मुख्यमन्त्री शर्माकाे दाबी- दशौं राष्ट्रिय खेलकुद कर्णालीमा निर्माणधीन रंगशालामा हुनेछ – Nepal Press

मुख्यमन्त्री शर्माकाे दाबी- दशौं राष्ट्रिय खेलकुद कर्णालीमा निर्माणधीन रंगशालामा हुनेछ

जसलाई विकासको जिम्मा दिएका छौं उहाँहरुको ध्यान सरकार बनाउनेमा नै केन्द्रित छ : यामलाल कँडेल

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा निर्माणाधीन रंगशालामा सम्पन्न गर्ने दाबी गरेका छन् ।

आइतबार कर्णाली प्रदेशस्तरीय १३ औं राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री शर्माले प्रदेश सरकारले गौरवको आयोजना रंगशाला निर्माणको कार्यलाई कटिबद्धताका साथ सम्पन्न गर्ने जानकारी गराए ।

उनले भने, ‘हामी कामदार हौँ, कामदारका रुपमा खेलकुदको विकासका लागि काम गर्दै आएका छौँ । त्यस्तै, कर्णाली दौडिन्छ भन्ने मूल नाराका साथ प्रदेश सरकारले खेल क्षेत्रको विकास र खेलाडीहरुको अपेक्षाकृत रुपमा काम गर्ने छौँ ।’

मुख्यमन्त्री शर्माले कर्णाली प्रदेशका खेलाडी म्याराथुन धावक हरिबहादुर रोकायाको नाम अब आउने किताबहरुको उनको नाम समावेश गरिनु पर्ने बताए ।

यस्तै, नेपाली कांग्रेस कर्णाली प्रदेशसभा दलका नेता जीवनबहादुर शाहीले कर्णालीको हावापानी, आर्थिक विपन्नता, भूगोलबाट पछाडि परे पनि खेल क्षेत्रमा फट्को मारेकोमा धारणा राखे ।

उनले भने, ‘आफू मुख्यमन्त्री हुँदा प्रदेशको गौरवको आयोजना रंगशालाको शिलान्यास गरेको थिए । पदक ल्याउने खेलाडीलाई प्रदेश सरकारबाट पुरस्कार व्यवस्था गरेको थिए । त्यसैले कर्णालीमा पनि खेलकुदमा बिस्तारै विकास भइरहेको छ ।’

यस्तै, नेकपा एमाले कर्णाली प्रदेशसभा दलका नेता यामलाल कँडेलले अभाव र प्रतिकूलताका बाबजुद पनि कर्णालीका खेलाडीले आफ्नो खेल क्षमताबाट आफ्नो पहिचान बनाउँदै आएको बताए ।

‘पूर्वाधारको विकास, क्षमताको विकास गर्न सकियो भने कर्णाली प्रदेशलाई उच्च स्थानमा पुराउन सकिन्छ । योजना छनोट र योजना बनाउनेहरुले नै वृद्धि पुर्याउन आवश्यक रहेको छ’, कँडेलले भने, ‘जसलाई हामीले विकास गर्ने जिम्मा दिएका छौँ । हाम्रो ध्यान नै सरकार बनाउनेमा गएको छ । कहाँ कसको सरकार बनाएपछि सरकार टुटाउने भन्नेमा नै ध्यान गएको छ ।’,

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर