नेपालकै प्रतिष्ठित ९ जुत्ता कम्पनीले नयाँवर्षसँगै बुटवलमा एकै छानामुनि सुरु गरे नेपाली जुत्ता घर – Nepal Press

नेपालकै प्रतिष्ठित ९ जुत्ता कम्पनीले नयाँवर्षसँगै बुटवलमा एकै छानामुनि सुरु गरे नेपाली जुत्ता घर

रुपन्देही । नयाँवर्ष २०८० सँगै नेपालका प्रतिष्ठित ९ जुत्ता कम्पनीहरुले आफ्ना उत्पादन एकै ठाउँमा पाउनेगरी बुटवलमा ‘नेपाली जुत्ता घर’ संचालन शुभारम्भ गरेका छन् । बुटवलको मिलनचोकस्थित डेल्टा मार्टको पहिलो तल्लामा शुक्रबारदेखि जुत्ताघर शुभारम्भ भएको हो ।

शुक्रबार जुत्ता घरको लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री विष्णु पन्थीले उद्घाटन गर्दै नेपाली सामग्रीको उपभोगलाई वृद्धि गरी वैदेशिक व्यापार घाटा कम गर्न सकिने उल्लेख गरे । वार्षिक अरबौंको आर्थिक घाटालाई कम गर्नका लागि नेपाली उद्योग तथा उत्पादनलाई प्रोहोत्साहन गर्नुपर्नेमा जोड दिँदै उनले यसका लागि सरकार मात्रै नभई उपभोक्ता पनि सचेन हुनुपर्ने उल्लेख गरे ।

सो अवसरमा बोल्दै बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेय, नेपाल वुट वेयर म्यानुफ्याक्चर एसोसिएशनका अध्यक्ष नानीराज घिमिरे लगायतले स्वदेशी वस्तुको प्रयोगमा जोड दिए ।

नेपाली जुत्ता घरका अध्यक्ष होमनाथ उपाध्यायले खुला सीमाना तथा उत्पादनको पाइरेसी प्रमुख समस्याका रुपमा चुनौती बनेको गुनासो गरे । नेपालका जुत्ता उद्योगहरुमा ४० अर्ब बढी लगानी रहेको तथा ती उद्योगहरुमा ६५ हजारभन्दा बढीले रोजगार प्राप्त गरिरहेको उनले बताए ।

नेपालका प्रमुख जुत्ता उद्योगहरु एकआसपमा प्रतिस्पर्धा नगरी सहकार्यको थालनीमा अगाडि बढाउँदै उनीहरुले सामूहिक बजार व्यवस्थापनको रणनीति अनुसार जुत्ता घर सञ्चालनमा ल्याएका हुन् ।

पहिलो अभ्यासका रुपमा नेपाली उत्पादनलाई उपभोक्ता बीच सहज ढंगले पुर्‍याउन ९ यस्ता उद्योगले बुटवलमा एकै छानामुनि नेपाली जुत्ता घर संचालनमा ल्याएका हुन् । स्वदेशी फुटवेयर उत्पादनका बारे उपभोक्ताहरुलाई एकै ठाउँबाट अवलोकन र जानकारी गराउने, स्वदेशी उत्पादनको प्रवर्द्धन र कम्पनीका आफ्नै रिटेल आउटलेटमार्फत जानकारी गराउँदै बाहिरी बजार समेत विस्तार गर्ने उद्देश्यका साथ जुत्ता घरको अवधारणा ल्याइएको नेपाल फुटवेयर संघका उपाध्यक्ष रुद्रप्रसाद न्यौपानेले बताए ।

जुत्ता घरमा स्कूल सुज, क्याजुअल सुज, स्पोर्टस सुज, पार्टी वेयर उपलब्ध हुनुका साथै उद्योगहरुको आफ्नै आउटलेट ५ हजार बढी मोडलका उत्पादनहरु उपलब्ध हुने जुत्ता घरका सञ्चालक चोलाप्रसाद पाठकले जानकारी दिए ।

सोही अवसरमा १ सय बढी नयाँ मोडलका जुत्ता चप्पलहरुको समेत नयाँ वर्षको अवसरमा लञ्चिङ गरिनुका साथै शुभारम्भको अवधीभर डिलर मूल्यमै उपभोक्तालाई जुत्ता चप्पल उपलब्ध गराइने पाठकले बताए ।

जुत्ता घरभित्र हाल पवित्र शुज इण्डष्ट्रिज प्रालिको शुल्यान्ड, रन शु इण्डष्ट्रिज प्रालिको रन शुज, बेस फुटवेयर इण्डष्ट्रिज प्रालिको बि एफ डियर हिल, लालिगुरास फुटवेयरको कस रोड, शुभकामना फुटवेयरको फस्ट वाल्क, बल्याक हर्स शुजको बल्याक हर्स, स्मार्ट शुजको स्मार्ट, रोयल शुजको रोयल तथा एकता शुजको टुरिष्ट ब्राण्डका उत्पादन उपलब्ध रहेका छन् ।

जुत्ताघर शुभारम्भको अवसरमा शुक्रबार रक्तदान कार्यक्रम समेत सम्पन्न भएको छ । नेपाल नियमित रक्तदाता संघको सहयोगमा आयोजित रक्तदान कार्यक्रममा सय यूनिट बढी रगत संकलन भएको संघका अध्यक्ष कृष्ण चौहानले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *