समर्थकको असहिष्णु र घृणा फैलाउने हर्कतले रविमाथि उब्जेका प्रश्न – Nepal Press

समर्थकको असहिष्णु र घृणा फैलाउने हर्कतले रविमाथि उब्जेका प्रश्न

देशका ३ निर्वाचन क्षेत्र उपनिर्वाचनको सरगर्मीमा छन् । तीमध्ये चर्चित निर्वाचन क्षेत्र हो चितवन २ । किनकी सिंगो समाज सुधारको एजेण्डा लिएर मंसिर ४ को निर्वाचनबाट उदाएका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेको चितवनमा निर्वाचन भएको हो । यो तथ्यमा बढी जानु यस आलेखको उद्देश्य होइन ।

यहाँ न बैशाख १० को उपनिर्वाचनमा को विजयी होला न त देशमै बढी मतान्तरले विजयी रवि लामिछानेले मंसिर ४ को विरासत कायम राख्लान् भन्ने नै विश्लेषण गर्न खोजिएको हो ।

सिंगो समाजलाई व्यवस्थित बनाउने, महिलाहरुलाई अधिकारसम्पन्न बनाउने, विदेश जानेलाई स्वदेश फर्काउनेलगायतका मीठा सपनाले उदाएको रास्वपाका समर्थकको अश्लील व्यवहार यहाँ उल्लेख गर्न खोजिएको हो ।

उम्मेदवारी दर्ताको दिन नेकपा एमालेकी एक समर्थक युवतीले एक भिडियोमा खुलेर रवि लामिछानेको कारणले पुनः निर्वाचन हुन लागेकोप्रति असन्तुष्टि पोखिन् । आफू एमाले भएको र एमालेको नै उम्मेदवारलाई मत दिनुपर्ने तर्कसहित उनले दिएको अभिव्यक्ति एक यूट्युब च्यानलबाट सार्वजनिक भयो । त्यस भिडिओमा रविका समर्थकले लेखेका प्रतिक्रिया हेर्नै नसक्ने थियो, छ । बग्रेल्ती आएका टिप्पणीमा लामिछानेका समर्थकहरुले ती युवतीप्रति मृत्युको श्रद्धाञ्जलीमात्रै लेखेनन्, उनलाई बलात्कारको धम्की, अश्लील गाली सहनै नसकिने खालको कति आयो लेखाजोखा छैन ।

कसैलाई समर्थन गरेकै कारण ज्यानको धम्की, बलात्कारको धम्की अनि अश्लील गाली, कसरी स्वीकार हुन्छ ? यति बेला रवि र उनका समर्थकले जस्तो बोले पनि, जे लेखे पनि अरुले चुपचाप सहिदिनुपर्ने हो ?

निर्वाचनको समय हो, एकअर्को उम्मेदवारका समर्थक र विरोधी हुन्छन् नै । लोकतन्त्रको धर्म नै विचारमा विविधता हो । रविको सांसद पद एमाले, कांग्रेस वा अरु दलले खारेज गरिदिएका पनि होइनन् । उनी स्वयंले कानूनी व्यवस्थालाई नमानेको कारण पुनः मतदान हुनुपर्ने अवस्था आएको सर्वविदितै छ । निर्वाचन पुनः हुने भएपछि दलहरुले आआफ्ना उम्मेदवार खडा गर्नु स्वाभाविक नै हो ।

आफ्नो पुनः उम्मेदवारी र निर्वाचन हुने परिस्थिति हरेक उम्मेदवारले पुष्टि गरेर मत लिनुपर्ने होला । वैकल्पिक शक्ति खोजेका जनताले एकपटक मत दिएकै हुन् । फेरि पनि देलान् । तर, रास्वपाका समर्थक किन यति असहिष्णु, अराजक भएका छन् ? उनीहरु नै जानून् ।

उम्मेदवारी दर्ताको दुई दिन जति पछि अर्की युवतीले आफूले मंसिर ४ मा रविलाई मत दिएकोप्रति आत्मआलोचना गर्दै नेपाली कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठलाई भोट मागेको भिडिओ सामाजिक सञ्जालहरुमा सार्वजनिक भयो । त्यस भिडिओमा कति अश्लील कमेन्ट छ, सोच्नै पनि नसकिने छन् । ती युवतीलाई आफूप्रति आएको टिप्पणीले कस्तो मनोदशामा पुर्‍यायो होला ?

सामाजिक सञ्जालहरुमा अन्य दलका समर्थकहरुले अश्लील गाली आएकोप्रति विरोध जनाएका पनि छन् । समर्थन र विरोध लोकतन्त्रको सामान्य प्रक्रिया हो । तर, कसैलाई समर्थन गरेकै कारण ज्यानको धम्की, बलात्कारको धम्की अनि अश्लील गाली, कसरी स्वीकार हुन्छ ? यति बेला रवि र उनका समर्थकले जस्तो बोले पनि, जे लेखे पनि अरुले चुपचाप सहिदिनुपर्ने हो ?

आफ्नी श्रीमतीलाई सक्षम महिलाका रुपमा संरक्षण गरिरहँदा चितवनकै ती युवतीहरु जो रविकै निर्वाचन क्षेत्रका हुन्, उनीहरुप्रति गरिएका अश्लील टिप्पणीमा रवि आजसम्म किन मौन ?

सामाजिक सञ्जालहरुमा आएका अश्लील शब्दहरु रवि लामिछानेले नदेखेका पक्कै होइनन् । उनले ती पोष्टहरु देख्दैनथे भने आफ्नी श्रीमती निकितामाथि उठेका सञ्जालका प्रश्नहरु पनि देख्दैनथे । अझ उनी त इन्टरनेट र भिडिओकै दुनियाँबाट उदाएका नेता हुन् । उनी प्रविधिमा कति जानकार छन् सबैलाई थाहा छ ।

गत बुधबार आफ्नी श्रीमती निकिता पौडेलमाथि गरिएका प्रश्नमा सामाजिक सञ्जालबाट उनले एक प्याराग्राफ प्रतिक्रिया दिएका छन् । योग्य र सक्षम महिलाको रुपमा आफ्नी श्रीमती निकिताको संरक्षण गरेका छन् । र, आफ्नो कारणले निकिताले प्रश्नहरुको सामना गर्नुपरेको भन्दै माफी मागेका छन् ।

निकितामाथि अरुले अश्लील प्रश्न गरुन्, त्यो मेरो आसय होइन । चाहे निकिता हुन् वा अरु दलका समर्थक महिला, एउटा नेताको रुपमा रविलाई बराबरी दुख्नुपर्ने होइन ? भोलि निर्वाचित भए भने चितवन २ का सबै जनताका प्रतिनिधि बन्ने होइनन् उनी ?

तर, आफ्नी श्रीमतीलाई सक्षम महिलाका रुपमा संरक्षण गरिरहँदा चितवनकै ती युवतीहरु जो रविकै निर्वाचन क्षेत्रका हुन्, उनीहरुप्रति गरिएका अश्लील टिप्पणीमा रवि आजसम्म किन मौन ? समाज सुधार गर्ने अगुवाइ गर्ने नेताको दायित्व आफ्ना समर्थकलाई गलत र सही छुट्याउन लगाउनु होइन ?

रविका श्रीमतीलाई जस्तै सम्मानको खाँचो अन्य दलको समर्थन गर्ने महिलाहरुलाई पर्दैन ? आफ्ना कलिला छोरीहरुलाई हेर्न र सुन्नै नसकिने अश्लील टिप्पणी आउँदा ती युवतीका अभिभावकलाई के महसुस भयो होला ? आफ्ना दिदीबहिनीको ठाउँमा राखेर रविले सोचून् ।

यही पार्टीभित्र संसदमा मीठा प्रश्न गर्ने, तथ्यगत टिप्पणी गर्ने सोविता गौतम, सुमना श्रेष्ठहरु पनि छन् भन्न पनि लाज लाग्छ मलाई । संसदमा तथ्यगत टिप्पणी गर्ने सोविता गौतमहरुले आफ्नो दल र सभापतिप्रतिको भक्तिभावमा लीन मानिसहरुले लेखेका शब्दहप्रति सार्वजनिक रुपमा अभिव्यक्ति दिनुपर्दैन ?

माथिका दुई युवतीमात्रै होइन, हरेक व्यक्ति जो सामाजिक सञ्जालमा रविइतर उम्मेदवारका चर्चा गर्छन् वा सकारात्मक टिप्पणी गर्छन्, उनीहरु सामाजिक सञ्जाल खोल्नै नसक्ने अवस्थाका गालीहरुको सामना गरिरहेका छन् । रवि लामिछानेको चुनाव जिताउन खटिएका साइबर टीमलाई फेक नामका आईडीहरु खोलेर अश्लील टिप्पणी गर्ने जिम्मा त दिइएकोे होइन ? अश्लील शब्दहरु नबोलमात्रै पनि भन्न नसक्ने उनको मौनतालाई आम मतदाताले के भनेर बुझ्ने ?

अझ यही पार्टीभित्र संसदमा मीठा प्रश्न गर्ने, तथ्यगत टिप्पणी गर्ने सोविता गौतम, सुमना श्रेष्ठहरु पनि छन् भन्न पनि लाज लाग्छ मलाई । संसदमा तथ्यगत टिप्पणी गर्ने सोविता गौतमहरुले आफ्नो दल र सभापतिप्रतिको भक्तिभावमा लीन मानिसहरुले लेखेका शब्दहप्रति सार्वजनिक रुपमा अभिव्यक्ति दिनुपर्दैन ? कि उनीहरुलाई यसबारेमा थाहै छैन ?

आफ्ना फलोअर्सहरुलाई नियन्त्रण गर्ने कसले हो रास्वपाका नेतागणहरु ? कि तपाईंहरुको पार्टीविना लगामका मानिसहरुको झुण्ड हो । न्यूनतम अनुशासन तपाईंका समर्थकहरुलाई नलाग्ने हो ?

रवि लामिछानेले के बुझून् भने आज पनि उनका अधिकांश मतदाता महिला छन् । महिला मतदाताको मत खाएर जित्छु भन्नेले, भजनमा नाच्न जानेले सामाजिक सञ्जालमा अभिव्यक्त अश्लील टिप्पणीका विरुद्ध केही बोल्नुपर्दैन ?


प्रतिक्रिया

2 thoughts on “समर्थकको असहिष्णु र घृणा फैलाउने हर्कतले रविमाथि उब्जेका प्रश्न

  1. रास्वपाको नेतृत्वले जनतालाई भ्रमित बनाएर र भावनात्मक रूपमा भड्काएर राजनीतिक उपलब्धि हासिल गर्ने लक्ष्य लिएका छन् भने यसका कार्यकर्ता र शुभचिन्तकहरूभने सामाजिक सञ्जालमा स्वछन्द अराजक र छाडा रूपमा प्रस्तुत भएर नेपाल बनाउने सपना देखाउँदैछन्। भ्रमपूर्ण लोकप्रियतावाद अर्थात जेलेन्स्की पथबाट देशलाई जोगाऔं।

Leave a Reply

Your email address will not be published. Required fields are marked *