प्रदेश र स्थानीय सरकारबीच सम्बन्ध व्यवहारिक बनाउनुपर्छ : मुख्यमन्त्री कार्की – Nepal Press

प्रदेश र स्थानीय सरकारबीच सम्बन्ध व्यवहारिक बनाउनुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश र स्थानीय सरकारबीचको सम्बन्धलाई व्यवहारिक बनाउन आवश्यक रहेको बताएका छन् ।

सोमबार विराटनगरमा आयोजित ‘कोशी प्रदेश समन्वय परिषद’को बैठकमा बोल्दै मुख्मन्त्री कार्कीले सो कुरा बताएका हुन् । उनले प्रदेश र स्थानीय सरकार बीच कुनै समस्या आएमा त्यसलाई आपसी समन्वयबाटै समाधान गर्नुपर्ने कुरामा जोड दिँदै यस्ता समस्यालाई आमसञ्चार माध्यममा छरपस्ट नपार्न स्थानीय निकायका पदाधिकारीहरुलाई निर्देशन दिए ।

मुख्यमन्त्री कार्कीले प्रदेश र स्थानीय दुबै सरकार वित्तीय हिसावले कमजोर भएकाले आपसमा समन्वय गरेर काम गर्न आवश्यक रहेको बताए । उनले भने, ‘आगमी वर्षदेखि प्रदेश सरकारको अर्थमन्त्रालय अन्तर्गत राजस्व महाशाखामार्फत स्थानीय तहसँग समन्वय गरेर काम गर्ने पंद्धतिको विकास गर्ने कुरामा प्रदेश सरकारले ध्यान दिने छ ।’

उनले वित्तीय हस्तान्तरणअन्तर्गत सशर्तको बजेटमा योजना होइन क्षेत्र मात्र तोकेर स्थानीय तहमा एकमुष्ट बजेट पठाउने कुरामा प्रदेश सरकारले ध्यान दिने बताए ।

त्यस अघि विभिन्न स्थानीय तहका पदाधिकारीहरुले वित्तीय हस्तान्तरणमार्फत आउने सशर्तको अनुदानमा योजना नै तोकेर आउने गरेको गुनासो गरेका थिए ।

मुख्यमन्त्री कार्कीले स्थानीय तहका पदाधिकारीहरुले उठाएका विषयमा प्रदेश सरकार गम्भीर रहेको बताउँदै योजनाहरु दोहोरिने समस्या, न्यायिक समितिमा देखिएको जनशक्ति अभाव लगायतका विषयमा प्रदेश सरकार गम्भीर रहेको बताए ।

बैठकले प्रदेश सरकारको आगमी आर्थिक वर्ष २०८०/०८१ मा प्रस्तुत हुने वार्षिक नीति तथा कार्यक्रमका सम्बन्धमा, प्रदेश र स्थानीय तहले सञ्चालन गर्ने कार्यहरुको समन्वय, सहजीकरण अनुगमन, राजस्व सङ्कलन तथा बाडफाँड, स्थानीय तहका आवधिक योजनाहरु निर्माण गर्ने, जिल्ला समन्वय समितिको कार्यव्यवस्थालाई थप प्रभावकारी बनाउन समिति गठन गर्ने, समन्वय परिषदको कामलाई प्रभावकारी बनाउन विभिन्न उपसमितिहरु गठन गर्ने, लगायतका विषयमा विभिन्न निर्णयहरु गरेको छ ।

बैठकमा कोशी प्रदेश सरकारका प्रमुख सचिव डा. दीपक काफ्ले छलफलका विषयहरु प्रस्तुत गरेका थिए । छलफलका क्रममा समन्वय परिषदका सदस्यहरु, प्रदेश मन्त्रालयका सचिवहरुले प्रस्तुत विषयहरु माथि आआफ्नो धारण राखेका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर