फास्ट ट्रयाकको काम हेर्न दलबलसहित पुगे प्रधानमन्त्री प्रचण्ड (भिडिओ/तस्बिरहरू) – Nepal Press

फास्ट ट्रयाकको काम हेर्न दलबलसहित पुगे प्रधानमन्त्री प्रचण्ड (भिडिओ/तस्बिरहरू)

हेटौँडा । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले निर्माणाधीन निजगढ-काठमाडौं फास्ट ट्रयाक (द्रुत मार्ग) को स्थलगत अवलोकन गरेका छन् ।

मकवानपुरको बकैया वडा नम्बर ४ को राजदमार, वडा नम्बर १२ को लेनडाँडा तथा भीमफेदी-८ को महादेवटार क्षेत्रमा अवलोकनका लागि प्रधानमन्त्री पुगेका थिए । प्रधानमन्त्रीको साथमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री प्रकाशशरण महत, भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, मुख्यसचिव शंकरदास बैरागी, केही सचिव र प्रधानसेनापति प्रभुराम शर्मालगायत पुगेका थिए ।

नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको यो आयोजना काठमाडौंलाई तराई मधेससँग जोड्ने सबैभन्दा छोटो दूरीको आयोजनाका रूपमा लिइन्छ ।

राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको द्रुत मार्ग अवलोकनको क्रममा प्रधानमन्त्री प्रचण्डले द्रुत मार्गको काम सन्तोषजनक रहेको बताए । द्रुत मार्गले नेपाली सडक सञ्जालमा ठूलो परिवर्तन ल्याउने भन्दै उनले यसको निर्माण कार्यमा सहजका सरकारले वाधा अड्चन फुकाइदिने प्रतिवद्धता जनाए ।

काठमाडौंको खोकनाबाट बाराको निजगढसम्मको द्रुतमार्ग ७२.५ किलोमिटर रहनेछ । चार लेनको उक्त सडक पहाडमा २५ मिटर तथा तराईमा २७ मिटरको चौडाइ हुनेछ । महादेवडाँडामा ३.३५५ किमी, धेद्रेमा १.६३० किमी र लेनडाँडामा १.४३० किमी गरी ६.४१५ किमी लामो सुरुङमार्ग निर्माण जारी रहेको द्रुतमार्ग सानाठूला गरेर ८७ वटा पुल निर्माण गरिने छन् भने प्यासेन्जर अन्डरपास १२, आभेरपास एउटा तथा सवारी अन्डरपास ५ र ओभरपास ४ वटा हुनेछ ।

निर्माणको प्रारम्भ गर्दा १ खर्ब १२ अर्ब खर्च अनुमान गरिएको भएपनि हाल आएर १ खर्ब ८० अर्बको हाराहारीमा पुग्ने जनाइएको छ । २०७४ साल वैशाख २१ मा नेपाली सेनाले निर्माणको जिम्मा पाएको द्रुत मार्ग ४ वर्षमा सम्पन्न गर्नुपर्ने सम्झौता थियो तर कोरानासहित अन्य कारणले यसको निर्माणमा ढिलाई हुँदै गएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *