बारसँग प्रधानमन्त्रीले गरेको कुराबारे बालकोटमा उठ्यो प्रश्न, प्रचण्डले भने- रिपोर्ट चाहिँ ठ्याक्कै गरेछन् – Nepal Press

बारसँग प्रधानमन्त्रीले गरेको कुराबारे बालकोटमा उठ्यो प्रश्न, प्रचण्डले भने- रिपोर्ट चाहिँ ठ्याक्कै गरेछन्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा संसदमा प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल बारको टोलीसँग बोलेका कुराप्रति आपत्ति जनाउँदै शीर्ष बैठकमा प्रश्न उठाएका छन् ।

ओली निवास बालकोटमा सोमबार भएको बैठकमा प्रधानमन्त्रीले बार प्रतिनिधि मण्डलसँग संसद विघटनको मुद्दामा हरिकृष्ण कार्कीले आफूहरूलाई अप्रत्यक्ष सघाएको बताएका थिए । त्यहीकारण कार्कीलाई प्रधानन्यायाधीश सिफारिस गर्न ओली बाधक बनेको संकेत उनले गरेको समाचार नेपाल प्रेसमा आएको थियो ।

ओलीले प्रचण्डको अभिव्यक्ति आपत्तिजनक रहेको भन्दै प्रश्न सोधे- तपाईँले बारको डेलिगेशनलाई जे भन्नुभएको छ त्यो आपत्तिजनक छ । संवैधानिक परिषद्को बैठक बसौं भनेर मलाई कहिले भन्नुभयो ? प्रधानन्यायाधीश सिफारिसको कुरा कहिले गर्नुभयो ?

यो पनि पढ्नुस् : हरिकृष्णलाई प्रधानन्यायाधीश बन्न नदिन ठूलै शक्ति लागेको प्रधानमन्त्रीको दाबी, संसद् विघटनको मुद्दामाथि चर्चा

ओलीले बारसँगको प्रचण्डको भेटमा भएका आन्तरिक विषय सुनाएपछि प्रधानमन्त्रीले ‘तपाईँलाई रिपोर्ट गर्ने चाहिँ को रहेछन् ? ठ्याक्कै रिपोर्ट सुनाएछन् त्यहाँभित्रको’ भन्दै यसमा अन्यथा नलिन आग्रह गरेका थिए । उनले आफूलाई लागेको कुरा गरेको भन्दै संवैधानिक परिषद् बोलाउनेबारे ओलीसँग छलफल नभएको स्वीकार गरेका थिए ।

दुवै नेताको सवाल जवाफपछि प्रधानमन्त्रीले परिषद् बैठक बोलाउने प्रस्ताव गरेका थिए । सभामुख देवराज घिमिरेले राष्ट्रियसभा अध्यक्ष विदेश भ्रमणमा जाने भएकाले त्यसअघि नै बैठक राख्न सुझाव दिएपछि ४८ घण्टाको सूचना दिएर सम्भवतः बुधबार बैठक राखिने स्रोतले जनाएको छ ।

बैठकमा टीआरसी विधेयकबारे पनि छलफल भएको थियो । सो सम्बन्धमा एमाले अध्यक्ष ओलीले टीआरसीको सन्दर्भमा प्रतिपक्षको प्रतिपक्षी भूमिका नरहने भन्दै भविष्यमा विवाद नबल्झिने र पीडितले न्याय पाउनेगरी कानून पास गर्न तयार रहेको बताएको बैठकमा सहभागी एमाले नेता रमेश बडालले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर