उपप्रधानमन्त्री श्रेष्ठसँग संयुक्त राष्ट्रसंघीय प्रतिनिधिमण्डलको भेट – Nepal Press

उपप्रधानमन्त्री श्रेष्ठसँग संयुक्त राष्ट्रसंघीय प्रतिनिधिमण्डलको भेट

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग संयुक्त राष्ट्रसंघका प्रतिनिधिहरूले भेटवार्ता गरेका छन् । सोमबार गृह मन्त्रालयमा यूएनका एस्क्यापकी अन्डर सेक्रेटरी अर्मिदा सलसिह अलिसझावनालगायतसँग उपप्रधानमन्त्री श्रेष्ठको भेट भएको हो ।

भेटमा अर्मिदाले अतिकम विकसित राष्ट्रको सूचीबाट सन् २०२६ मा हुने ग्राजुएसनका लागि राष्ट्रिय योजना आयोगको सहकार्यमा नेपालमा कार्यशाला गोष्ठी आयोजना गर्ने तथा उक्त कार्यशाला गोष्ठीमा केही प्रदेश तथा अतिकम विकसित राष्ट्रहरुको उपस्थिति रहने व्यहोरा जानकारी गराएकी छन् ।

जवाफमा उपप्रधानमन्त्री श्रेष्ठले अतिकम विकसित राष्ट्रको सूचीबाट सन् २०२६ मा विकसिल राष्ट्रको सूचीमा स्तरोन्नति हुने प्रक्रियामा रहेको र सो सम्बन्धमा संयुक्त राष्ट्रसंघबाट भएको समन्वय तथा सहकार्यको लागि धन्यवाद दिए ।

दीगो विकासमा विशेष ध्यान दिनुपर्ने उपप्रधानमन्त्री श्रेष्ठको भनाइ छ । नेपालको आफ्नै मौलिक चुनौती रहेको र उक्त चुनौतीलाई सम्बोधन गर्दै स्तरोन्नति हासिल गर्न नेपालले आवश्यक तयारी गरिरहेको उनले बताए ।

अर्मिदाले संरचनात्मक रुपान्तरण जरुरी हुने भएकोले नेपालले कृषि, नवीकरणीय ऊर्जाको निर्यातमा विविधिकरण, दिगो पर्यटन, व्यापार सहजीकरण र दिगो लगानीमा जोड दिनुपर्ने उल्लेख गरिन् ।

उनले विपद् व्यवस्थापन गर्न मातहतका निकायहरूलाई उचित मार्ग निर्देशन गर्नुपर्नेमा जोड दिइन् ।

जवाफमा उपप्रधानमन्त्री श्रेष्ठले नेपाल विपद्को सम्बन्धमा जोखिमयुक्त मुलुक रहेकाले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा संवेदनशील रहेको जानकारी दिए । विपद्लाई सम्रग रूपमा बुझी सोहीअनुरुप व्यवस्थापन गर्न सोहीअनुरुप प्राधिकरणलाई निर्देशन दिइसकेको उनको भनाइ छ ।

उनीहरूबीच आपसी सम्बन्धलाई थप सुदृढ गर्न दुवै पक्ष सदैव छलफल र थप सहकार्यको लागि कटिबद्ध रहने प्रतिबद्धतासमेत जाहेर भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *