निजामती सेवा विधेयक कहाँ पुग्यो ? सदनमा सञ्चारमन्त्री शर्माको यस्तो जवाफ (भिडिओ) – Nepal Press

निजामती सेवा विधेयक कहाँ पुग्यो ? सदनमा सञ्चारमन्त्री शर्माको यस्तो जवाफ (भिडिओ)

काठमाडौं । नेपाल सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकार संघीय निजामती सेवा ऐन छिट्टै संसदमा पेश गर्ने तयारीमा रहेको बताएकी छन् ।

सोमबार राष्ट्रियसभा बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५/०७६, ०६७/०७७ र ०७७/०७८ को वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन एवम् मूल्यांकन प्रतिवेदन २०७९ माथिको छलफलमा सांसदहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा मन्त्री शर्माले सरकारले सो ऐनलाई प्राथमिकतामा राखेको बताइन् ।

अहिले विधेयक कानून मन्त्रालयमा छलफलको अन्तिम चरणमा रहेको भन्दै उनले कर्मचारीहरूको सरुवालाई व्यवस्थित बनाउने व्यवस्था मिलाउन सांसदहरूलाई आग्रह गरिन् ।

मन्त्री शर्माले भनिन्, ‘संघीय निजामती सेवा ऐन सरकारवालाहरूसँग छलफल भएर अहिले कानून मन्त्रालयमा छलफलका लागि पुगेको छ । कानून मन्त्रालयमा विधेयक अन्तिम चरणमा छ । यसलाई क्याविनेटमा आएर हामी छिटोभन्दा छिटो यो ऐनलाई संसदमा प्रस्तुत गर्ने तयारीमा छौं ।’

‘विगतदेखि कर्मचारीहरूको सरुवा ठीक ढंगले हुन नसक्दा यी विषय संघीय निजामती सेवा ऐनमा आउनुपर्ने विषय हो । हामीले सो ऐन पास गर्दैगर्दा कर्मचारीको सरुवालाई व्यवस्थापन गर्नुपर्ने हुन्छ । यो ऐन बनाउन सो विषयलाई यो सम्मानित सदनले विशेष ध्यान दिनेछ भन्ने कुरा पनि राख्न चाहन्छु’, उनले थपिन् ।

मन्त्री शर्माले कर्मचारीहरूको सरुवामा समय तोकेर मापदण्ड बनाउन सके उनीहरु छिटो छिटो सरुवा हुने समस्या समाधान हुने तर्क समेत गर्नु भयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर