सिरहाको औरहीमा दशगजामै अवैध बाँध निर्माण गर्दै भारत, नेपालका गाउँ नै डुबानमा पर्ने – Nepal Press

सिरहाको औरहीमा दशगजामै अवैध बाँध निर्माण गर्दै भारत, नेपालका गाउँ नै डुबानमा पर्ने

जनकपुरधाम । सिरहाको औरही गाउँपालिका ५ स्थित दशगजामा भारतीय पक्षले अवैध ढंगले बाँध निर्माण गरिरहेको छ । स्थानीय जनप्रतिनिधि र प्रहरीले अवैध ढंगले बाँध नबनाउन गरेको आग्रह भारतीय पक्षले अस्वीकार गरेको हो ।

औरही भएर गागन नदी भारततर्फ बग्छ । उक्त नदीलाई नेपालतर्फ फर्काउन भारतीय पक्षले विगत एक सातादेखि दशगजामै अवैध बाँध निर्माण गरिरहेको छ । बाँध निर्माणका लागि दर्जनौँ मजदुर, जेसिबी र ट्याक्टर रातदिन खटिरहेका छन् ।

अवैध बाँध निर्माण भइरहेको थाहा पाएपछि शुक्रवार सशस्त्र प्रहरी बल सीमा सुरक्षा पोष्ट इटाटारका इन्सपेक्टर उमेश काफ्ले, प्रहरी चौकी औरहीका प्रहरी नायब निरीक्षक मेघराज अधिकारी र औरही गाउँपालिका अध्यक्ष शिवजी यादव भारतीय पक्षसँग छलफल गरेका थिए ।

छलफलमा दशगजादेखि ५० मिटरभित्र बाँध निर्माण गर्न नहुने निष्कर्ष निकाल्दै निर्माण भएको बाँध भत्काउने सहमति भएको थियो । लगत्तै भारतीय पक्षले निर्माण गरेको करिब १ सय मिटर बाँध जेसिबीले हटाउन लगाइयो । तर आइतबार बिहानबाट भारतीय पक्षले पुनः सोही ठाउँमा बाँध निर्माण सुरु गरेको छ ।

सहमति विपरीत भारतीय पक्षले पुनः बाँध निर्माण सुरु गरेपछि आइतबार सशस्त्र प्रहरी बल सिरहाका एसपी प्रमोद कुमार भारती त्यहाँ पुगेका थिए ।

उनले भारतीय सीमा सुरक्षा बल (एसएसबी)का अधिकारीसँग छलफल गरे । एसपी भारतीले तत्काल बाँध निर्माण नगर्ने र छलफल पश्चात् अन्तिम निष्कर्षमा पुग्ने भनेको जानकारी दिए ।

उनले भने, ‘एसएसबीका अधिकारीसँग सकारात्मक कुरा भएको छ । तत्कालका लागि बाँध निर्माण पनि रोकियो । यसबारे भोली थप छलफल गर्ने कुरा भएको छ ।’ दशगजामा बाँध निर्माण गर्न मिल्दैन र गर्न पनि नदिने उनको भनाई छ ।

बाँध निर्माण भइरहेको दशगजा क्षेत्र भारत विहार राज्यको मधुवनी जिल्लामा पर्ने मोतनाजे र नेपालको औरही गाउँपालिका ५ अन्तर्गत पर्छ । नेपाली भूमि र बस्ती डुबाउन बाँध निर्माण भइरहेपछि औरहीबासी चिन्तित बनेका छन् ।

औरही ५ का पूर्व वडाध्यक्ष दिलीप यादवले गागन नदी नेपालतर्फ फर्काउन भारतीयले दादागिरी शैलीमा अवैध ढंगले बाँध निर्माण गरिरहेको बताए । उनका अनुसार करिब दुई सय मिटर बाँध निर्माण गरिरहेको छ ।

बाँध निर्माण रोक्न उनले सरकारसँग पनि आग्रह गरे । उनले भने– प्रहरीले तत्काल एक्सन लिनुपर्छ । हामी गाउँले पनि सहयोग गर्न तयार छौँ ।

गागन नदीमा वर्षेनी आउने बाढीले आधा दर्जन गाउँका सयौँ बिघा जग्गा बगर बनेको छ । तर अहिले भारतीय पक्षले निर्माण गरिरहेको अवैध बाँधका कारण नेपालका हजारौँ बिघा उब्जाउ जग्गा बगरमा परिणत मात्र हुने छैन, दर्जनौँ गाउँ डुबानमा पर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *