महाविपत्तिको बेलामा जस्तो सोचेर सरकारले काम गर्नुपर्छ : कांग्रेस महामन्त्री थापा (भिडिओ) – Nepal Press

महाविपत्तिको बेलामा जस्तो सोचेर सरकारले काम गर्नुपर्छ : कांग्रेस महामन्त्री थापा (भिडिओ)

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले महाविपत्तिमा जसरी काम गर्नुपर्ने बताएका छन् ।

महामन्त्री थापाले प्रधानमन्त्रीदेखि मन्त्रीसम्म, प्रदेशमन्त्रीदेखि स्थानीय तहका वडाध्यक्षले समेत महाविपत्तिको बेलामा जस्तो सोचेर काम गर्नुपर्ने बेला आएको बताएका हुन् ।

नेपाली कांग्रेस मकवानपुर–काठमाडौं सम्पर्क समितिले शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले मुलुक संकटमा रहेको बेला सरकारले त्यसलाई महसुस गरेर परिणाम दिने गरी काम गर्नुपर्ने स्पष्ट पारे ।

महामन्त्री थापाले सुझबुझपूर्ण ढंगले काम नगरे मुलुक झनै संकटमा पर्दै जानेतर्फ पनि सरकारलाई सचेत गराए । सरकारले राम्रो काम गर्दै गए ३÷४ महिना भित्रै मुलुक सम्हालिँदै जाने उनको भनाई थियो ।

महामन्त्री थापाले २०८० सालमा नेपाली कांग्रेसलाई शुद्धीकरण र सुदृढीकरण गर्नका लागि सिंगो पार्टी पंक्ति लाग्नुपर्ने पनि बताए ।

उनले २०८० सालको जेष्ठ अन्तिम साता नेपाली काँग्रेसको नीति अधिवेशन हुने तयारी भइरहेको उल्लेख गर्दै त्यसमा पार्टीको सुदृढीकरण र शुद्धीकरणका लागि व्यापक छलफल गर्न पनि पार्टीका नेता, कार्यकर्ताहरूलाई आग्रह गरे ।

महामन्त्री थापाले कुनै पनि पार्टीले एकल सरकार बनाउने अवस्था नरहेको भन्दै निर्वाचन प्रणाली सुधारका लागि संविधान संशोधन गर्नुपर्नेमा पनि जोड दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर