँने र नेपालले सम्पत्ति बेचेर पूँजी पुर्याउने बताएका छन् । प्राधिकरणले बीमा कम्पनीहरुलाई २०७९ चैत मसान्तसम्ममा पूँजी पुर्याउन निर्देशन दिएको थियो ।

यो अवधिसम्ममा अधिकांश कम्पनीले पूँजी पुर्याउन नसकेसँगै प्राधिकरणले तोकिएको पूँजी पुर्याउन थप समय दिएको हो । जीवन बीमा कम्पनीलाई न्यूनतम ५ अर्ब रुपैयाँ र निर्जीवन बिमा कम्पनीलाई साढे दुई अर्ब रुपैयाँ पुँजी तोकिएको छ । योअनुसार चैत मसान्तसम्म ४ वटा कम्पनीले मात्रै पूँजी पुर्याइसकेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर