रविप्रति नैनसिंह महरको कटाक्ष- अख्तियारको दायरामा हुनुपर्ने व्यक्तिले चुनाव जित्दैनन् – Nepal Press

रविप्रति नैनसिंह महरको कटाक्ष- अख्तियारको दायरामा हुनुपर्ने व्यक्तिले चुनाव जित्दैनन्

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दायरामा हुनुपर्ने व्यक्ति चुनाव लड्नु राम्रो नभएको बताएका छन् ।

आज चितवनमा क्षेत्र नम्बर २ को चुनावी कोणसभा बोल्दै नेता महरले राजनीतिमा शुद्धिकरणको नारा दिएर छोटोसमयमै स्थापित भएका नयाँहरु दर्जनौ काण्डमा मुछिकाले उनीहरुको नैतिकता धर्मराएको बताए ।

रा्ष्ट्रीय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति ईंगित गर्दै भने, ‘उहाँले नयाँ अनुसारको ढोङ फुक्नु भएको थियो । जनतालाई भ्रमित पार्ने काम गर्नुभएको थियो । तर, एकपछि अर्को विवादित कुरा सार्वजनिक भएसँगै उहाँको भ्रमको मुकुन्डो उदाङ्‍गो भएको छ । जनतालाई लामो समय भ्रममा राख्ने उहाँहरूको सडयन्त्र विफल भएको छ ।’

नेपाली कांग्रेसको त्याग र संघर्षबाट प्राप्त लोकतन्त्रलाई धुमिल्याउन खोज्नेहरूलाई जनताले समयमै चिनेर पाखा लगाउनुपर्ने महरले बताए ।

‘चितवनका जनता सचेत हुनुहुन्छ। उहाँ अब भ्रममा पर्नुहुने छैन । आसन्न उपनिर्वाचनमा बहुसङ्ख्यक जनताले कांग्रेसको पक्षमा मत जाहेर गर्ने छन् । नयाँ पार्टीप्रति जनतामा आशाको भ्रम पैदा भएकोमा त्यो दिनानुदिन हट्दै गएको छ । उहाँहरूको असली चरित्र बाहिरिँदा जनता सचेत बनिरहेका छन्’, महरले भने ।

जनतामा सुशासनको लोकप्रिय नारा लगाउँदै मत पाएर गएकाले चार महिनामै करोडौंको वार्गेनिङ गर्नुले उनीहरू कस्ता चरित्रका हुन् भन्ने प्रस्ट भएको महरले बताए । भ्रमको पर्दा उध्रिसकेको अवस्थामा जनता जागरुक नबने लोकतन्त्रलाई खतरामा पार्ने शक्तिहरू सलबलाउनेतर्फ उनले चिन्ता व्यक्त गरे ।

‘उपनिर्वाचनको लागि हामी चितवनका टोल-टोलमा छौं । किन फेरि उपनिर्वाचन हुँदैछ ? भन्ने प्रश्नले हामीलाई घेरेको छ । फोहर सफा गर्न राजनीतिमा आएका हौं भन्ने नयाँ स्वेतवस्त्रधारीहरू यति चाँडै कुरुप बन्दा उपनिर्वाचनमा आउनु परेको हो । तपाईंहरूले यो कुरालाई बुझेर फोहर थुपार्नेहरूको बिकल्प खोज्न तयार हुनुहोला,’ उनले जनतासँगको भेटमा भने ।

गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेको नागरिकता सर्वोच्च अदालतले खारेज गरेसँगै यस निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन हुन लागेको हो । उपनिर्वाचनमा कांग्रेसबाट पूर्वसभापति जीतनारायण श्रेष्ठ उम्मेदवार छन् ।

 


प्रतिक्रिया

One thought on “रविप्रति नैनसिंह महरको कटाक्ष- अख्तियारको दायरामा हुनुपर्ने व्यक्तिले चुनाव जित्दैनन्

  1. महरका पार्टीका एउटा नेता पनि बच्दैनन यदि अख्तियारले निष्पक्ष छानबिन गरेमा । यस्ता घुस्याहा र लुटेराका मतियारले अरूलाई भन्न लाज छैन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर