गाउँपालिका अध्यक्षमाथि जाइलागेर पक्राउ परेका वडाध्यक्षको घरमा भेटिए हतियार – Nepal Press

गाउँपालिका अध्यक्षमाथि जाइलागेर पक्राउ परेका वडाध्यक्षको घरमा भेटिए हतियार

रुपन्देही । आफ्नै पालिकाका अध्यक्षमाथि आक्रमणको आरोपमा प्रहरी नियन्त्रणमा रहेका रोल्पा गङ्गादेव गाउँपालिका वडा नं ४ का वडाध्यक्ष कृष्ण वली विपिनको घरमा अवैध हतियार भेटिएको छ ।

पालिका अध्यक्ष हरिबहादुर पुनमाथि जाइलागेको र उनको गाडी तोडफोड गरेको आरोपमा चैत ३० गते उनी पक्राउ परेका थिए ।

वडाध्यक्ष वलीले घर कोठामा अवैध हतियार लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाका आधारमा घर खानतलासी गर्दा उनको कोठाबाट प्रहरीले एक थान म्याग्जिनसहितको पेस्तोल र तीन राउण्ड गोली बरामद गरेको थियो ।

उनले उक्त पेस्तोल घरको कोठामा रहेको माटोको डरीभित्र रातो बुट्टे रुमालजस्तो कपडामा बेरी राखेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रवक्ता प्रकाश भुसालले जानकारी दिएका छन् ।

पहिले विप्लव समूहको माओवादीमा रहेका वली निर्वाचन अगाडि नै नेपाली कांग्रेसमा प्रवेश गरेर चुनाव जितेका थिए । पालिका अध्यक्ष पुन पनि नेपाली कांग्रेसबाटै निर्वाचित हुन् ।

उक्त पेस्तोल तथा गोली समेत बरामद गरी ३३ वर्षीय वडाध्यक्ष वलीलाई नियन्त्रणमा लिई हातहतियार तथा खरखजना सम्बन्धी कसुरमा जिल्ला अदालत रोल्पाबाट १४ दिनका लागि म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रवक्ता भुसालले जानकारी दिए ।

गङ्गादेव गाउँपालिका अध्यक्ष हरिबहादुर पुन चढेको गाडी तोडफोड गरेको आरोपमा उनलाई जिल्ला प्रशासन कार्यालय रोल्पाबाट १५ दिनको म्याद थप गरी सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा सुरक्षा र नैतिकता विरुद्धको कसुर (अभद्र व्यवहार) सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

चैत ३० गते बेलुका ४ बजे गङ्गादेव गाउँपालिका वडा नं ५ को कार्यक्रममा त्यहाँ पुगेका गाउँपालिका अध्यक्ष पुनलाई लिन गएको रा १ झ १९१ नम्बरको गाउँपालिकाको स्कारपियो गाडीलाई रोकी वडा नं ४ का वडाध्क्ष वलीले हातको मुक्काले हानेको प्रहरीको भनाइ छ ।

हातको मुक्काले हानेको गाडीको अगाडिको सिसा चर्किएको, दाहिनेतर्फको लुकिङ ग्लास भाँचिएको अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

गाउँपालिका अध्यक्षको गाडी तोडफोड गर्ने कार्यमा संलग्न वडाध्यक्ष वलीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरीक्षक श्यामकुमार सारुमगरले जानकारी दिए ।

गाडी तोडफोड गर्ने वडाध्यक्ष वलीले मादक पदार्थ सेवन गरेको पाइएको प्रहरीले जनाएको छ । वडाध्यक्ष वली गाउँपालिकाको प्रवक्तासमेत हुन् ।

प्रदेशमा पठाउने समपूरक योजनामा गाउँपालिका अध्यक्ष पुनले एकलौटी गरेको भन्ने आरोपमा वडाध्यक्ष वलीले गाउँपालिका अध्यक्षको गाडी तोडफोड गरेको स्थानीयको भनाई छ ।

गाउँपालिका अध्यक्ष पुन र वडाध्यक्ष वली दुवै गत वर्षको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसवाट विजयी भएका थिए तर त्यसपछि बजेट बाँडफाँड र अधिकारका विषयमा उनीहरुबीच विवाद सृजना भएको थियो ।

माओवादी केन्द्रको बलियो आधार क्षेत्र भएको रोल्पामा पालिका अध्यक्ष र वडाध्यक्षको विवादले पार्टीलाई कमजोर बनाउने चिन्ता स्थानीय कार्यकर्ताले गर्न थालेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *